arrow

नेपाली भाषा उत्थानको लागि मुकुन्दशरण उपाध्यायले देखाएको बाटो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
mukunda-sharan-guruji-1.gif
काठमाडौं । मंगलबारको दिन अपराह्न झण्डै ३ बजेतिर हामी कवि तथा नेपाली भाषाका अथक साधक प्राध्यापक मुकुन्दशरण उपाध्यायको निवास गहना पोखरीमा पुगेका थियौं । हामी पुग्दा उपाध्याय नेपाली भाषाका एक ठेली पुस्तक अगाडि राखेर केही पढ्दै थिए ।
 
उमेरले ७ दशक नाघिसकेको स्पष्टसँग देखिने उपाध्याय अध्ययनसँगै आफूलाई भेट्न आएका आगन्तुकहरूलाई पनि आफ्नो भाषिक सुधारको आन्दोलन, नेपाली भाषाको अहिलेको अवस्था र इतिहासको कुरा सुनाएर भाषिक भोक मेटाउने काममा व्यस्त देखिन्थे । समय लिएरै उनलाई भेट्न हामीहरू पुग्दा पनि उनी भाषिक सुधारको विषयमा नै कुरा गरिरहेको र भाषाविज्ञानको दीक्षा दिइरहेको अवस्थामा थिए । 
 
उनी नेपाली भाषा अस्तव्यस्त हुँदै गएको र यति अराजकताको शिकार भएको अवस्था हुँदा पनि लामो समयसम्म ठूला ठूला लेखकहरू, सरकार र जनप्रनिधिहरू सबै मूकदर्शक बनेकोमा भने अत्यन्त दुःखित थिए । 
 
हाम्रो एक प्रश्नमा उनले हामीलाई बताए ‘‘आज भन्दा झण्डै ४० वर्ष पहिले अर्थात् २०३४ सालमा जब त्रिविको नेपाली विभागले नेपाली भाषाको अभिव्यक्ति क्षमतामा सगाउन आएका मित्रभाषाका शहर, शहीद, शेयर, शरम, स्कूल, कमिशन, होश, जोश आदि र नेपाली पूर्वजहरुले संस्कृतबाट विकसित गरेका ठीक, बीच, तीज, तीन, तीस दूध, पूmल धूलो, ठूलो जस्ता हजारौं शब्दलाई मनमानी ढंगले अंगभंग गरेर शकारलाई सकार र दीर्घ मात्रालाई ह«स्वमात्रामा परिवर्तित गर्ने जस्तो अव्यावहारिक र नेपाली जाति र नेपाली भाषाको हितविपरीतको नीति ल्याएको थियो र त्यहींदेखि नेपाली भाषा अस्तव्यस्त हुन थालेको हो .’’ 
 
उनले अपर्झट ल्याइएको र एक प्रकारले लादिएको रूपमा आएको उक्त नीतिमा चिन्तन गरेर तत्कालै अस्वीकार गर्ने निर्णय लिएका थिए र सभामा नै भनेका थिए ‘‘यो भाषिक योजना नेपाली भाषाका हितमा छैन र भाषाविज्ञानको सर्वमान्य सिद्धान्तको सर्वथा विपरीत छ यसर्थ यस प्रस्तावलाई फिर्ता गर्नु पर्छ’’ उनले सभालाई भनेका थिए ‘‘एसबाट नेपाली भाषा आफ्ना पूर्वजहरूको परम्पराबाट पनि छुट्टिन्छ र संसार भरि छरिएर बसेका नेपालीभाषी जनताहरूबाट पनि अलग हुन पुग्छ’’ तर उनको कुरा त्यहाँ सुनिएको थिएन । हामीलाई उनले आफ्ना कुरा अझै स्पष्ट पार्नका निम्ति केही उदाहरण पनि दिए ।
 
नेपाली कवितामा उत्कृष्ट प्रयोगका लागि राष्ट्रको सर्वोच्च साहित्यिक सम्मान मदनपुरस्कार द्वारा कलिलै उमेरमा सम्मानित भएका तथा संस्कृतमा उत्कृष्टग्रन्थहरु लेखे बापत पाणिनि पुरस्कार समेत पाएका कवि मुकुन्दशरण उपाध्याय अहिले काव्यचिन्तनमा कम र भाषिक चिन्तनमा बढी समय खर्चिरहेका भेटिन्छन् । 
 
उनको आन्दोलनलाई दुई भागमा बाँडेर बुझ्न सकिन्छ । उनी भन्छन् ‘‘नेपाली भाषामा दुई पटक अतिक्रमण भएको छ । पहिलो अतिक्रमण राणाशासन को हुकुमी युगमा भयो र त्यस अतिक्रमणमा लामो परम्परादेखि चल्दै आएका मौलिक नेपाली सर्वनाम (इनले, इनलाई, इनको, तेसले, तेसलाई, तेसको तथा एसले, एसलाई, एसको आदि) लाई विना अपराध नेपाली भाषाबाट धपाएर तिनका ठाउँमा यस, त्यस, यिनले, यिनलाई इत्यादि बनाउने दुष्कार्य भयो । 
 
साथै उनी भन्छन् ‘‘अर्कातिर राणायुगमै लामो परम्परादेखि स्वतन्त्र लेखिँदै आएका नामयोगी अव्ययहरू (तिर, तर्फ, समेत, बाहेक, नेर, सँग आदि) र त्यही स्वभावका विभक्ति अव्ययहरू (लाई, बाट, देखि, को, मा आदि) लाई स्वतन्त्रै रहन नदिई कुनै अर्को शब्दमा टाँसिनु पर्ने अन्याय गरियो।’’ 
 
उनले दोस्रो अतिक्रमण भनेर २०३४ सालमा आगन्तुक भनिने गरेका मित्रशब्द माथि र परम्परादेखि आएका नेपाली तद्भव शब्दमाथि त्रिवि नेपालीविभागको पूर्वोक्त आक्रमणलाई बुझाएका थिए । उनले हामीसँग यी दुवै थरी आक्रमण वा अतिक्रणबाट नेपाली भाषालाई सुरक्षित गर्नु आफ्नो उद्देश्य रहेको बताए् ।       
 
उपाध्याय नेपाली भाषा जोगाउनकै लागि आफू ४ दशकसम्म एक्लो यात्रा तथा एक्लो आन्दोलनमा होमिएको अनुभव सुनाउँछन् । एक्लै यात्रा गर्दै जाँदा भाषिक आन्दोलनको बाटोमा कसैले केही समय साथ पनि नदिएका होइनन् उनलाई । तर उनीहरू लामो समयसम्म कटु यथार्थमा अडिन सकेनन् र त्रिविपक्षमै फर्केर बिलाए अथवा त्यस्तो विवशता उनीहरूमा आयो ।’’ तर आफ्नो मार्गलाई सुदूरसम्म देखेर अघि बढेका उपाध्याय अझै पनि भाषिक आन्दोलनको दौरानमा रहेका छन् र सक्रिय छन् । 
 
उनी वर्षाैसम्म एक्लै लडिरहँदा आफ्ना धेरै मागहरू र आफ्ना धेरै धारणाहरू माथि समाजका आदरणीय बुज्रुकहरूलाई समेत सहमत बनाउन सकेको कुरा बुझाउँछन् र वरिष्ठ साहित्यकार जगदीश  शमशेर राणा र व्याकरणकार मंगलकुमार उपाध्याय जस्ता सम्मानित व्यक्तिहरुले त्रिविको वा प्रज्ञाको व्याकरण परित्याग गरेर उनको आफ्नो मान्यताको व्याकरणमा अनेकौं उत्कृष्ट कृतिहरु प्रकाशित गरेको सन्दर्भ जोड्छन् । 
 
हामीले उनको पुस्तकालयमा नेपाल र नेपाल बाहिरका अनेकौं लेखकहरुले उनले भनेजस्तै हिज्जेमा छपाएका कृतिहरू संकलित गरिएको समेत देख्न पायौं, भाषिक अभियन्ता उपाध्यायले ‘‘ती हरेक कृतिमा तिनका स्वनामधन्य लेखकहरूले उनको (कवि उपाध्यायको) व्याकरणमा आफूले सो कृति प्रकाशित गरेको उल्लेख समेत गरेको’’ कुरा बताए । 
 
भाषाका अथक साधक कवि मुकुन्दशरण उपाध्यायले हाम्रो एउटा प्रश्नमा प्राडा. गोविन्दराज भट्टराई, भाषाविद् शरतचन्द्र वस्ती, डा.बलदेव गाउँले, कोशकार चूडामणि गौतम, प्राडा. यमबहादुर छेत्री, भाषाविद् नारायण अधिकारी, प्राज्ञ दधिराज सुवेदी र वरिष्ठ पत्रकार जयप्रसाद दहाल आदि धेरै विद्वान्हरूले आफूलाई समय समयमा प्रेरणा थपेको स्मरण गर्न पनि छुटाएनन् । 
 
उनले सुनसरी इनरुवाबाट छापिने साहित्यसौगात पत्रिकाको भाषाविशेषांक र साहित्यकार दीनदयाल रेग्मी द्वारा लिखित भाषिक कृति ‘नेपाली व्याकरणमा दुई धार’ ले धेरैको ध्यान आफ्नो आन्दोलनतर्पm आकृष्ट गरेको चर्चा उठाउँदै भने ‘‘विगत चार वर्षदेखि भने म एक्लो छैन, अहिले ठूला ठूला लेखकहरूको ध्यान त्रिवि र नेपाल प्रज्ञाप्रतिष्ठानबाट भएका ज्यादतीप्रति आकृष्ट भएको छ र स्वयं त्रिविका वरिष्ठ नेपाली गुरुहरू पनि २०३४ सालमा भएको कार्य गलत थियो भनिरहनु भएको अवस्था छ ।’’ 
 
उनले यसरी ध्यान आकृष्ट हुनुमा पूर्वोक्त ‘साहित्यसौगात’ पत्रिकाको भाषाविशेषांक र साहित्यकार दीनदयाल रेग्मी द्वारा लिखित ‘नेपाली व्याकरणमा दुई धार’नामक कृतिको पनि ठूलो सहयोग रहेको बताए । भाषाविशेषांकमा राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी र भाषासेवी बालकृष्ण पोखरेलले त्रिभुवन विश्वविद्यालयको भाषिकनीति भाषाको हितमा नदेखिएको बताएर प्रकारान्तरले आफ्नो यात्रालाई समर्थन दिएको मान्ने श्री उपाध्याय अनुसार अब चाँडै नै त्रिवि र प्रज्ञाप्रतिष्ठान आफ्नो भाषिक नीतिमा परिवर्तनको बाटो अँगाल्न तयार हुन्छन् अथवा विवश हुन्छन्, । 
 
उनी भन्छन् यसरी विवश बनाउने कार्यमा ललितपुर घोषणाका संयोजक शरतचन्द्र वस्ती, भाषा बचाऊँ अभियानका संयोजक डा.बलदेव गाउँले समेतका अभियन्ताहरू र विद्वान् लेखक विद्यानाथ कोइराला, गोविन्दराज भट्टराई र अभिसुवेदी आदिले पत्रपत्रिकाहरुमा प्रकाशित गरेका ओजस्वी लेखहरू पनि प्रेरक रहेका छन् । साथै त्रिविका वर्तमान गुरुहरू जसले त्रिविमै रहेर त्रिविनीतिका त्रुटि औंल्याउन थाल्नुभएको छ उहाँहरू सबैको योगदान यस कार्यमा ऐतिहासिक महत्वको हुनेछ ।  
 
एसरी लामो समयसम्म एक्लै सक्रिय रहनु परेर पनि हाल केही वर्षदेखि सक्रिय रहनुहुने विद्वानहरु प्रति कृतज्ञता व्यक्त गर्ने कवि उपाध्यायको जीवनीले हरेक सफलताको मुख्य कडी धैर्य नै हो भन्ने कुरा सिकाएको छ । उपाध्याय सम्झिन्छन् ‘‘२०३४ सालको नेपाली हिज्जेको स्वरूप बदल्ने नीतिको समयमा एक्लो फरक विचारक बन्दा मेरो समर्थनमा बोल्न समेत कसैले पनि आँट नगरेको अवस्था थियो, बरू त्यसताका बालकृष्ण पोखरेल, वल्लभमणि दाहाल आदि नेपाली भाषा र साहित्यका साधक एवं तत्कालीन समयमा त्रिभुवन विश्वविद्यालयको नेपाली विभागको बागडोर सम्हालेकाहरूले कवितामै लागिरहन र भाषामाथिको हस्तक्षेप बन्द गर्न बारम्बार भनिरहेको अवस्था थियो ।’’ 
 
उनी भन्छन् ‘‘त्यतिका प्राडाहरुले यदि भाषिक यथार्थतिर ध्यान नदिई विचार गर्ने हो भने म एउटा व्यक्तिले भनेको कुरा नमान्नु एक प्रकारले अस्वभाविक पनि थिएन ।’’ 
 
विभक्ति र नामयोगी टाँसेर नलेख्ने विषयमा 
 
विभक्ति अथवा नामयोगीलाई स्वतन्त्र लेख्ने विषयलाई हिन्दीको अनुकरण भन्नेहरू पनि छन् नि ? भन्ने हाम्रो एक प्रश्नमा उपाध्यायले भने ‘‘यस्तो अबुझ कुरा गर्नु नेपाली भाषाको नै अपमान हो’’े उनले हामीलाई नेपाली भाषा हिन्दी भन्दा जेठो भाषा हो भन्ने कुरा बुझाउने प्रयत्न गर्नुको साथै विसं. १९६०–६५ ताका हिन्दीभाषामा विभक्ति टाँसेर लेख्ने अभियान चलेको र त्यसैको देखासिकीमा हाम्रो चन्द्रिका व्याकरण (विसं. १९७०) मा टाँस्ने नक्कल गरिएको इतिहास पनि बताए । 
 
उनले भने ‘‘हाम्रै राष्ट्रियभाषा अवधी, भोजपुरी र राजवंशी आदिमा पनि विभक्ति जोडेर लेख्ने चलन छैन ।’’ श्रीउपाध्यायले नेपालीको लिखित इतिहासका कुरा सुनाउँदै  सम्वत् १०३८ मा दुल्लु शिलालेखसम्मको कुरा बुझाउने चेष्टा गरे । उनका अनुसार त्यसताका लेखिने कतिपय शिलालेखहरुमा कि त शुरूदेखि अन्त्यसम्म एउटै डिको भेटिन सक्छ कि विभक्ति, नामयोगीहरू सबै नै स्वतन्त्र लेखिएका भेटिन सक्छ । 
 
हिन्दी व्याकरणमा पनि कमी कमजोरी रहेको बताउँदै भाषाविद् उपाध्यायले हिन्दुस्तान नामक प्रतिष्ठित हिन्दी अखबारमा विसं २०४८ ताका आफूले हिन्दी व्याकरणका त्रुटिहरू औंल्याएर लेखहरू छपाएको र त्यसमा भारतीय विद्वान्हरूले समर्थन गरेको र उनका विचारहरू भारतीय भाषाविदहरूबीच पनि लोकप्रिय रहेको कुरा पनि उनले हामीलाई बुझाए ।
 
नेपाली व्याकरणका सन्दर्भमा उनले अगाडि बताए ‘‘विभक्तिलाई स्वतन्त्र प्रयोग गर्नु भनेको वाक्यशुद्धिको विषय हो र शकार, वकार, षकारमाथि भएको अन्याय वा दीर्घ मात्रामाथि भएको अन्याय हटाउनु भनेको शब्दशुद्धिको विषय हो । अहिले नेपालका प्रतिष्ठित विद्वानहरू जो यतिखेर मैले झैं नै भाषिकशुद्धिको अभियानमा लाग्नुभएको छ उहाँहरुले पहिले शब्दशुद्धि अनि त्यसपछि वाक्यशुद्धि भन्ने प्रस्ताव गर्नु भएको हुँदा हाललाई मैले पनि त्यही बाटो उचित मानेको छु, यो स्वाभाविक पनि हो, शब्दहरू अशुद्ध राखी राखी वाक्यहरू शुद्ध बनाउन सम्भव हुँदैन ।’’
 
राजनीतिक रूपमा पूरा तटस्थ रहँदै आएका र नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञसभामा सदस्य पनि रहिसकेका कवि उपाध्याय प्रतिष्ठानको गठनमा राजनीतिक भागबण्डा हुने गरेकोमा चिन्तित छन् । उनी भन्छन्  ‘‘यसो गर्नु भनेको राष्ट्रकै निम्ति अत्यन्त लज्जास्पद विषय हो’’ ।
 
 
 
 
 



नयाँ