arrow

वैचारिक भूमरीमा नेकपा एस

मदनको जबजलाई दक्षप्रजापतिको टाउको देख्ने झलनाथले माधवलाई देखे रावणको टाउको

एमालेसँग नजिकिएर आफ्नै पार्टी नेतृत्वलाई गाली गर्ने झलनाथको प्रमुख शत्रु कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
madhav-jhalanath-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पोलिटब्युरो बैठक सकिने वित्तिकै युरोप भ्रमणमा निस्के । उनी भ्रमणमा जानुअघि पार्टीको स्थायी र पोलिटब्युरो बैठक बसेको थियो । 

त्यसअघि ६ दिनसम्म सचिवालय बैठक बसेको थियो । तर यी तीन वटै बैठकमा पार्टी कसरी चलाउने भन्नेमा केन्द्रीत भए पनि ठोस कार्ययोजना नबनाई उनी युरोप भ्रमणमा लागेका हुन् । नेपाली कांग्रेससँग मिलेर सत्ता गठबन्धन गरिरहेको एस पार्टीभित्रै कांग्रेसलाई प्रधान शत्रु घोषणा गर्नेदेखि पार्टीका कार्यकर्ताहरुलाई पलायन हुन नदिने बारेमा छलफल भए । 

तर यी दुवै विषयमा माधव नेपालले चासो नदिएपछि सम्मानित नेता झलनाथ खनाल पक्षले यो विषयलाई पार्टीभित्र चर्काउने भएको छ । खनालले स्थायी कमिटी र पोलिटब्युरो दुवै बैठकमा स्पष्ट रुपमा फरक मत राखेर विभाजनको औचित्य पुष्टि गर्न नसकेको बताएका थिए । 

साथै उनले कांग्रेसलाई प्रधान शत्रु घोषणा गर्नुपर्ने उल्लेख गरेर सरकारसँगको सहकार्य तोडाउन खोजिरहेका छन् । खनाललाई पार्टी सचिव रामकुमारी झाँक्रीले पनि साथ दिएकी छिन् । 

समाजवादी मोर्चा गठन गर्दा होस् वा पार्टी निर्माणमा खनालले निरन्तर प्रधान शत्रुको खोजी गरिरहेका छन् । 

सोही कारण ४ असारको मोर्चा घोषणा झण्डै बहिष्कार गरेका थिए । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी अध्यक्ष माधव नेपालले बल्लतल्ल उनलाई मनाएर कार्यक्रममा उपस्थित गराएका भए पनि उनी पार्टीभित्र असन्तुष्ट बन्दै गएका छन् । 

पार्टीभित्र फरक विचार र धारणा राख्नु पनि त्यसकै परिणामको रुपमा लिइएको छ । चम्पादेवीमा ६ दिन बसेको सचिवालय बैठकमा पनि खनालले पार्टीले प्रधान शत्रु तोकेर अघि बढ्नुपर्ने विचार व्यक्त गरेका थिए । तर उनी त्यहाँ एक्लै भएपछि त्यही विचार ल्याएर स्थायी कमिटी र पोलिटब्युरोमा राखेका हुन् । 

उनी दक्षिणपन्थी ध्रुवको नेतृत्व कांग्रेसले गरेकाले उसलाई प्रधान शत्रु तोकेर अघि बढ्नु पर्ने पक्षमा छन् । तर कांग्रेससँग संघदेखि प्रदेश सरकारमा नेकपा एसको गठबन्धन भएको विषयमा उनको प्रतिवेदन मौन रहेको छ । गत स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा कांग्रेस सहितको गठबन्धनबाट चुनाव लडेकाले पनि पार्टी अध्यक्ष माधव नेपाल कांग्रेसलाई प्रधान शत्रु मान्ने पक्षमा छैनन् । 

उनी आफैँ सम्मिलित भएर बनाएको सरकारको स्थायित्वको पक्षमा छन् । खासगरी आगमी एक वर्षभित्र प्रधानमन्त्री बन्ने दाउमा लागेका नेपाल माओवादी र कांग्रेस दुवैलाई चिढ्याउन चाहँदैनन् । 

खनालको फरक विचार आएपछि स्थायी कमिटी बैठकमा महासचिव घनश्याम भुसालले मध्यमार्गी बाटो पहिल्याउँदै कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत जहाँसुकै ‘दलाल पूँजीवाद’ रहेकाले दलाल पूँजीवादलाई नै प्रधान शत्रु मानेर जानुपर्ने राय पेस गरेर माधव नेपाललाई सहजीकरण गरेका थिए । 

स्थायी कमिटी र केन्द्रीय कमिटीमा सोहीअनुसार राजनीतिक प्रतिवेदन ल्याउने एक चरणको सल्लाह पनि भएको थियो । तर सम्मानित नेता खनालले पार्टी नेतृत्वलाई गाली गर्ने गरी रावणको टाउको भन्दै माधव नेपाललाई चिढ्याउने काम गरेका थिए । 

खनाल तिनै नेता हुन् जसले पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवाद कार्यक्रम अघि सार्दा त्यसलाई ‘दक्ष प्रजापतिको टाउको’ भनेर फरक मत ल्याएका थिए । 

आठौँ महाधिवेशनपछि पार्टी अध्यक्ष बनेपछि उनले जबजलाई समृद्ध बनाउनकै लागि आफूले रचनात्मक आलोचना गरेको दाबी गरेर चार वर्ष अध्यक्ष भएका थिए । उनी पछिल्लो समय नेकपा एमालेसँग नजिक छन् ।

‘एमालेको नेतृत्वसँग हाम्रो पार्टीको अन्तरविरोध चर्को छ, तर राजनीतिक शक्तिको हिसाबले त्योसँगको अन्तरविरोध पनि मित्रतापूर्ण अन्तरविरोध नै हो’, खनालको दस्तावेजमा उल्लेख छ । उनले एमालेलाई शत्रुशक्तिजस्तो ठानेर दक्षिणपन्थी शक्तिलाई मित्र ठान्ने र एमालेलाई मुख्य निशाना ठान्ने दक्षिणपन्थी दृष्टिकोणबाट हाम्रो पार्टी सतर्क रहनुपर्ने र  आजको मुख्य संघर्ष नै दक्षिणपन्थी र वामपन्थीबीचको संघर्ष नै भएको उल्लेख गरेर एमालेतिर सकारात्मक आशयसहितको धारणा राखेका छन् । 

उनले नेकपा एसले कार्यनीतिक कार्यदिशाका आधार तय गर्नुपर्ने धारणा पार्टीमा राखेका छन् । प्रधान राजनीतिक अन्तरविरोध निर्क्योल गर्नुपर्ने, प्रधान शत्रु वा प्रतिद्वन्द्वीको निर्धारण गर्नुपर्ने, मुख्य कार्यनीतिक लक्ष्य र नारा प्रस्ट पार्नुपर्ने तथा संघर्षको मुख्य रूप तोक्नुपर्नेमा खनालले जोड दिएका छन् ।

तर माधव नेपालले जोसँग मिलेर सरकार बनाइएको छ उसैलाई प्रधान शत्रु घोषणा गरेर जान नसकिने भन्दै खनालको प्रस्तावलाई स्थायी कमिटी बैठकबाटै अस्वीकार गरेका थिए ।
बैठकमा केही नेताहरुले संसद बैठक नै बस्न नदिने काम गरिरहेको भन्दै एमालेको पनि आलोचना गरेका थिए ।

तर उनीहरुले एमालेको आलोचना भन्दा पनि बढी आफ्नो राजनीतिक भविष्यको चिन्ता गरेका थिए । संसद्को भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको थियो । 

पार्टीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार बैठकमा नेताहरुले संसदमा पार्टीको भूमिकालाई लिएर प्रश्न उठाइएको बताएका छन् । तर उनले खनालको प्रतिवेदनबारे कुनै टिप्पणी गर्न चाहेनन् । 

‘सांसदलाई संसद् जस्तो गरिमामय बनाउने हिसाबले विषयवस्तुको उठान गर्नेजस्तो कुरा त्यहाँ हुन सकेन भनेर भन्ने खालको कुरा र हाम्रो पार्टीले पनि के भूमिका गर्यो त ? हाम्रो पार्टीको भूमिका पनि त कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा पनि कुरा उठेका छन् । त्यसैले संसद्को गतिरोध यो जुन विषयमा उत्पन्न भएर, जुन विषयलाई निहुँ बनाएर उत्पन्न गरिएको छ । त्यो गतिरोध त्यसरी उत्पन्न गर्ने खालको कुरा होइन । सदनको एक मिनेटको बिजनेस भनेको पनि असाध्य महत्त्वपूर्ण कुरा हुन्छ । अब त्यो चाहिँ प्रतिपक्षले जे गरिरहेको छ । त्यो चाहिँ बेठिक गरिरहेको छ भन्ने तहबाट पनि कुरा उठेका छन्, बैठकमा सम्मानित नेता झलनाथ खनालले फरक विचार राख्नु भएको थियो यो विषयमा मेरो कुनै पनि टिप्पणी छैन,’तुलाधरले भने । 

पार्टी स्थायी कमिटी बैठकमा पार्टीको आसन्न १० औँ महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भएको थियो ।  एकीकृत समाजवादीले पार्टीको आसन्न १० औँ महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यस अघि पार्टीको सचिवालय बैठक बोलाएको थियो । तर खनालले माघअघि नै विशेष महाधिवेशन गरेर एक पद एक व्यक्तिको अवधारणा लागु गर्ने प्रस्ताव गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ