काडमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिको बैठक सम्पन्न भएको छ। बुधबार साँझ ५ बजेको लागि महासंघ केन्द्रीय कार्यालय टेकूमा बोलाईएको बैठकले बिहीबार केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको महासंघको उपाध्यक्ष किशोर लाल प्रधानले जानकारी दिए।
लामो समयदेखि विधान संशोधनको लागि प्रयासरत रहेको महासंघले यो पटक महासंघको विधान संशोधन गराउनको लागि विशेष साधारण सभा डाकेको थियो। तर, उत्तः विशेष साधारणसभा रोक्न अन्तरिम आदेशको माग गर्दै परेको रिटमा बहस जारी भएपछि दिउँसो ३ बजेको लागि डाकिएको बैठक साँझ ५ बजेसम्मको लागि स्थगित गरिएको थियो।
महासंघका अध्यक्ष पशुपति मुरारकाले बैठकको एजेण्डा खासै ठूलो नभएपनि आज बसेको बैठक भोलिसम्मको लागि जारी रहने जानकारी दिए। ‘बैठक आज ओपन गरेर भोलि सम्म पनि क्लोज गरिँदैन।’ मुरारकाले हाम्राकुरासँग भने ‘यो विशेष साधारणसभामा केही कुरा कार्यसमितिबाट पेश गर्नुपर्ने अवस्था आयो भने पनि तत्कालै कार्य समिति बैठक बस्न सक्ने भएकोले अघिल्लो दिन कार्य समिति बैठक बोलाएर क्लोज नगरी छाड्ने प्रचलन रहेको छ।’
महासंघको बिहीबार बिहान नौ बजेदेखि भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा विशेष साधारणसभा सुरू हुँदैछ। उक्त साधारणसभाको एकमात्रै एजेण्डा विधान संशोधन रहेको छ। साधारण सभा बिहिवार नै सकिने पनि महासंघले जनाएको छ।