arrow

काँग्रेसको संशोधन प्रस्ताव नै मोर्चाको माग पूरागर्ने कडी : पौडेल

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
ramchandra.jpg.jpeg
पोखरा । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्मा काँग्रेसले पेस गरेको संविधान संशोधन प्रस्ताव नै मधेसी मोर्चाको माग पूरा गर्ने मूलकडी भएको दाबी गर्नुभएको छ । नेपाली काँग्रेस कास्कीले ‘कस्तो बन्यो संविधान, एकताको अभियान’ मूलनाराका साथ आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले संविधान संशोधन प्रस्तावमा केही परिमार्जन गरेर अघि बढाएमा सहमति हुने सङ्केत मधेसी मोर्चाबाट आएकाले त्यसलाई संसद्बाट छिटो पास गराई मोर्चाको आन्दोलन र भारतको नाकाबन्दी अन्त्य गर्नुपर्ने बताउनुभयो । 
 
“नयाँ संविधान लोकतन्त्र र समाजवादलाई चरितार्थ गर्नसक्ने सन्तुलित र समावेशी खालको छ”, उहाँले भन्नुभयो –“संविधानले मधेसी, उत्पीडित, दलित र महिलालाई अधिकार सम्पन्न बनाएको सन्देश जनता माझ प्रचार गर्न नसक्दा असन्तुष्टिका आवाज निस्केका हुन् ।” उपसभापति पौडेलले नेपालमा अरु कसैले मान्छे मार्दा पनि चर्चा नहुने तर नेपाली काँग्रेस आँ गर्दा पनि हल्लाखल्ला हुने विचित्रको राजनीति हुने गरेको टिप्पणी गर्नुभयो । पार्टीको आसन्न महाधिवेशनमा समयसापेक्ष चुनौतीलाई आत्मसात् गर्ने खालको नेतृत्वलाई निर्वाचित गर्नुपर्नेमा जोड दिँदै उहाँले कार्यकर्ता तहबाट नेतृत्वको मूल्याङ्कन गर्ने अवस्था आएको बताउनुभयो । 
 
नेपाली काँग्रेस र नेकपा (एमाले) दुई समदूरीका पार्टी भएको चर्चा गर्दै उहाँले लोकतन्त्रमा प्रतिस्पर्धी पार्टीबीच एकापसमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको उल्लेख गर्नुभयो । नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले नेपालको नयाँ संविधान सामावेशीतालगायतका दृष्टिबाट उत्कृष्ट भएको बताउनुभयो । नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, सोभियतबहादुर अधिकारी, सभासद्द्वय शारदा पौडेल र वृन्दादेवी राना, काँग्रेस पर्वतका सभापति लालाकाजी गुरुङ, भोजप्रसाद गुरुङलगायतले देशको जारी सङ्कटको समाधानका लागि पार्टीले अग्रसरता लिनुपर्ने धारणा राख्नुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ