arrow

केन्द्रीय समिति बैठक

समाजवादी मोर्चा कसको लागि बनेको हो छलफल गर्न जरुरी छ: शेखर कोइराला [पूर्णपाठ]

केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज हुनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
shekhar-koitala=congress-meet.JPG

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले समाजवादी मोर्चाको सम्बन्धमा प्रश्न उठाएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले सत्तारुढ गठबन्धन भित्रैका दलहरूले बनाएको समाजवादी मोर्चा कसको लागि बनेको हो भनी प्रश्न गरेका छन् ।

उनले गठबन्धन भित्र अर्को गठबन्धन बनेको भन्दै त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय तहमा देशको छवि धुमलिएको भन्दै यस विषयमा सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताए । उनले यस केन्द्रीय समिति बैठकले पारदर्शिता र सुशासनको पक्षमा उभिन सक्ने नैतिक बल दिने विश्वास पनि व्यक्त गरे ।

उनले भने, ‘हामी गुटभित्र पनि उपगुट भनेर भन्छौँ नेपाली काँग्रेसभित्र । हामीहरूको गठबन्धन भित्र पनि अर्को गठबन्धन बनेको छ । समाजवादी मोर्चा, त्यो कसको लागि बनेको हो त्यतातिर अब हामीले छलफल गर्न जरुरी छ । भ्रष्टाचार र सुशासन दुई विपरीत दिशामा हिँड्छन् । काँग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरे जनताको घरदैलोमा गएर भोट माग्न सक्ने अवस्था हामीसित छैन । भुटानी शरणार्थी प्रकरण अत्यन्त संवेदनशील र पेचिलो विषय बनेर गएको छ । यस विषयमा केवल भावनामा बगेर हलुका टिप्पणी गरेर पन्छिन सक्ने अवस्था पनि छैन । यो प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको छवि धुमलिएको छ । यसमा हामी सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता पनि मैले देखेको छु । यस विषयमा यो केन्द्रीय समितिले पारदर्शिता र सुशासनको पक्षमा उभिन सक्ने नैतिक बल दिनेछ भन्ने मैले विश्वास पनि लिएको छु ।’

उनले संसद्बाट दण्डहीनतालाई प्रश्रय दिने कानुनहरू बन्न थालेको बताए । उनले राज्यका जिम्मेवार निकायहरूकै कारण देशमा पछिल्ला दिनहरूमा दण्डहीनता बढेर गएको उल्लेख गरे । उनले नीतिगत रूपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइराखेको बताए । नेता कोइरालाले हाल संसद्मा रहेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गर्नुपर्ने बताए । यो विधेयक पारित भएमा दण्डहीनताले संस्थागत रूप लिने उनको भनाई छ ।

उनले भने, ‘मलाई सबभन्दा चिन्ता लागेको के हो भने नेपाली काँग्रेस एउटा लोकतान्त्रिक पार्टी हो । दण्डहीनतालाई हामीहरूले प्रश्रय गर्ने कानुनहरू बनाउन थालेका छौँ । राज्यका जिम्मेवार निकायहरूकै कारण देशका पछिल्ला दिनहरूमा दण्डहीनता बढेर गएको छ । नीतिगत रूपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइराखेको छ । हाल संसद्मा रहेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गरिनुपर्छ । यो विधेयक संसद्बाट पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिन्छ । जनता दण्डहीनताको अन्त्य गर्न काँग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहन्छन् ।’

नेता कोइरालाले महामन्त्री गगन थापाले प्रस्तुत गरेको सङ्गठनात्मक कार्य तालिकामा प्रदेशलाई छुटाइएको बताए । नेपाली कांग्रेस मासबेश पार्टी भए पनि कार्यतालिका भने क्याडर बेसमा गएको उनको टिप्पणी छ । उनले आगामी २०८४ सालको निर्वाचन काँग्रेस एक्लैले लड्नुपर्ने बताए ।

उनले भने, ‘महामन्त्रीजीको सङ्गठनात्मक कार्यतालिकाको बारेमा सरसरती हेर्दा सुन्दा राम्रै लाग्छ । तर हामीहरूले एउटा कुरा बुझ्नुपर्ने छ कि के हो यो रु नेपाली कांग्रेस मास बेस पार्टी हो कि क्याडर बेस पार्टी हो भनेर रु छलफल गर्ने बेला आयो कि जस्तो लाग्छ । किनभने कार्यतालिका एकदमै क्याडर बेसमा गएको जस्तो मैले आभास पाइराखेको छु । सँगसँगै महामन्त्रीज्यूको कार्य तालिकामा प्रदेशलाई इगनोर गरेको त म भन्दिनँ । छुटेको होला । प्रदेशलाई समावेश गरिकन, समन्वय गरेर जिल्लाहरूमा जानुपर्छ । यो बैठकबाट हामीहरू प्रण गरौँ हामीहरू २०८४ मा एक्लै चुनाव लड्छौँ । र हामी स्थानीय तह, प्रदेश र केन्द्रमा जित्छौँ भन्ने प्रण गरेर अगाडी बढौँ । जनताको अपेक्षा स्थानीय सरकारमा भएका हाम्रा साथीहरू, प्रदेशमा भएका हाम्रा साथीहरू र केन्द्रमा भएका हाम्रा साथीहरूको अपेक्षा अत्यन्त बढेर गएको छ । तिनीहरूलाई कसरी हामीले सम्हाल्ने हो त्यतातिर हामीहरू जानुपर्छ । महँगी र कालोबजारीले जनता आक्रान्त छन् । जनजीविकाको सवालमा जनताले नेपाली काँग्रेस सरकारमा भएको अनुभूति गर्न सकिराखेको छैनन् । सरकारमा भएका नेताहरूले काम गरिरहनु भएको होला । उहाँहरूले हेर्नुहोला ।’

उनले प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै समानुपातिक, समावेशी सुनिश्चित गर्नुपर्ने र त्यसको पहल नेपाली काँग्रेसले नै गर्नुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ