काठमाडौं । भारतीय योगगुरु रामदेवले इन्डोरिस्थित ‘ग्लोबल इन्भेस्टर सम्मेलन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै ठट्यौली र व्यंगात्मक धारणा राखे । समारोहलाई सम्बोधन गर्ने क्रममै रामदेवले अब पतञ्जलीले कपडा उद्योगमा व्यापक लगानी गर्ने सुनाए ।
रामदेवले पतञ्जलीले कोटदेखि लङगट (भित्रि वस्त्र)सम्म उत्पादन गर्ने बताउँदै अब कपडा पतञ्जलीको अर्को ठूलो केन्द्रविन्दु रहेको बताए । अर्को वर्ष पतञ्जलीले कपडामा ठूलो धमाका मच्चाउने बताउँदै उनले अधिकांशले अहिले जिन्सको मात्र कुरा गरेपनि अब पतञ्जलीले कुर्ता, पाइजामा, सारी, र कोटदेखि लङगटसम्म उत्पादन गर्ने जनाए ।
रामदेवले अरु कम्पनीहरु एकल अंकले वृद्धि भइरहेको अवस्थामा आफ्नो पतञ्जली भने सतप्रतिशतले वृद्धि भएको बताए । समारोहमा लामो भाषण दिएका रामदेवले कपडा उद्योगमा लगानी गर्ने बताएपनि कति लगानी गर्ने भन्नेबारे खुलाएनन् ।
उनले आयुर्वेदिक औषधि, प्राकृतिक खाना, प्राकृतिक पेय पदार्थ, होम केयर साथै डेरीको क्षेत्रमा समेत पतञ्जलीले काम गरिरहने जनाए । प्राकृतिक खाना उत्पादनमा आफुले करिब १० हजार मानिसलाई रोजगारी प्रदान गर्ने पनि उनले बताए ।
गत वर्षको तुलानामा यो वर्ष पतञ्जलीको कारोबार १ सय ५० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष २ हजार करोडको कारोबार गरेको पतञ्जलीले २०१५–१६ मा ५ हजार करोडको कारोबार गरेको छ ।