एजेन्सी । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत चौथो चरणको दुवै खेलमा नामिवियामाथि महत्वपूर्ण जित निकाल्दै पपुवान्युगिनी लिगको शिर्ष स्थानमा उक्लिएको छ । सिरिजको चौथो चरणका खेल खेल्न पपुवान्युगिनी पुगेको पाहुना टोली नामिवियाले दुवै खेल गुमायो ।
आइतबार भएको दोस्रो खेलमा पपुवा न्युगिनीले नामिवियामाथि ६ विकेटको शानदार जित हासिल गरेको हो । शुक्रबार भएको पहिलो खेलमा पनि पपुवा न्युगिनीले ५ विकेटको जित निकालेको थियो ।
पाहुना टोलीले दिएको २ सय १३ रनको चुनौती पपुवा न्युगिनीले ४ विकेट गुमाएर १२ बल बाँकी छँदै पुरा गर्यो । पपुवान्युगिनीका लागि बानी मोरियाले सर्वाधिक ६७ र कप्तान असद भालाले ५५ रनको योगदान गरे । सेसे बाउले अविजित रहँदै महत्वपूर्ण ४० रन जोडे ।
टस जितेर ब्याटिङ रोजेको नामिवियाले निर्धारित ५० ओभरमा पुरै विकेटको क्षतिमा २ सय १२ रन बनायो । उसका लागि निकोलस स्कोल्जले ६१ रन जोडे । ओपनर स्टेफेन बार्डले ५४ रन बनाएपनि अन्य व्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन ।
दुवै खेलमा जित हासिल गरेसँगै पपुपान्युगिनी लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिगको चौथो चरण अन्तर्गत आठ खेलबाट १२ अंकसहित पपुवा न्युगिनीले आफुलाई शिर्ष स्थानमा राखेको छ । समान अंकसहित नेदरल्याण्ड्स लिगको दोस्रो स्थानमा छ ।
स्कटल्याण्ड लिगको तेस्रो स्थानमा छ । उसको ११ अंक छ । ६ खेल खेलेको हङकङ ९ अंकसहित लिगको चौथो स्थानमा छ । उसले चौथो चरणमा आगामी नोभेम्बरमा केन्यासँग खेल्ने छ ।
चौथो चरणको खेल पुरा गरिसकेको नेपाल तालिकाको छैटौं स्थानमा छ । ३ मा जित र ५ खेलमा हार व्यहोरेको नेपालको मात्र ६ अंक छ । केन्याको समेत समान ६ अंक छ । यद्यपि, उसले चौथो चरणको दुई खेल खेल्न बाँकी छ ।
लिगको शीर्ष चार टोलीले सन् २०१८ मा इंग्ल्याण्डमा हुने एक दिवशीय विश्वकपको छनोट खेल्न पाउनेछ ।
नेपालको भने शीर्ष चारमा पर्ने सम्भावना कठिन छ । नेपालले लिगमा बाँकी ६ खेल हङकङ, केन्या र युएईसँग खेल्नेछ । लिगमा युएई कमजोर देखिएपनि हङकङ र केन्या भने लयमै छन् । यी दुबै टोली तालिकामा समेत नेपालभन्दा माथि छन् ।