बाजुरा । राष्ट्रिय वाणिज्य बैंकको शाखा कोल्टीमा पुनः स्थापना हुदा स्थानीय दंग भएका छन् ।
माओवादी द्वन्द्वका समयमा तत्कालिन नेकपा माओवादीले उत्तरी क्षेत्रमा सञ्चालन हुदै आएको राष्ट्रिय वाणिज्य बैंकको शाखा जलाएका थिए । राष्ट्रिय वाणिज्य बैंकको शाखा कोल्टीमा पुनःस्थापना हुँदा यस क्षेत्रका ११ गाविस र हुम्ला, जुम्ला कालिकोट, मुगुका स्थानीयलाई सहज भएको छ ।
कोल्टी वाणिज्य बैंकका प्रवन्धक टके बहादुर ऐरले वाणिज्य बैंकको शाखा स्थापना भएपछि स्थानीय र अन्य कारोबार गर्ने व्यापारीहरु बैंक खाता खोल्न भीड लाग्न थालेका बताए ।
जिल्लाको ठूलो दोस्रो व्यापारिक केन्द्र तथा एयरपोर्ट भएको यो क्षेत्रमा २०५८ सालमा विस्थापित भएर जिल्ला शाखा बाजुरामा गाभिएको थियो । त्यस क्षेत्रका बासिन्दाले पटक–पटक पुनःस्थापनाको माग राखेपछि १५ वर्षपछि बैंक स्थापना भएको सेवाग्राही भीम बहादुर कार्कीले बताए ।
उनले कोल्टी क्षेत्रमा बैंक स्थापना गर्नका लागि ११ गाविसका जनताले आवाज उठाउदै आएका थिए । बंैक स्थापना भएर दैनिक कार्य सुरु भएपछि ११ गाविसका जनताले ३ दिनको पैदल यात्रा गरी रकम लिन सदरमुकाम मार्तडी जानु पर्ने बाध्यता टरेको छ ।