arrow

कोशीमा गठबन्धनका तर्फबाट फेरि उद्धवको दाबी पेश

logo
विवेक मिश्र, 
प्रकाशित २०८० साउन १६ मंगलबार
koshi-government-claim-2080-04-16.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेशमा सरकार निर्माणका लागि गठबन्धनले दाबी पेश गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दोस्रो पटक दावेदारी पेश गरेका हुन् । 

यसअघि असार २१ गतेको दाबेदारीमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरबाट मुख्यमन्त्री बनेका थापालाई सर्वोच्च अदालतले रोकेको थियो । तर एक हप्तापछि फेरि उनले दाबेदारी पेश गरेका छन् । 

नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाकी एक सांसदको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

सभामुख गौतमले आजै राजीनामा दिएर गठबन्धनलाई समर्थन गरेसँगै थापालाई सरकार बनाउने बाटो खुलेको हो । थापाको पक्षमा ९३ मध्ये ४७ सांसदको समर्थन छ । यद्यपि दाबी पत्रमा सांसदहरूको संख्यामात्र उल्लेख छ । संसदीय दलका नेताहरूले मात्रै हस्ताक्षर गरेका छन् । 

कांग्रेसका थापा, माओवादीका इन्द्रबहादुर आङ्बोहाङ, एकीकृत समाजवादीका राजेन्द्र राई र जसपाकी निर्मला लिम्बूले हस्ताक्षर गरेका हुन् ।

एमालेका ४० तथा राप्रपाका ६ सांसद रहेका छन् । 

आजै सभामुख बाबुराम गौतमले बहुमत संख्या पुर्‍याउन राजीनामा दिएका थिए ।

प्रदेश प्रमुख परशुराम खापुङले सरकारको दावेदारीका लागि साँझ ५ बजेसम्मको समय दिएका थिए । सो समयअघि नै थापाले दावेदारी पेश गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ