arrow

खेलकुदमा जम्मू–कश्मीरले चार वर्षमा मार्‍यो फड्को 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २० शनिबार
jammu-kashmir-sports-ipl.jpg

श्रीनगर । भारत प्रशासित जम्मू–कश्मीरको खेलकुद क्षेत्रमा बितेका चार वर्षमा उल्लेखनीय रुपान्तरण भएको छ । राज्यका युवाले राष्ट्रिय एवम् अन्तरराष्ट्रिय स्पर्धामा आफ्नो उत्कृष्ट सीप प्रदर्शन गरेर खेलकुदमा भएको रुपान्तरणलाई पुष्टि गरेका छन् । 

ढुङ्गा हान्ने, चरमपन्थीसँग सङ्गत गर्ने र आतङ्कवादी गतिविधिमा  संलग्न हुने आक्षेप खेप्दै आएका राज्यका युवालाई केन्द्रीय प्रशासन र भारत सरकारले खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शनको पर्याप्त अवसर प्रदान गरेसँगै धुमिल बनेको उनीहरूको छविले प्रतिष्ठा पाएको हो । 

रचनात्मक कार्यमा युवालाई सरिक गराउने सरकारी नीतिका कारण  विगत चार वर्षमा अब्दुल मसाद, उमरान मलिक, वोरन्थ शर्मा, अविनाश सिंह र युद्ववीर सिंहलगायत पाँच जना क्रिकेटरले इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने अवसर पाएका छन् भने उमरान मलिक अन्तरराष्ट्रियस्तरमा आफ्नो छाप छोड्ने भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलरको परिचय बनाउन सफल भएका छन् ।

सरकारले पञ्चायत तहमा उत्कृष्ट खेलकुद पूर्वाधार उपलब्ध गराउने योजना बनाएसँगै गाउँदेखि केन्द्र शासित प्रदेश तहसम्म वर्षभर खेलकुद गतिविधि सञ्चालन भएका छन् । चार वर्षयता पूर्वाधार निर्माणको ठूलो योजना पनि कार्यान्वयन भइरहेका छन् । 

क्रिकेट र फुटबलजस्ता खेलकुदमा मात्रै नभई विगतमा उपेक्षित भलिबल, खो खो, कबड्डीजस्ता खेललाई पनि उत्तिकै महत्व दिइँदै आएको छ  भने जम्मुकश्मीरको लागि खेलकुद बजेट देशका धेरै ठूला राज्यहरू भन्दा बढी विनियोजन गरिएको छ  । खेलकुद पूर्वाधारलाई उच्च प्राथमिकताका साथ विस्तार गरिएको छ । 
विगतका सरकारको कमजोर नीतिका कारण जीर्ण बनेको बक्षी रङ्गशाला रु ५९ करोडको लागतमा स्तरोन्नति गरिएको छ ।  दशकौंदेखि युवाको केन्द्रबिन्दु बनेको रङ्गशालाले धेरै स्थानीय खेलाडीलाई देशभर प्रसिद्ध बनाइरहेको छ । 

“यो स्टेडियमले लाखौँको जीवनमा खेलकुदको भावनालाई प्रेरित ग¥यो र यो विरासत नयाँ पुस्तामा हस्तान्तरण भएको छ। यहाँको खेलकुद क्षेत्रको विकासमा विशेष प्रयास भएको छ, यसलाई द्रुत गतिमा अघि बढाउन तथा  विभिन्न क्षेत्रमा आफ्नो प्रतिभा प्रस्फुटन गर्न तल्लो तहका युवालाई विश्वस्तरको सुविधा र प्रशिक्षणको व्यवस्था गरिएको छ,” खेलकुद क्षेत्रका जानकार एलजी मनोज सिन्हाले भन्छन् । जम्मुकश्मीरलाई देशको खेलकुद केन्द्र बनाउनका सम्बद्ध अधिकारीले आफ्नो प्रयास दोब्बर गरिरहेका उनी बताउँछन् । 

जम्मुको मौलाना आजाद रङ्गशालालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मापदण्डअनुसार र श्रीनगरको बक्षी रङ्गशालालाई अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फीफा) मापदण्डअनुसार स्तरोन्नति भइरहेको छ । 

एसियाली खेलकुदलगायत अन्तर्राष्ट्रिय एवम् क्षेत्रीयस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्ने लक्ष्यका साथ राज्यमा प्रधानमन्त्री विकास कोषअन्तर्गत रु दुई अर्ब लगानी गरेर खेलकुदका अन्य पूर्वाधारलाई पनि विश्वस्तरका बनाउने प्रयास भइरहेको सिन्हा बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ