बाबियाचौर (म्याग्दी)। पाँचवटा कृषि परियोजनाले ५० लाख अनुदान पाउने भएका छन् । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले तरकारीखेती र पशुपालन सम्बन्धी दुई-दुईवटा तथा फलफूलखेतीका लागि एउटा परियोजनालाई दश-दश लाख अनुदान उपलब्ध गराउन लागेको हो ।
तरकारी खेतीतर्फ भकिम्लीको क्रियटिभ कृषि फार्म, बिमको मालीका एग्रो गु्रप र हिस्तानको दोसल्ले व्यावसायिक सुन्तलाजात फलफूल कृषक समूहसँग अनुदान सम्झौता भएको आयोजनाको सहयोग समूहको कार्यालय पोखराका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिए।
यस्तै बाख्रापालनका लागि भुरुङ तातोपानीको रुप्से वृहत्तर कृषि सहकारी र चिज उत्पादनका लागि घारको निलगिरि गाईपालन कृषक समूहसँग सम्झौता भइसकेको छ । कृषकले २५ प्रतिशत लगानी गरेपछि दुई किस्तामा रु दश लाख अनुदान उपलब्ध गराइने व्यवस्था छ । परियोजनाले बागलुङ, पर्वत, म्याग्दी, गुल्मी र गोर्खाका ७५ वटा फार्म, सहकारी र समूहलाई अनुदान उपलब्ध गराउन सम्झौता गरेको छ । रासस