काठमाडौं । आसन्न सातौं राष्ट्रिय खेलकुदअन्तर्गतको क्षेत्रीय छनोट प्रतियोगिता तत्काललाई स्थगित भएको छ ।
प्रतियोगिता संचालनका लागि आवश्यक पर्ने राष्ट्रिय प्रतियोगिता निर्देशिका २०७३ र आर्थिक निर्देशिका २०७३ स्वीकृत नभएकाले तत्कालका लागि क्षेत्रीय छनोट स्थगित भएको सातौं राष्ट्रिय खेलकुद सचिवालय प्रमुख कमल खनालले जानकारी दिए ।
खनालले भने, ‘परिषद्ले समयमै मन्त्रालयमा पठाएको थियो । मन्त्रालयबाट ढिलाई भइरहेको छ । क्याविनेटबाट स्वीकृत गराउनु पर्ने भएकाले ढिलाई भएको छ ।’
मन्त्रालयको ढिलाईले अन्य व्यवस्थपन गर्ने कार्य ठप्प भयो, खनालले थपे, ‘प्रतियोगिता गर्न निर्देशिका अनुसार चल्नुपर्ने भएकाले निर्देशिका नै नभएपनि अन्य कुनै तयारी गर्न मिलेन । खेलाडीलाई के कति दिने । व्यवस्थापनका लागि कर्मचारीलाई कसरी जिम्मेवारी दिने भन्ने सबै निर्देशिका अनुसार हुन्छ ।’ अर्को महत्वपूर्ण आर्थिक व्यवस्थापनविना केही पनि हुँदैन ।
निर्देशिका चाँडै स्वीकृत भएको भए हामीले तोकेकै समयमा क्षेत्रीय छनोट सुरु हुन्थ्यो–खनालले भने । यद्यपि, मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको बताएका छन् ।
यस्तै, राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले दुवै निर्देशिका स्वीकृत नभए सम्मका लागि प्रतियोगिता रोक्नु परेको बताए । उनले भने, ‘आर्थिक कार्यविधि निर्देशिका अनुसार नै बन्ने भएकाले परिषद्ले तोकेको कार्तिक २३ देखि मंसिर ३ गतेसम्मको छनोट रोकिएको हो ।’ पटक–पटक सर्दै आएको सातौं राष्ट्रिय खेलकुद क्षेत्रीय छनोट ढिलाईले फेरि सर्ने संकेत आएको छ ।