काठमाडौं । च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इङल्याण्डको क्लव लेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा डेनमार्कको एफसी कोपनहेगनलाई १–० ले पराजित गर्दै सतप्रतिशत नतिजाका साथ साविक इङलिश प्रिमियर लिग विजेता लेस्टर च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा पुगेको हो ।
पहिलो पटक च्याीम्पयन्स लिग खेलेको लेस्टरलाई विजयी गराउन खेलको ४० औं मिनेटमा रियाद मारेजले निर्णायक गोल गरे । यो जितसंगै समूह जी मा लेस्टर शीर्ष स्थानमासमेत पुगेको छ । समूह जी कै खेलमा पोर्चुगलको एफसी पोर्टोले बेल्जियमको क्लब ब्रुजलाई २–१ ले हरायो ।
यता, स्पेनको रियल मड्रिडले पोल्यान्डको लेजिया वार्सलाई ५–१ को फराकिलो अन्तरले हराएको छ । रियललाई जिताउन बेल, लुकास, मार्को र अल्भारोले एक एक गोल गरे । वार्सका टोमाजले एक आत्मघाती गोलसमेत गरेका थिए ।
रियलकै समूह एफ को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बनले जर्मनीको बोरुसिया डर्टमन्डसंग २–१ को हार बेहोरेको छ ।
अन्य खेलमा इङल्याण्डको टोटनह्याम हट्सपरले जर्मनीको बायर लिभरकुजेनसँग गोलरहित तथा रुसको सीएसकेए मस्को र फ्रान्सको मोनाकोले १–१ गोलको बराबरी खेलेका छन् ।
त्यस्तै फ्रान्सको लियो इटालीको युभेन्टससंग तथा क्रोएसियाको डाइनामो जाग्रेब स्पेनको सेभिल्लासंग समान १–० ले पराजित भएको छ ।