arrow

राष्ट्रिय फुटसल लिग: किकअफ र कीर्तिपुर फुटसल विजयी

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
FOOt-sall-lugenews.jpeg
काठमाडौं । सर्वाधिक पुरस्कार राशिको रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत वुधबार भएका खेलमा किकअफ फुटसल र कीर्तिपुर फुटसल विजयी भएका छन् ।
 
किकअफ फुटसलको होम ग्राउन्ड सीतापाइलामा भएको खेलमा किकअफले अवे टिम बानेश्वर रिक्रियसन सेन्टरललाई ५–० गोल अन्तरले पराजित गर्‍यो । एकपक्षीय खेलमा किकअफका राजेश कुँवरले ह्याट्रिक गरे । किकअफका कप्तान समेत रहेका राजेशले खेलको १८ सेकेन्ड, ५ मिनेट १९ सेकेन्ड र ३६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । किकअफका प्रवेश जोशी र कृष्ण लामाले एक–एक गोल गरे । 
 
किकअफ फुटसललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान राजेश कुँवर खेलको म्यान अफ द म्याच घोषित भए ।   त्यसैगरी कीर्तिपुरको नगाउँस्थित कीर्तिपुर फुटसलको ग्राउन्डमा भएको अर्को खेलमा होम टिम कीर्तिपुर फुटसलले ताहाचल फुटसललाई ६–४ गोल अन्तरले पराजित गरेको छ ।कीर्तिपुरको जितमा प्रताप महर्जन, यमन महर्जन र एपेक्स महर्जनले समान दुई–दुई गोल गरे । 
 
ताहाचलका लागि सुदीप बुढाथोकीले दुई गोल गरे भने सुनिल बस्नेत र राज शाहले एक–एक गोल फर्काए । यस खेलको म्यान अफ द म्याचको पुरस्कार ताहाचल फुटसलका सुदीप बुढाथोकी घोषित भए । एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता छ । 
 
लिगमा सहभागि टिमलाई दुई समूहमा विभाजन गरी खेल सञ्चालन गरिएको छ । लिगमा जम्मा १२५ खेल हुने छन् । अहिलेसम्म १६ खेल सम्पन्न भएका छन् । प्रतियोगिताको विजेता टोलीले १० लाख प्राप्त गर्ने छ भने उपविजेताले ५ लाख प्राप्त गर्ने छ । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार नगद प्राप्त गर्ने छन् । 



नयाँ