एजेन्सी । पाकिस्तानी क्रिकेटर शाहीद अफ्रिदीको आत्मकथा आउँदो वर्ष निक्लिने भएको छ । ‘शाहीद अफ्रिदी’नै नाम दिइएको उक्त आत्मकथामा अफ्रिदीबारे खुलाशा नभएका कुराहरु बाहिर आउने आँकलन गरिएको छ । सो आत्मकथाको सहलेखन भने प्रख्यात मल्टिमिडिया पत्रकार वाजहत एस खानले गर्ने छन् ।
अफ्रिदीले सोह्र वर्षकै उमेरमा कीर्तिमानी ३७ बलमा सतक हानेपछि उनी एका एक चर्चामा आएका थिए । भारतीय समाचार संस्था पीटीआईसँग कुरा गर्दै अफ्रिदीले भने, ‘मेरो अहिलेसम्मको क्रिकेट जीवनमा सयौं अन्तर्वाता र दर्जनौं टेलिभिजन सो गरिसके तर, मेरो यो वृतान्तमा तपाईले मैले कहिलै सेयर नगरेका कुरा थाहा पाउनु हुनेछ।’
उनले थप भने, ‘मैले मेरो विश्वास, मेरो डर, मेरो उद्येश्य, लक्ष्य र असफलताबारे भन्नु धेरै छ ।‘ अफ्रिदीले उक्त कार्यमा आफुलाई तयार पार्न सुरुमा निकै कठिन भएको बताउँदै पछि वाजहत भाइ जस्तो पत्रकारसँग हातेमालो गर्दै काम गर्न पाएकोमा गौरव महशुस गरेको सुनाए ।
अफ्रिदीले सम्पूर्ण प्रकाशकलाई धन्यवाद समेत दिएका छन् । अफ्रिदी पाकिस्तानका अलराउण्ड क्रिकेटर हुन् । अफ्रिदी सन्यास लिएर फेरि क्रिकेटमा फर्किंएको बारे निकै चर्चा हुने गर्दछ ।