arrow

भ्रम फैलाउँदै चीन

एमसीसी : चिनियाँ नजरमा चीन घेर्ने अमेरिकी परियोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
china-flag.jpg

काठमाडौँ । १४ सेप्टेम्बर २०१७ मा अमेरिकाको राजधानी वासिङ्टनमा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकाबाट एमसीसीका सीईओ जोनाथन नाशले सम्झौतामा हस्ताक्षर गरेलगत्तै एमसीसी नेपालमा भित्रिन नदिन चीन सरकार मिडियामार्फत आक्रामक विरोधमा उत्रियो । 

अमेरिकाले दिने झण्डै रु ६० अर्ब अनुदानमध्ये रु ४५ अर्ब अन्तरदेशीय प्रसारण लाइन र बाँकी सडक मर्मत र अन्य विषयमा खर्च गरिने एमसीसी सम्झौतामा उल्लेख छ । 

साथै, एससीसी परियोजनामा नेपालले आफ्नो तर्फबाट थप रु १५ अर्ब लगानी गर्नुपर्ने शर्तनामा लेखिएको छ । २९ सेप्टेम्बर २०१९ मा केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेर तत्कालीन सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी १५ जुलाई २०१९ मा अनुमोदनका निम्ति संसदमा दर्ता गराएको थियो । 

तर, चीनले अमेरिकाको यो अनुदानभित्र ठूलो राजनीतिक स्वार्थ लुकेको भन्दै संसदबाट अनुमोदन नगर्न प्रत्यक्ष परोक्ष नेपाली नेतृत्वमाथि दबाव बनाएको थियो । 

संसदबाट अनुमोदन गराउन दलका नेतृत्वबीच भएका छलफलमा चिनियाँ सरोकार प्रकट हुने गरी छिरेपछि नेपाली भूमि अमेरिका र चीनको भू–राजनीतिक वाक अखडामा परिणत हुन गयो । 

अमेरिकाले भारतको सहयोगमा चीन घेर्ने सैन्य रणनीति बमोजिम पूर्वाधारको आवरणमा नेपालभूमि प्रयोग गर्न थालेको बुझाइमा चीनले एमसीसीको विरोध गरेको खुलेआम देखियो । 

त्यसैले यसलाई संसदबाट रोक्न चीनले सक्दो बल लगाएको थियो । उत्तरी छिमेकी चीनको एमसीसीलाई हेर्ने दृष्टिकोण र नेपालमा राजनीतिक दलहरुबीचमै सहमति नजुटेका कारण ओली नेतृत्वको सरकारका पालामा यो परियोजना संसदबाट अनुमोदन हुन सकेन । 

शुरुमा मिडियाको प्रयोग गरेर एमसीसी अनुमोदन गरे नेपालभित्र अमेरिकी हस्तक्षेपको नाङ्गो नाच शुरु हुनेछ भनी बताउने–सिकाउने चिनियाँ पक्षले जनतामाझ एक खालको मानसिकता बन्न शुरु गरेपछि भने यो परियोजनाविरुद्ध खुलेरै चिनियाँ पक्षधरता राख्न थाल्यो । 

एमसीसीलाई प्राणघातक परियोजनाको रुपमा ब्याख्या गर्ने सिन्ह्वाको नेपाल प्रमुख रही १० वर्ष काम गरेका संचारकर्मी चाउ सेउपिङ आफ्नो पुस्तकमा नेपालका निकट छिमेकीहरुले एमसीसीबारे किन चासो राख्नुपर्छ ? भन्ने प्रश्नको जवाफमा लेख्छन्– “यसको उत्तरको केही भाग के हो भने यो अमेरिकी सरकारको अधिनमा रहेको कम्पनी नेपालको कानूनभन्दा माथि रहन्छ, जसले नेपालको कानून अनुसार कार्य सम्पादन गर्ने छैन । यस परिस्थितिमा नेपालका निकटवर्ती छिमेकी चीन र भारतले एमसीसीका गतिविधि र यसबाट उत्पन्न हुने नतिजाहरुप्रति चनाखो हुनैपर्छ । भूराजनीतिक रुपमा नेपालका लागि बुद्धिमतापूर्ण उपाय भनेको एमसीसीलाई स्वीकार गर्नुबाट पछि हट्नु नै हो– सम्पूर्ण रुपमा ।”

यसरी एमसीसीको नकारात्मक चित्रण गर्ने चिनियाँ पत्रकार तथा बौद्धिकहरुले कहिले पनि नेपाली जनतालाई यो तथ्य बताउन चाहेको देखिएन – एमसीसी अनुदान हो भने २०१७ मा चीनसँग नेपालले गरेको बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) अनुदान होइन, ऋण हो । 

ऋणको पासोमा फसेर निस्कन नसकेका देश विश्वभर बढ्दै गएका छन् । एमसीसीविरुद्ध चिनियाँ आक्रामकता बढ्दै गएपछि त्यसमाथि टिप्पणी गर्दै २०२२ को फेब्रुअरीको दोस्रो साता अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले ‘नेपालमा एमसीसीविरुद्ध मिथ्या सूचना फैलनुमा चीनको हात रहेको आफ्नो देशले ठानेको’ बताएपछि विश्वका पहिलो र दोस्रो शक्तिशाली देशबीच चलेको वाकयुद्ध दुनियाँले देख्ने गरी सार्वजनिक भयो । 

उनले भारतीय दैनिक पत्रिका हिन्दूस्तान टाइम्सलाई नेपालमा एमसीसीविरुद्ध भइरहेका विरोधको जवाफ दिँदै भनेका थिए– ‘चीनले एमसीसीविरुद्ध मिथ्या सूचना फैलाउने अभियानमा सक्रिय रुपमा उक्साएको वा प्रोत्साहन गरेको वा लगानी गरेको वा सहजीकरण गरेको वा ती सबै गरेको अमेरिकालाई लाग्छ ।’

चीन लक्षित अमेरिकी प्रवक्ताको भाषामा नेपालका निम्ति पनि चेतावनी लुकेको थियो । उनले चेतावनीको भाषामा बोले – “यदि बाह्य प्रभाव र भ्रष्ट्राचारको प्रभावमा पारेर सांसदहरुले यो विद्युत प्रसारणलाइन निर्माण परियोजना विरुद्ध मत जाहेर गरे भने त्यो ज्यादै चिन्तानक हुनेछ र नेपाली जनताका लागि क्षति हुनेछ ।’

उनले बाह्य प्रभाव भनी चिनियाँ प्रभावलाई संकेत गरेका थिए भने नेपाली सांसदहरु सत्ता र शक्तिको लोभमा फस्न सक्ने चेतावनी दिन पनि चुकेका थिएनन् । 

उनको यो कथन आउनु सन् २०२२ फेब्रुअरीको पहिला साता दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले तत्कालीन प्रधानन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर चेतावनीयुक्त यही भनाइ कानमा पारेका थिए । 

नेपाली संचारमाध्यममा लेखिए अनुसार, नेपालले संसदबाट एमसीसी अनुमोदन नगरे अमेरिकाले आफ्नो नेपाल नीति मै पुर्नविचार गर्ने चेतावनी दिएको थियो ।

आफूलाई जोडेर अमेरिकाको यस्तो चेतावनी आएपछि चिनियाँ सरकारको अंग्रेजी मुखपत्र ग्लोबल टाईम्समार्फत चिनिया इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिजका एसिया प्रशान्त विभागका प्रमुख लान जिआनसूले एउटा लेखमार्फत सन् २०१९ मा अमेरिकी विदेश मन्त्रालयका दक्षिण एशिया हेर्ने कार्यवाहक उपसहायक मन्त्री डेभिड जे रान्जले बोलेको भनाई उधृत गर्दै ‘नेपालमा एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गत कार्यान्वयन भइरहेको सबैभन्दा महत्वपूर्ण परियोजना भएको’ बताए । 

उनले यो परियोजना सैन्य रणनीति अनुरुप आएकोले यसको अन्तर्यमा खतरनाक योजना लुकेको जवाफ फर्काए । उनले लेखेका छन्, ‘एमसीसी शुरुआतदेखि नै पूर्वाधार निर्माणको आवरणभित्रको एउटा भूराजनीतिक साधन थियो । पूर्णरुपमा एमसीसीलाई अनुमोदन गर्नु नेपाललाई चीनविरोधी अमेरिकी कित्तामा उभ्याउनु हो ।’

उनले लेखमा अमेरिकालाई पूर्वाधार निर्माणको आवरणमा चीन वरपर समस्या निम्त्याउन लागिपरेको आरोप लगाएका छन् । 

एमसीसी विरुद्ध चिनियाँ संलग्नतालाई लिएर प्राज्ञ जिआनसुले अमेरिकाले चीन र नेपालबिच बेमेल र विवाद जन्माउने उद्देश्य राखेर चीनलाई बदनाम गराइरहेको आरोपसमेत लगाएका छन् । 

उनले लेखेका छन्, ‘उनीहरु (नेपाल) चीन वा अमेरिकामध्ये एउटा रोज्न चाहँदैनन् वा अमेरिकाको प्यादामा खुम्चिन चाहँदैनन् । 

चीनका छिमेकीलाई चीनविरुद्ध प्रयोग गर्ने अमेरिकाको पुरानो रणनीति विफल भइसकेको छ र यसले भविष्यमा पनि काम गर्ने छैन ।

पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीतिमा चलिरहेको भनिएको देशको आन्तरिक मामिलामा दुई ठूला हात्तीको यो वादप्रतिवाद नेपालका निम्ति सानो दबाव थिएन । 

एकातिर चीनमुीख मिडियामार्पmत भएका एमसीसी विरुद्धका प्रचारबाजी र चिनियाँ पक्षले हरेक च्यानलमार्फत दिएको दबाव बढ्दो थियो भने अर्काेतर्फ पुरानो र शक्तिशाली मित्र अमेरिकाको तारम्तारको चेतावनी जारी थियो । 

वस्तुतः नेपाल साँच्चिकै ठूलो भूराजनीतिक दबावको चपेटामा थियो । अन्ततः झेली नसक्नुको दबाबबीच नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारको अगुवाईमा तत्कालीन प्रतिनिधि सभाले २० फेब्रुअरी २०२२ मा टेबुल गरिएको सम्झौता २७ फेब्रअरी २०२२ मा ११ बँुदे व्याख्यात्मक टिप्पणीसहित पारित गरेर चीनको एमसीसी रोक्ने योजनालाई असफल पारी दियो । (‘नेपाली मिडियामा चीनको प्रभाव र फेरिँदो नेपाल नीति’ नामक सेन्टर फर सोसियल इन्क्लुजन एन्ड फेडेरालिज्मको अनुसन्धान प्रतिवेदनबाट जस्ताको त्यस्तै)  



नयाँ