नोउक्याम्प । अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी चम्किएसंगै स्पेनी फुटबल क्लव बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा इङल्याण्डको क्लव म्यानचेष्टर सिटीमाथि ४–० को शानदार जित हासिल गरेको छ ।
घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जिताउन मेसीले ह्याट्रिक गरे ।
पाँच पटकको च्याम्पियन बार्सिलोनाका लागि १७ मिनेटमै पहिलो गोल गरेका मेसीले दोस्रो गोल ६१ औं मिनेटमा गरे ।
यसअघि ५३ औं मिनेटमा म्यानचेष्टरका क्लाउडिओ ब्राभो रातो कार्ड खाएर मैदानबाट बाहिरिएसंगै १० जनामा समेटिएको थियो ।
६९ औं मिनेटमा अर्को गोल थप्दै मेसीले ह्याट्रिक पूरा गरे । ७३ औं मिनेटमा जेरेमी म्याथ्युले दोहोरो पहेंलो कार्ड खाएसंगै बार्सिलोना पनि १० जनामा समेटियो ।
८७ औं मिनेटमा पाएको पेनाल्टीलाई नेमारले गोल गर्न नसक्दा बार्सिलोना फराकिलो अग्रता लिन चुक्यो ।
तर तनावपूर्ण खेलको ८९ औं मिनेटमा नेमारले गोलमा परिणत गर्दै बार्सिलोनालाई जिताए ।
यो जितले भने म्यानचेष्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलालाई ठूलो झड्का उपहार स्वरुप मिलेको छ ।
इङलिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको सिटी सम्हालिन नसक्दा ठूलो हार बेहोर्नुपरेको छ ।
च्याम्पियन्स लिगको बार्सिलोना र म्यानचेष्टर सिटी रहेको समूह सी को अर्को खेलमा बोरुसिया मोन्चेनले सेल्टिकलाई २–० ले हरायो ।
त्यस्तै समूह ए को खेलमा इङल्याण्डको आर्सनलले बुल्गेरियाको लुदोगोरेज्सलाई ६–० को फराकिलो अन्तरले हराएको छ ।
आर्सनललाई आधा दर्जन गोल दिलाउने क्रममा मेसुट ओजिलले ह्याट्रिक गरे । त्यस्तै एलेक्सिस सान्चेज, थिओ वाल्कोट र च्याम्बरलेनले १–१ गोल गरे ।
अन्य खेलहरुमा पेरिस सेन्ट जर्मेनले बासेललाई ३–० ले, बेनेफिकाले डाइनामो किभलाई २–० ले, बेसिक्तासले नापोलीलाई ३–२ ले, बायर्न म्युनिखले आइडहोभनलाई ४–१ ले तथा एथ्लेटिको मड्रिडले रुस्तोभलाई १–० ले हरायो ।