arrow

तन्त्र साधनाः भ्रम र यथार्थ  

logo
शीतल गिरी,
प्रकाशित २०८० साउन ७ आइतबार
article-sheetal-giri-2080-04-06.jpg

विषय प्रवेशः तन्त्र शास्त्रलाई स्वघोषित तान्त्रिकहरूले यो एकदम गाह्रो कुरो हो भनेर भ्रम सिर्जना गरिदिएका छन् । यो सबैले गर्न सक्ने कुरा होइन पनि भन्छन् । तन्त्र शास्त्रको बारेमा थुप्रै भ्रम फैलिएको छ । भ्रममा परेका वा अज्ञान मानिस भन्ने गर्छन्— मन्त्रको जप गर्दा केही फाइदा हुँदैन, कुनै तान्त्रिकबाट नै सम्पन्न गराउनु पर्छ । एउटा सात्विक मन्त्र जपको प्रभाव तान्त्रिकबाट गराइएको कृत्य भन्दा धेरै शक्तिशाली हुने गर्दछ । 

तन्त्र त भगवानलाई खुशी पार्ने एउटा विधि हो, यसलाई सरल तरीकाबाट प्रयोग गरिन्छ । तन्त्र शास्त्र मानिसको हित गर्ने असल शास्त्र हो, यो शास्त्र आजको नभएर अत्यन्त प्राचीन भएको बारेको हामीले थाहा पाउनै पर्दछ । तन्त्रको चलन प्राचीन समयदेखि आजसम्म हुँदै आएको छ । तन्त्र–साधनाको गूढ रहस्य बारे थाहा पाउनु, अध्ययन गर्नु सबैको बुताको कुरो पनि अवश्य होइन । 

यसो त सबै कुरो सबैले गर्न पनि सक्दैन, यदि कसैले तन्त्र साधना गर्न चाहने हो भने त सबैभन्दा पहिले उसले योग्य गुरुको खोजी गर्नु पर्ने हुन्छ । योग्य गुरुको उचित मार्ग–निर्देशनमा नै तन्त्र–साधना सम्भव हुन सक्दछ । 

तन्त्रमा यन्त्र र मन्त्र दुवै समावेश भएको हुँदा यो सामान्य व्यक्तिको लागि वुद्धिगम्य होइन । आहारशुद्धिद्वारा मन शुद्ध गरी गरिएको साधनाबाट मात्र चमत्कारी परिणाम आउन सक्दछ । यानी साधना सिद्धिमा सफलता प्राप्त हुनेछ । तन्त्र–साधनामा मनलाई एकाग्र बनाउनको लागि मनको पवित्रता आवश्यक छ र जब मन एकाग्र हुनेछ तब निश्चयनै साधकको साधना सफल भएमा भौतिक सिद्धि प्राप्त गर्नेछ । मन्त्र–साधनाको स्थिति पनि यस्तै हो । अहिलेको समयमा तन्त्र साधनाको धेरै थरीको पद्धति प्रचलनमा छ । साधकद्वारा गरिने तन्त्र साधनाको प्रतिफल (सफलता या विफलता) स्वयम् साधकको कर्ममा निर्भर रहन्छ । 

जो तन्त्रको वास्तविक ज्ञानसँग अपरिचित हुन्छ त्यस्ता तन्त्रको नाम सुन्ने बितिक्कै अनिष्टको आशंकाले आतङ्कित बन्दछ । वास्तवमा तन्त्र अनिष्टकारी नभएर कल्याणकारी हुन्छ, तब पनि तन्त्रसँग भयभित किन ? चेतनालाई परम चेतनामा मिलाउने माध्यम मन्त्र हो । मन्त्र यथार्थमा कल्याण गर्ने हो । तन्त्र साधनामा मनको सुन्दरता (शुद्धता) परम आवश्यक छ । यसको साथमा योग्य गुरुको मार्ग निर्देशन पनि चाहिन्छ । तन्त्र साधनामा सहयोगी भैरवीको रूपमा नारी हुनु आवश्यक छ, तब पनि नारीकै कारण तन्त्र साधन प्रायः चुक्दछन् र विनाश व्यहोर्न बाध्य हुन्छ । यदि साधकको चित्त शान्त छैन भने बिर्सेर पनि तन्त्र साधना गर्नु हुँदैन । 

कसैको नक्कल गरेर या विशेष आग्रहमा तन्त्र साधना गर्नै हुँदैन । साधनाको लागि समय, स्थान र सामग्रीको ठूलो महत्व छ । तन्त्र–साधना भनेको अनमोल हो । तन्त्र–साधना वास्तवमा शक्ति हो जसले सृजन वा विनाश दुवै गर्न सक्दछ । तन्त्र साधकलाई आफ्नो साधनामा पूर्ण विश्वस्त हुनु पर्दछ । साधनामा मोह आउँछ त्यहाँ साधना सफल हुन सक्तैन । 

तन्त्रको परिचय        
तन्त्र शब्दको अर्थ के हो ? तन्त्रवाद कति पुरानो हो ? तन्त्रवादको अन्य संप्रदायहरू बीचको दूरीको वास्तविक महत्व के हो ? केही आधुनिक विद्वानहरूले तन्त्र शब्दको अर्थको बारेमा एउटा ठूलो विवाद चलाएका छन् । तन् धातुमा स्त्रन् प्रत्यय लाग्नाले तन्त्र शब्द बनेको छ । ‘तनोति (तनुते) तन्यते वा इति तन् स्त्रन्’ के विस्तृत हुनु ? मूलतः मानव परिवार, सन्तानको सख्या । 

यही कुरो साधारण रूपले प्रचलित ‘संतान या तनय’ (अर्थात् बालक) जस्ता शब्दहरूले पनि सिद्ध हुनेगर्दछ । यो शब्द पनि तन् धातुले बनेको छ । यस बाहेक, यसै धातुबाट व्युत्पन्न शब्द ‘तंतु’लाई ‘कात्ययन श्रौत सूत्र’, ‘आपस्तम्त्र धर्मसूत्र’, र ‘तैत्तिरीय उपनिषद्’ जस्ता प्राचीन ग्रन्थहरूमा ‘यो जसले नियमित रूपले आफ्नो परिवारमा संतानको अभिवृद्धि गर्दछ’ को अर्थमा प्रयोगमा ल्याइएको छ । एतरेय ब्राह्मणमा यस शब्दको प्रयोग ‘वंशजको क्रम’ अर्थमा गरिएको छ । 

तन् धातुको मूल अर्थ हो प्रजनन् । यस किसिमले ‘तन्त्र’ शब्द तन् धातुबाट व्युत्पन्न हुनाको कारण प्रजनन्को अर्थको आभाष दिन्छ । यो कुरा तन्त्रवादको मूल विषय बस्तुको साथ मेल खान्छ । तन्त्रवाद कति पुरानो हो ? लिखित ग्रंथहरूका अध्ययनबाट विभिन्न तन्त्रहरूको प्राचीनता निश्चित गर्ने प्रयत्न गरेको थाहा पाइन्छ । 

भन्ने गरिएको छ, प्रसिद्ध ‘महानिर्वाण तन्त्र’ राममोहन राय (सन् १७७२–१८८३) को आध्यात्मिक गुरुले लेखेका थिए । मेरुतन्त्र नामक एउटा अर्को तान्त्रिक ग्रन्थमा लंडराजा (लंडनका निवासी), ईगरेज (अंग्रेज) जस्तो शब्द आउँछ, यसकारण यो ग्रन्थ धेरै पुरानो नहुन सक्छ, केही अन्य ग्रन्थलाई ईसाको छैटौँ या सातौँ शताब्दीको भन्ने गरिन्छ । केही विद्वानहरूले यो कुरा पहिले नै भनिसकेका छन्— तन्त्रवाद, तान्त्रिक ग्रन्थभन्दा निकै पुरानो हो, यसकारण उपलब्ध लिखित ग्रन्थहरूको अध्ययन गरेर तन्त्रवादको प्राचीनता निश्चित गर्न सकिदैन । 

तन्त्र कति पुरानो हो यसको समय यति नै हो भनेर तोक्नु संभव छैन । तान्त्रिक क्रियाहरू र सामान्य रूपमा प्रचलित मन्त्र आदि धेरै पुरानो समयदेखि विद्यमान थियो । यी आदिम विचारधाराको अवशेष हुन् र यसै त आदिवासीहरूमा थुप्रै शताब्दीसम्म विचारधारा सम्बन्धी परिवर्तन अति कम हुने गरेको पाइएको छ । तन्त्रवादका अति विख्यात विद्वान पी. बंदोपाध्यायले भनेका छन्ः ‘केही योग्य पुरातत्ववेत्ताहरूका अनुसार तन्त्रवाद, स्वयं वेदभन्दा कम प्राचीन होइन ।’ (रत्नावली, २४९–६०) यी पुरातत्ववेत्ताहरूका विचार अनुसार जुन युगमा गोरो वर्णका मानिस अर्थात् जसले वेदको रचना गरेका थिए, भारतीय उपमहाद्विपमा आए, करिब करिब सोही समयमा अपेक्षाकृत श्यामवर्णका आर्यका जाति (अवैदिक आर्य) पनि यहाँ आए । एउटा महत्त्वपूर्ण कुरो तन्त्रवाद निकै पुरानो हो, यहाँसम्म कि त्यस युगभन्दा पनि पुरानो हो, जसलाई पी.बन्दोपाध्यायले आफ्नो समयका केही पुरातत्ववेत्ताहरूको निष्कर्षको आधारमा निर्धारण गरेका थिए । तन्त्रवादको केही भौतिक र ठोस अवशेष सिंधु सभ्यताको अवशेषमा प्राप्त भएको छ । 

यो कुरो मार्शल र यसको पुष्टि कतिपय विद्वानहरूले गरेका छन् । वास्तवमा सिंधु सभ्यताको धेरैजसो कला र चित्रलिपी तान्त्रिक कलात्मक वस्तुहरूसँग गहिरो सम्बन्ध थियो भन्ने कुरो विश्वास गर्ने आधार पनि हो । तन्त्रवादको प्राचीनता निर्धारण गर्ने बेलामा कालक्रमको इतिहासमा मात्र भर पर्नु हुँदैन । जनजातिहरूमा अहिले पनि विद्यमान धेरैजसो विश्वास र प्रथाहरू यस्ता छन् जसलाई तन्त्रवादमा पाउन सकिन्छ । आज पनि यस्ता मानिसहरू छन् जो आफ्ना पूर्खाहरू जस्तै जीवन व्यतित गरिरहेका छन्, जसले पाँच हजार वर्षअघि सिंघु सभ्यताको नगर निर्माण गरेका थिए । हामीले यही जीवनको आधारमा तन्त्रवादको स्रोत खोज्नु पर्ने हुन्छ । ऐवलानले भनेका छन्, ‘वास्तवमा हिन्दू धर्मको लोकप्रचलित र रहस्यमय, दुवै पक्ष व्यवहारिक दृष्टिले मुख्यतया तान्त्रिक हो ।’ 

शाक्त मत (तन्त्रवाद) ले सामान्य पूर्विय चिंतनमा गहिरो प्रभाव पा¥यो । नेपालको काठमाडौंमामात्र पनि सर्वेक्षण गर्ने हो भने थुप्रै ठाउँमा शक्ति साधना (तान्त्रिक क्रियाहरू) केन्द्र पाउने छौं । यस्ता साधना पहिले पनि हुने गरेको थियो र आजसम्म पनि हुदै आएको छ । ‘तन्त्र’ शब्दको मूल अर्थ हो ‘शास्त्र’, त्यो शास्त्र जसबाट ज्ञानको विस्तार हुन सक्तछ । ‘तन्त्र’ शब्दको अर्थ— शास्त्र, सिद्धान्त, अनुष्ठान, विज्ञान, विज्ञान विषयक ग्रन्थ भएपनि लोकव्यवहारमा ‘तन्त्र’ शब्दको प्रयोग मन्त्र–कीलक–कवचसँग सम्वन्धित साहित्य, रहस्यमय एवं चमत्कारपूर्ण प्रयोग र देवी, भैरव आदि देवताहरूको पूजाका विधि–विधान लेखिएका ग्रन्थहरूको निमित्त गरिएको पाइन्छ । ‘तन्त्र’ शब्दको अर्को पर्यायवाची शब्द ‘आगम’ हो । यो शब्द पनि ‘तन्त्र’ शब्दजतिकै प्रसिद्ध छ । 

आगमको पनि व्यापक अर्थ हो ‘शास्त्र’, त्यो शास्त्र जसबाट अभ्युदय (लोककल्याण) र निःश्रेयस (मोक्ष) प्राप्त हुनसक्तछ । सृष्टि, देउताहरूको पूजा, सबै सिद्धिहरूलाई प्राप्त गर्ने उपाय, पुरश्चरण, षट्कर्म (मारण, मोहन, वशीकरण, स्तम्भन, विद्वषण, उच्चाटन), उपाय, ध्यानयोग (अभीष्ट देउताको चिन्तन) यी सात लक्षणहरूले तन्त्र वा आगमका विषयहरूपट्टि सङ्केत गर्दछन् । वेदको वैशिष्ट्य ‘ज्ञान’ हो भने तन्त्रको वैशिष्ट्य ‘क्रिया’ हो । क्रिया भएन भने ज्ञान भार मात्र ठहरिन जान्छ । आफूले पाएको ज्ञानलाई क्रियात्मक रूपमा परिणत गर्न सकेमा मात्र सफलता प्राप्त गर्न सकिने हुन्छ । भगवान शिवका पाँच मुख भएकोले यिनलाई ‘पञ्चवक्त्र’ वा ‘पञ्चमुखी’ भन्दछन् । भगवान शिवका पाँच मुखका शास्त्रीय नामहरू हुन्— ईशान, तत्पुरुष, सद्योजात, वामदेव र अघोर । 

शिवका यिनै पाँच मुखबाट समस्त तन्त्र वा आगमहरूको आविर्भाव भयो । आगमअनुसार महेश्वरका दश भेदप्रधान, अठार भेदाभेदप्रधान र चौसट्ठी अभेदप्रधान अवस्थाहरूलाई क्रमशः शिवावस्था, रौद्रावस्था र भैरवावस्था भनिन्छन् । शिवको दश भेदप्रधान अवस्थाहरूमा यिनका पाँच मुखबाट प्रस्फुटित भएका ‘कामिक’ आदि दश भेदप्रधान आगमहरू ‘शैवागम’ भनिन्छन् । यिनैका अठार भेदाभेदप्रधान अवस्थाहरू प्रकट भएका ‘विजय, निःश्वास’ आदि अठार भेदाभेदप्रधान आगमहरू ‘रौद्रागम’ को नामले प्रसिद्ध छन् । यसैगरी शिवका अभेदप्रधान चौसट्ठी अवस्थाहरू छन् । शिवको चौसट्ठी प्रकारका अद्वयप्रधान भैरवावस्थाहरू आविर्भूत भएको बेला नै भैरवागमहरूको आविर्भावको बेला हो । यसबेला सबै किसिमका भेदहरू अस्त भएर अद्वय अवस्था आउँछ । 

शिवको पाँचवटै वक्यहरू अन्तर्लिन भएर परस्पर मिलेपछि आविर्भूत भएका चौसट्ठी प्रकारका आगमहरू भैरवागमको नामले प्रसिद्ध छन् । यी मूल आगम वा तन्त्रहरू हुन् । सत्ययुगमा वेदप्रतिपादित आचारको, त्रेतायुगमा स्मृतिको, द्वापर युगमा पुराणको र कलियुगमा आगम (तन्त्र) प्रतिपादित आचारको प्रधानता रहन्छ । 

सत्ययुगमा दश वर्ष, त्रेतायुगमा एक वर्ष, द्वापर युगमा एक महिना साधना गरेर पाइएको फल कलियुगमा एक दिनमात्रको साधनाद्वारा पाउन सकिन्छ । कलिमा आध्यात्मिक शक्ति क्षीण भएको पाइन्छ । मानिसहरूमा त्याग, तपस्या, धैर्य आदि अत्यन्त महत्वपूर्ण साधनाका आवश्यकताहरू आज समाप्त प्रायः छन् । तान्त्रिक अनुष्ठानहरूमा जातिपातिको भिन्नता, कुनै किसिमको भेदभाव नरहेकोले तन्त्र सार्वभौमिक र सार्ववर्णिक भएर लोकप्रिय हुन गएको हो । 

तर तन्त्रमा अधिकारको विवेचना भने नभएको होइन । गुरुले शिष्यलाई खुब परीक्षा गरेर मात्र साधनाको मार्गमा बढ्ने अधिकार प्रदान    गर्दछन् । बिना गुरु कुनै कार्य गर्ने अनुमति तन्त्रले दिँदैन । वामाचारको कति पूजापद्धतिमा त वेदका नै मन्त्रहरूको उच्चारण गर्नुपर्दछ । त्यसकारण तन्त्र वैदिक हो । वैदिक पूजाको साथमा गुप्त–तान्त्रिक पद्धतिको कल्पना गर्नु निराधार होइन । विभिन्न तन्त्रमा प्रतिपादित तथ्यहरू अथर्ववेदमा मात्र होइन, सबभन्दा प्राचीन मानिएको ऋग्वेदमा पनि वर्णित छन् । 

तन्त्रमा वर्णित ज्ञानको पनि प्रमुख विषय हो— परमाद्वैत । तान्त्रिक पूजक आफू देउता नै भएर देउताको पूजा गर्दछ । तन्त्रमा भावको ठूलो महत्व छ । भाव एक मनोदशा हो । जसले ‘वीरभाव’ को चरमोत्कर्षबाट ‘द्वैतभाव’ लाई सर्वथा हटाएर आफ्नो उपास्य देउताको सत्तासँग आफ्नो सत्तालाई अभिन्न गराउन सकेको छ, त्यो ‘दिव्य’ हो, त्यसको मनोदशा ‘दिव्यभाव’ हो । आचार सात छन्— वेदाचार, वैष्णवाचार, शैवाचार, दक्षिणाचार, वामाचार, सिद्धान्ताचार तथा कौलाचार । आचारहरू पशु, वीर र दिव्य भावसँग सम्बद्ध छन् । 

यिनीहरूमा वेदाचार, वैष्णवाचार, शैवाचार र दक्षिणाचार ‘पशुभाव’का निमित्त वामाचार र सिद्धान्ताचार ‘वीरभाव’ का निमित्त र कौलाचार ‘दिव्यभाव’ का लागि हो । अद्वैत भावना पूर्ण र शुद्ध भएका साधकको निमित्त शत्रु र मित्रमा, मशान र भवनमा, सुवर्ण र तृष्णामा केही भेद रहँदैन । ‘कौल’ ले कहिल्यै पनि आफ्नो वास्तविक स्वरूप प्रकट हुन दिँदैन । उसका आचरण पनि सर्वश्रेष्ठ हुन्छ । ‘कौल’ पनि दुई प्रकारका हुन्छन्— पूर्वकौल र उत्तरकौल । मूलाधार चक्रमा रहेको कुण्डलिनी शक्तिलाई उठाएर ‘सहस्रार’मा रहेको शिवतत्वसँग मिलाएर राख्नु नै कुलको प्रमुख लक्ष्य हो । कुलाचारको उपासना पाँच ‘मकार’ को प्रयोगमा अनुष्ठित छ । 

यी पाँच मकारहरू मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन हुन् । मद्य बाहिरी ‘रक्सी’ होइन, ब्रह्मरन्ध्रमा रहेको सहस्रार कमलबाट झर्ने अमृत नै मद्य हो । यो ‘खेचरी’ मुद्राबाट सिद्ध हुन्छ, त्यही पान गर्ने योगी नै ‘मद्यपायी’ हो । 

पूण्य–पापरूपी पशुहरूलाई ज्ञानको खड्गले मारेर आफ्नो मनलाई परव्रह्ममा लीन गराउनु ‘मांशाहारी’ हो भने साधकले शरीरमा रहेको इडा र पिङ्गला नाडीहरूमा पौडी खेल्ने श्वास–प्रश्वास रुपी दुईवटा माछालाई प्राणायामद्वारा सुषुम्णाभित्र लगेर खेलाउनुलाई नै ‘मत्स्यहारी’ भनिन्छ । 

सत्सङ्गबाट मुक्ति र असत्सङ्गबाट बन्धन हुन्छ, यसकारण असत्सङ्ग त्याग गरी सत्सङ्गमा रहनु नै ‘मुद्रा’ हो । मूलाधारमा रहेको कुण्डलिनी शक्तिलाई सहस्रारमा रहेको शिवसँग मिलाउनु नै ‘मैथुन’ हो, शिवशक्तिको सामजस्य हो । यसरी पाँच मकारको प्रयोग ‘अन्तर्याग’ हो । ब्रह्ममार्ग रहस्य अत्यन्त गोप्य छ ।     

तन्त्रको महत्व      
भगवान शिवले आफ्नी पत्नी पार्वतीसँग सहज वार्तालापको समयमा सृष्टिको उत्पत्ति, पोषण र लयको विषयमा बताए । अनि शिव–शक्ति पार्वतीले अनुरोध गर्नुभयो— ‘देव ! तपाई यी दुवैभन्दा पनि अझ सजिलो कुनै यस्तो साधना प्रणाली प्रचलनमा ल्याउनुहोस् जो सर्वसुलभ होस् र जसद्वारा सम्पूर्ण मानव–समाज लाभान्वित हुन सकोस् ।’ शिव भगवान आफ्नो दयालु, सहज–सरल जीवन पद्धति र त्वरित निर्णयको लागि प्रसिद्ध हुनुहुन्छ । उहाँले तत्क्षण ‘तथास्तु’ भनेर तन्त्रको मूलभूत आधार सिद्धान्त र प्रयोग–परिणाम विवेचित गरिदिए । जीवनको विभिन्न क्षेत्रहरूमा तन्त्रको प्रयोग हुने गरेको छ । शिवले पार्वतीलाई आफ्नो प्रवचनमा मूलतः आध्यात्मिक शान्ति र लौकिक जीवनको सुख–समृद्धिको सिद्धान्त बताउनु भएको थियो । 

त्यही सिद्धान्तलाई पछिका विभिन्न विद्वानहरूले अनेक रुपमा प्रतिपादित गरेकाले तन्त्रको अनेक शाखाहरूको जन्म भयो । पौरस्त्य संस्कृतिको इतिहासमा कतिपय महापुरुषहरू र ऋषि मुनिहरूका प्रसंग पाइने गरेको छ जसले योग–तन्त्रको साधनाद्वारा अद्भूत एवं अलौकिक कार्य सम्पन्न गरे । प्रागैतिहासिक युगपछि पनि योग–तन्त्रको पर्याप्त प्रचलन थियो । 

नाथसिद्ध परम्पराका प्रवर्तक र महान् योगी गुरु मत्स्येन्द्रनाथ तथा गोरखनाथको नाम आज पनि समादूत छ । बौद्ध कालमा तन्त्रले धेरै व्यापकता प्राप्त गर्यो । तर त्यही व्यापकता नै उनीहरूको पतनको कारण पनि बन्यो । पञ्च मकार साधनामा मांस–मदिरा–मत्य–मुद्रा र मैथुन प्रमुख मानियो । यसैलाई सिद्धि–सोपानको संज्ञा दिइयो । 

मुक्त यौनाचारको पोषण हेतु सामूहिक साधना, कौलाचार एवं भैरवी चक्र आदिको प्रणाली विकसित भयो, जसको माध्यमले धेरैजसो बौद्ध विहार (उपासना गृह) मुक्त योग, सामूहिक सहवास र स्वच्छन्द यौन प्रशिक्षणको केन्द्र बनाइदिए । हो, यही अतिचार बौद्ध तान्त्रिकहरूको विनाशको कारण बन्यो । आज तन्त्र–मन्त्र–यन्त्रको महत्व सबै वर्गका मानिसले खुला हृदयले स्वीकार गरेका छन् । यसको मुख्य कारण भनेको, यस संसारमा अलौकिक शक्तिहरू विद्यमान छ भन्ने मान्यता नै हो । प्रायः जनमानसको धारणामा, तान्त्रिक तामसिक प्रवृत्तिका मात्र हुन्छन् साथै उपद्रवी स्थिति उत्पन्न गर्दछन् भन्ने रहेको छ । तर यथार्थमा भने यस्तो हुने गरेको छैन । 

यस्ता कुराहरू तान्त्रिकको प्रकृतिमा निर्भर गर्दछ । यथार्थमा तन्त्र साधनाको आफ्नै महत्व छ । तन्त्रको अर्थ अनुष्ठान र रक्षा आदिसँग छ । तन्त्रद्वारा नै सांसारिक र पारलौकिक जीवनमा सुख प्राप्त हुने गर्दछ । यो त्यो प्रक्रिया हो जो मन्त्रानुष्ठानको सिद्धान्तमा निर्भर रहन्छ । दत्तात्रेय र गौतमीय तन्त्र सात्विक तन्त्र हो । शैवागामी आदि तन्त्र राजस र भैरव तन्त्र तामस हो । 

तन्त्र शास्त्रमा साधना तीन किसिमको विधबाट गर्न सकिन्छ भनिएको छ — तन्त्र, मन्त्र र यन्त्र । यसमा तन्त्र प्रमुख हो । मन्त्रको शक्तिलाई प्रभाविलो तन्त्रले बनाउँछ भने फल प्रदान गर्न सहायक यन्त्र बन्दछ । तन्त्र साधनाको लागि पहाड, नदीको संगम, गुफा, कुना काप्चा र जंगललाई सिद्धिदायक स्थल मानिएको छ । किनभने त्यहाँ तन्त्रको लागि सरलतापूर्वक सामग्री उपलब्ध हुने गर्दछ । यस्ता स्थान प्राचीन समयदेखि नै देवी–देवताहरूको साधना स्थल बनेका छन् । 

जब कुनै निश्चित तिथि, दिन, बार एवं नक्षत्र आदिमा राशिअनुसार विधानपूर्वक साधना गरिन्छ भने त निश्चय नै चमत्कारिक परिणाम सम्मुखमा देखा पर्दछ भन्ने विश्वास छ । हठयोगले संसारमा थुप्रै चमत्कारिक क्रियाहरूलाई जन्म दिएको छ । शैव र शाक्त मतका योगीहरू हठयोगद्वारा आफ्ना अभिष्ट प्राप्त गर्ने क्षमता राख्दछन् । राजयोगको दायरा सीमित थियो । किनभने सनातन धर्ममा विश्वास गर्ने योगमार्गी नै हठयोगको निमित्त साधना गर्दथे । समाधिमा जानको लागि तन्त्र साधनाको सहारा लिन नै पर्दथ्यो । 

प्रत्येक व्यक्ति चाहन्छ उसका सम्पूर्ण इच्छाहरू सरलतापूर्वक पूरा होस् । तर जीवनमा निरन्तर आउने बाधाहरूको कारण उसले पाइला पाइलामा संघर्ष गर्नु पर्दछ । यस्ता बाधाहरू पन्छाउनको लागि कुनै विशेष तन्त्र–मन्त्रको आवश्यकता पर्दैन । मात्र केही सजिलो साधनाद्वारा पूर्ण सफलता प्राप्त गरेर जीवनको वास्तविक सुख र आनन्द प्राप्त गर्न सकिन्छ । 

तन्त्र, मन्त्र र यन्त्रद्वारा चामत्कारी घटना गराउने वशीकरणको प्रभाव उत्पन्न गर्न सकिन्छ । यस्ता घटना गराउने  वशीकरण मात्रै होइन । यसमा सम्मोहन, मोहिनी विद्या र आकर्षण पनि आउँदछ । मन्त्र र तन्त्रबाट वशीकरण सुगम छ तर यन्त्रद्वारा वशीकरण कठिन छ । 

मन्त्रको सोझो सम्बन्ध वर्णसँग छ, र वर्णबाट बनेको शब्द हाम्रो मनको गहराईसम्म पुगेर हामीलाई कहिले एकान्तमा र कहिले मौन क्षेत्रमा पुर्याउँदछ भने कहिले नयाँ उर्जा एवम् नयाँ सोच दिने गर्दछ । यी सबका पछाडि एउटै तथ्य छ— शब्दहरूमा लुकेको तन्त्र मन्त्रको शक्ति । 

यो सर्वथा सत्य हो— मन्त्रको उच्चारणबाट जुन ध्वनी उत्पन्न हुने गर्दछ, त्यसमा अलिकति भने पनि अन्तर आउने गर्दछ नै । तर कुनै पनि मन्त्र एक पटक जप गर्दैमा प्रभाव भने पर्दैन, त्यसलाई नियमित जप गरिरहनु पर्दछ । तन्त्र शास्त्र अनुसार मन्त्र चैतन्य रूप हो । जबसम्म साधक त्यसलाई चोखो हृदयले जप्दैन र त्यसमा चैतन्य सत्ता अनुभव गर्दैन तबसम्म ऊ त्यसमा न त तन्मय हुन सक्दछ र न त सिद्धि प्राप्त नै गर्न सक्तछ । 

योगदर्शनमा चोखो भावनाले गरिएको जपलाई नै सही मानिएको छ । होइन भने जप व्यर्थ हो । मन्त्र साधनामा शब्दहरूको प्रयोग गरेर ऊर्जा उत्पन्न गर्ने गरिन्छ । तन्त्र मन्त्रबाट प्राप्त ऊर्जालाई नै यन्त्रमा स्थापित गर्ने गरिन्छ । यो वेदभन्दा पनि पुरानो विद्या हो । तन्त्र विद्याको सम्बन्ध पदार्थ विज्ञान, रसायन शास्त्र, आयुर्वेद र ज्योतिषसँग छ । 

तन्त्र शक्तिको मूल उद्गम इन्द्रजाल हो र यसको सम्पूर्ण क्रियाहरूको ज्ञान शिवलाई मात्र छ भनेर भनिन्छ । उहाँले नै यो चामत्कारी ज्ञान रावणलाई दिनुभएको थियो । ज्ञानप्राप्त गरेर रावण हिमालयमा गएर तन्त्र साधनामा जुटेको थियो र यसको दुरुपयोग गर्न थाल्यो भनेर भनिन्छ । तब शिवले भविष्यमा यस विद्याको दुरुपयोग कसैले गर्न नसकोस् भनेर इन्द्रजाल तथा तन्त्र ज्ञानलाई गोप्य राख्नुभयो ।         
 

तन्त्र सिद्धि र तान्त्रिक साधना         
प्रायः मानिसले बुझेका छन् तान्त्रिक डरलाग्दो र असमान्य किसिमको व्यक्ति हुन्छ भनेर । तर यथार्थमा भने नितान्त भिन्नता पाइन्छ । तान्त्रिक साधना भक्तिको अन्तिम खुड्किलो हो । यसै हुँदा यस क्षेत्रमा पाइला राख्नु भन्दा पहिले नै तन्त्र साधना, तन्त्र सिद्धि र विभिनन देवी–देवताहरूलाई सिद्ध गर्ने तान्त्रिक प्रक्रियाहरूबारे राम्ररी थाहा पाउनु पर्दछ । 

सबैभन्दा राम्रो जानकारी त साधकको मन–मस्तिष्कमा तन्त्र शास्त्रको बारेमा कुनै भ्रम छ भने त त्यसबारे पूर्णतः थाहा पाउनु पर्दछ । रावण र मेघनादले जे जति शक्ति पाएका थिए ती सबै शिवको तन्त्र साधनाहरूको नै प्रतिफल थियो । 

यतिमात्र होइन तान्त्रिक साधनाहरूको बलमा भूत–प्रेत आदिलाई पनि आफ्नो अनुचर बनाउन सकिन्छ भन्ने विश्वास छ । आज पनि भगवान् जस्तै पूजिदै आएका वास्तविक धर्म प्रचारक र धर्मगुरूले आफ्नो अलौकिक शक्ति तान्त्रिक साधनाबाट नै प्राप्त गरेका हुन् र चोखो साधकले पनि यस्तो प्राप्त गर्न सक्छ भनेर विश्वास गर्ने गरिँदैछ । 

प्राचीन धर्मग्रन्थहरूमा मन्त्र, यन्त्र र तन्त्र साधनाहरूको बारेमा विपुल जानकारी उपलब्ध छ । भय र आपदहरूबाट रक्षा अथवा कुनै विशिष्ट सिद्धि अथवा कार्यको आपूर्तिको लागि जुन मन्त्र जग र अनुष्ठान गर्ने गरिन्छ, त्यो पनि तन्त्र सिद्धि नै हो । 

यन्त्र पूजन र मन्त्रहरूको जपमा जब मुख्य जोड मन्त्रहरूको जपमा र देव आराधनामा दिने गरिन्छ तब त्यसलाई मन्त्र सिद्धि भनिन्छ । तर यन्त्र र मन्त्र दुवैलाई समान महत्व दिँदै कुनै विशेष प्रयोजनको सिद्धि हेतु जब पूर्ण विधि–विधानपूर्वक यन्त्रको पूजन र मन्त्रको जप गर्ने गरिन्छ तब यही कार्यलाई तन्त्र साधना भनिन्छ । 

यसो त सबै देवी–देवताहरूको तान्त्रिक साधना गर्ने गरिन्छ । तर व्यवहारिक रूपमा भैरव र काली अर्थात् महाकालीको तान्त्रिक साधनाहरू नै सबभन्दा धेरै हुने गरेको पाइएको छ । भैरवको तान्त्रिक साधना त यति व्यापक हुने गरेको छ कि प्रायःजसो मानिस भैरवको आराधक–उपाकिलाई पनि तान्त्रिक ठान्दछ । उनीहरूसँग डराउँछन् र टाढा रहने प्रयत्न गर्दछन् । वास्तवमा यो एउटा मिथ्या भ्रम मात्र हो । केही ढोंगी र पेशेवर तान्त्रिक भनाउँदा अरूलाई खती पुगाउन, आफूतिर आकृष्ट गर्ने गर्दछन्, यस्तै तान्त्रिक साधनाहरूको बारेमा व्यापक भ्रम फैलिएको छ, यसको तथ्यपूर्ण सत्य जनमानसले थाहा पाउनै पर्छ ।         
 

प्रतिमा, यन्त्र र सामग्री         
कुनै पनि तान्त्रिक साधना गर्दा प्राण–प्रतिष्ठित यन्त्र र आराध्य देवको प्रतिमाको साथै षोडशोपचार आराधनामा काम आउने सबै बस्तुहरू तथा विशेष भोगको प्रयोग पनि गर्ने गरिन्छ । आराध्य देवको प्रतिमालाई पूर्ण श्रृंगार त गरिन्छ नै, घ्यू हालेर बालिएको एउटा ठूलो दियो पनि साधनाको समयभर बलेकै राखिन्छ । 

तन्त्र आराधक पूजा गर्ने एउटा विशिष्ट स्थान निर्धारित गरेर त्यहाँ उपास्यदेवको सानो मन्दिर बनाएर त्यसमा अखण्ड दियो पनि बाल्दछ । यतिमात्र होइन, विशिष्ट तान्त्रिक साधनाहरू र षट्कर्महेतु सिद्धिहरू गर्दाखेरी सबै उपादानहरूको प्रयोग त गरिन्छ नै साधकले प्रयोग गर्ने आसन र मालाको पनि विशेष महत्व हुने गर्दछ । 

मूर्ति पूजा र षोडशोपचार आराधनाको समान नै तान्त्रिक साधनाहरू गर्दाखेरी पनि सोही अनुसारको पूजा गर्ने सामग्री प्रयोग गरिन्छ । तर यसको चयनको पनि एक निश्चित विधान छ । सेतो र पहेलो रंगको बस्तुहरू, तुलसीको पात र तुलसीको माला भैरव आराधनामा निषेध छ । यसको विपरीत रातो र कालो रंगको बस्तुहरूको प्रयोग भने तान्त्रिक साधनामा धेरै महत्व राख्दछ । एउटा कुरो के भने भैरवको सौम्य स्वरूपको सात्विक सिद्धि गर्दाको समयमा रातो रंगको बस्तु र फूलको मात्र प्रयोग गर्ने गरिन्छ । 

तर रौद्र रूपको तामसिक सिद्धि प्राप्तिको लागि साधना गर्ने साधकले रातो रंगको साथ साथै गाढा कालो रंगको बस्तुहरू पनि प्रयोग गर्दछन् । भैरव आराधना अथवा कुनै पनि तान्त्रिक साधना गर्दा धूप–दीप र नैवेध नभएसम्म पूर्ण हुँदैन । यसको साथै रातो रंगको फूलको एउटा माला र केही फूल साधकलाई चाहिन्छ ।         

नैवेद्य, माला तन्त्र साधनाको प्रमुख रूप 
विधि–विधानपूर्वक षोडशोपचार आराधना तथा तान्त्रिक साधना गर्दाखेरी देवी–देवतालाई दूध, दही, मह, चिनी र जलमा स्नान गराउनुपर्छ । तर हिजोआज व्यवहारिक रूपमा पंचामृत बनाएर केही थोपा प्रतिमाको नजिक छर्किदिन्छन् र पंचामृत प्रसादको रूपमा भक्तहरूमा बाँड्ने गरिन्छ । यसो त यी बस्तुहरू भैरवको भोग या नैवेद्यमा होइन, बरू उहाँको स्नानमा काम आउने बस्तुहरू हुन् । भैरवको विग्रहको सम्मुख भोगको रूपमा केही मिठाइहरू र फल राख्ने गरिन्छ । 

यसको मात्रा त जे पनि हुन सक्दछ, तर जहाँसम्म भैरवको विशिष्ट भोगको प्रश्न छ दुई या अन्य वस्तुहरूको प्रयोग पनि अनिवार्य रूपले हुने गर्छ त्यो हो— शख्खर (गुड) र मासको दाल साथै मासको बारा पनि । तान्त्रिक साधनाको सिद्धिमा साधकले बस्नको लागि प्रयोग गर्ने आसन, जप गर्ने माला र साधक बस्दा सम्मुखको खिशाको पनि धेरै ठूलो महत्त्व छ । तुलसीको मालाको प्रयोग भैरवको आराधना मन्त्र जप र तान्त्रिक साधनामा वर्जित छ । तन्त्र साधकले रूद्राक्षको माला नै लगाउँछन् र रूद्राक्षको मालाले नै जप गर्दछन् । 

रूद्राक्ष–मालाको अभावमा साधक काठको अथवा काँचको मालाले पनि काम चलाउन सक्छ । विशिष्ट तान्त्रिक साधना गर्ने समयमा पनि आकर्षक र सम्मोहनको लागि पनि रातो ऊनको आसन नै प्रयोग गर्ने विधान छ । यसैगरी बाघको छालालाई आसनको रूपमा प्रयोग सबै किसिमको सिद्धिहरूको लागि समान रूपले श्रेष्ठ भनिएको छ । हरिणको छाला आसनको रूपमा गरिने प्रयोग सात्विक साधना र मन्त्र सिद्धिको लागि सर्वोत्तम मानिएको छ । 

भैँसीको छाला आसनको रूपमा प्रयोग शत्रु मार्न र समूल नष्ट गर्नको लागि गरिने अनुष्ठानमा गरिन्छ । तन्त्र साधनामा उत्तरतर्फ मुख गरेर मन्त्र सिद्धिको शक्ति प्राप्त हुन्छ भने दक्षिणतर्फ मुख गरेर मारण क्रिया गर्ने गरिन्छ, जहाँसम्म सात्विक साधनाको प्रह्न छ, पूर्वतर्फ मुख गरेर रातो ऊनको आसनमा बसेर गर्ने गरिन्छ । 

तन्त्र साधनामा प्रयोग गरिने बस्तुहरू र उपादानको आधारमा तन्त्र साधनाको प्रक्रिया मुख्यतः दुई भागमा विभाजन गर्न सकिन्छ— पहिलो सात्विक तन्त्र साधना हो र दोस्रो तामसिक तन्त्र सिद्धि । यसैगरी तन्त्र साधनाको उद्देश्य पनि प्रायः दुई किसिमको हुन्छ । सर्वश्रेष्ठ र कल्याणकारी अभिप्राय स्वयम्लाई आध्यात्मिक विकास र लौकिक उपलब्धि प्राप्ति हो । 

सबै किसिमका तान्त्रिक साधना गर्ने साधक प्रायः भैरवको नै साधना गर्दछन् । अर्को कारण भनेको पृथक–पृथक देवी देवताहरू हुँदा हुँदै पनि अधिकांश तान्त्रिक सिद्धिमा अर्थात् वशीकरणदेखि लिएर मारणसम्मको साधना गर्ने गर्दछन् ।     

साधनामा पंच तत्वको धारणा         
तन्त्रको षट्कर्ममा पृथक पृथक देवीहरू छन् । कुनै पनि कर्म विशेषमा पूर्ण सफलता प्राप्त गर्नको लागि सबैभन्दा पहिले प्रकृतिको पाँच तत्वहरू जसले हाम्रो यो शरीर बनेको छ साधना गर्नु पर्दछ ।         

पृथ्वीको रंग हरताल जस्तो पहेँलो र स्थिति चतुष्कोण जस्तो छ । यसको अधिष्ठातृदेव ब्रह्मा हो र उनको बीज ‘लं’ हो । साधकले पाँच तत्व, जो इन्द्रियहरूभन्दा बाहिर देखा पर्दछ, ती सबै मेरै शरीरमा छ भन्ने भावना बनाउनु पर्दछ । 

यस भावनालाई नै धारण गर्नु पर्दछ । साधकलाई ‘म शरीरसँग बाँधिएको छैन म नै सम्पूर्ण पृथ्वी हुँ’ भन्ने अनुभव हुन सक्नु पर्दछ, पृथ्वी तत्व धारण गर्नाले शरीर निर्मल र स्वस्थ बन्दछ साथै कुनै किसिमको रोगले आक्रमण गर्न सक्तैन ।     

शरीरको गुप्तेन्द्रियसम्म जलको स्थानमा पर्दछ । जल मण्डल शंख, कुन्द, पुष्प या चन्द्रमा जस्तै श्वेत वर्णको छ । यसको बीज अमृतमय ‘वं’ हो । साधकले चिन्तन गर्दाखेरी पृथ्वीको कण कण ममा स्निग्ध हुँदै छ भन्ने अनुभव गर्न सक्नु पर्छ । “अमृत र विष दुवै मेरो नै स्वरूप हो । फूलको कोमलता र पहाडको कठोरता मेरो नै कारण हो । पृथ्वी मेरो परिणाम हो, म नै पृथ्वीको रूपमा प्रकट भएको हुँ”— भन्ने भाव अनुभव भएमा अन्तःकरण स्वच्छ एवं विशुद्ध बन्दछ र दैहिक, दैविक र भौतिक तीनै किसिमको ताप–सन्ताप हट्दछ ।     

गुप्त इन्द्रियदेखि लिएर हृदय पर्यन्त अग्नि मण्डल हो । यो त्रिकोण आकारको रक्त वर्णको छ । यसको मुख्य केन्द्र नाभि हो र बीज ‘रं’ हो । यसको अधिष्ठादेव रुद्र हो । “सम्पूर्ण पदार्थहरूको रंग रूप जे जति पनि चमक–दमक, सुन्दरता र आकर्षक छ, त्यो सबै मेरो नै कारणले हो” भन्ने चिन्तन साधकले आफूमा स्थिर गर्नु पर्दछ । “सूर्य, चन्द्रमा र विद्युतको रूपमा म नै प्रकाशित हुने गर्छु र चमकी । सबैको आँखामा प्रकट भएर मनै देख्दछु । सम्पूर्ण देवताहरूका शरीर मद्वारा नै बनेको हो” भन्ने भाव धारण गरी अभ्यासद्वारा अग्नि तत्व सिद्ध गरेमा अरूले गरेको जादू–लागू–भागू केहीले पनि शरीरलाई हानि पुर्याउन सक्दैन, साधक सुरक्षित रहन्छ ।         

मुटु (हृदय) देखि लिएर आँखीभुइँसम्म वायु मण्डल रहन्छ । यसको वर्ण कालो छ । यो ‘यं’ बीज मन्त्र भएको अमृत तत्व–शक्ति रूप हो । अधिष्ठातृदेव ईश्वर भएको वायु तत्वको धारण जब पाँच घडीसम्म गर्न सक्छ तब आफू (साधक) नै वायु भएको अनुभव गर्न थाल्दछ । 

“अग्नि मेरो नै विकास हो । अनन्त आकाशमा जे जति ग्रह–नक्षत्र छन् ती सबैलाई मैले धारण गरेको छु । हरेक बस्तुमा जुन आकर्षण र विकर्षणको शक्ति छ त्यो म नै हुँ ।” पाँच घडीसम्म वायु तत्व धारण गर्ने साधक वायुरहित स्थानमा जीवित रहन सक्ने मात्र हैन, न त जलमा नै डुब्दछ, न आगोले डढाउँदछ र न वायुले नै सुक्दछ । वृद्धावस्था र मृत्यु दुवैलाई यसले जित्दछ ।     
    
आँखीभुइँको बीचदेखि मूद्र्धा पर्यन्त आकाश मण्डल हो । समुद्रको जल झै नीलो रंग भएको यसको बीज ‘हं’ हो र अधिष्ठातृदेव सदाशिव हो, जसको शिरमा अद्र्ध–चन्द्र विराजमान छ, जसको पाँच मुख, दश हात र तीन आँखा (नेत्र) छ । प्राणलाई स्थिर गरेर साधकले जब वायु तत्वको स्वरूपको धारणा नित्य गर्दछ तब “म एक रस हुँ, न मेरो बाहिर केही छ र भित्र नै” भन्ने अनुभव गर्दछ । यस तत्वको सिद्धिले साधक आवागमनरहित भएर मोक्षप्राप्त गर्दछ । उसको लागि सृष्टि र प्रलयको कुनै महत्व नै रहँदैन ।         

साधकले सबैभन्दा पहिले पृथ्वी मण्डलको चिन्तन गरेर त्यसलाई जल मण्डलमा विलीन गर्नु पर्छ, अनि जल मण्डललाई अग्नि मण्डलमा र वायु मण्डललाई आकाश मण्डलमा विलीन गर्नुपर्दछ । नित्य नियमपूर्वक कार्यको कारणमा विलीन गर्दै साधकले सबै तत्वहरू (कार्यहरू) लाई परम कारण (शिव) मा स्थापित गरेर स्वयमेव शिवको आत्मरूप सम्झेर काम गर्न थाल्दछ, यस्तो साधना मुख्य रूपले स्वयंलाई शिवमय बनाउन र उनको शक्ति प्राप्त गर्नको लागि गरिन्छ । साधना गर्ने साधकलाई थुप्रै सिद्धिहरू यो साधना प्रारम्भ गर्ने वितिकै स्वयंप्राप्त हुन थाल्दछ । यसैकारण समाजमा तन्त्र–मन्त्रप्रति जनमानसमा विश्वास छ ।

(तन्त्रको नाममा धेरै ठगिएको हुँदा यसबारे सामान्य जानकारी उपलब्ध गराउन यो तयार गरिएको हो, तन्त्र–साधना विज्ञान सम्मत क्रिया हो अन्धविश्वास होइन र यो योग्य गुरुको निर्देशनमा मात्र गर्न पर्दछ— लेखक ) 
सन्दर्भ सामग्री         
१. श्रीवास्तव, सी.एम. (इ.स.२०१४) वशीकरण सिद्धियां साधना एवं प्रयोग (पाचौं सं.) दिल्लीः मनोज पब्लिकेशन्स ।    
२. चट्टोपाध्याय, देवी प्रसाद (इ.स.१९७३) लोकायत, दिल्लीः राजकमल प्रकाशन ।        
३. परिव्राजक, स्वामी व्रह्ममुनि (इ.स.१९४१) अथर्ववेदीय मन्त्र विद्या दिल्लीः दयानन्द संस्थान, नई दिल्ली ५ ।     
४. भट्ट, विद्यानाथ उपाध्याय (२०६२) तन्त्र विद्यालोक, काठमाडौँ ........... ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ