- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीको आज पुनः शल्यक्रिया भएको छ । करिब छ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया भएको हो ।
डा. भण्डारीको शल्यक्रिया सफल भएको भन्दै उनका सहयोगी माधव न्यौपानेले होश आएसँगै आईसीयूमा राखिएको जानकारी दिएका छन् ।
पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गरिएको अस्पतालका प्रमुख प्राडा शङ्कर राईले बताए । उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा तिमोथी स्प्रौलसमेत आएका छन् ।
नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा स्प्रौल आफ्नै खर्चमा डा भण्डारीको शल्यक्रिया गर्न आएको जनाइएको छ ।
डा स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको नेता भण्डारीका सहयोगी वोधराज कँडेलले जानकारी दिए ।
डा भण्डारीको शल्यक्रिया डा स्प्रौलसँगै प्राडा बीडी झा, प्राडा शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा प्रविन गिरी, डा निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले गरेको हो ।
गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा भण्डारीको शुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार फागुन ४ गतेदेखि भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो ।
भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत बैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।
कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा राईसँग परामर्श र निगरानीमा नै उनलाई फ्रन्टलाइनमा उपचार गराइएको थियो । अस्पतालमा उनलाई फिजियोथेरापी, ड्रेसिङलगायतका उपचार गराइएको थियो ।
उनको उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो । राज्यले दिएको रकम फिर्ता दिएकाले उनलाई सहयोग गर्न चाहनेहरू झन् बढेको उनका निकटस्थहरूले बताएका छन् ।