arrow

काम गर्ने वातावरण खोज्दै फाजिल फरेस्टर सिंहदरबारभित्र नारा लगाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
fajil-forester-2080.jpg

काठमाडौँ । आफूहरुलाई काम गर्ने वातावरण बनाइदिन माग गर्दै वन तथा वातावरण मन्त्रालय अन्तर्गतका तीन सय ८४ जना फाजिल (दरबन्दीविहीन) फरेस्टरहरुले दैनिक सिंहदरबारमा विरोध गर्दै आएका छन् । 

लामो समयदेखि दैनिक ६० देखि ७० जना कर्मचारी मन्त्रीको कार्यकक्ष अगाडि विरोध, धर्ना र नाराबाजीसमेत गरे पनि उनीहरुको मागको सुनुवाइ भएको छैन । 

उनीहरु पाँच वर्षदेखि पाँच वर्षदेखि ‘फाजिल’ मा रहेका छन् । फाजिलमा रहँदा उनीहरुको वृत्ति विकास बन्द हुँदै आएको छ । डिभिजन वन कार्यालय इलाममा कार्यरत मदन ढुंगानाका अनुसार दरबन्दीमा नराखेसँगै उनीहरुको पाँच वर्षदेखि वृत्तिविकास ठप्प भएको छ । 

यी सबै फरेस्टरहरु स्थायी हुन् । तर उनीहरुलाई दरबन्दीमा नराख्दा बढुवाका लागि कतै जाने ठाउँ नै छैन । शुरुआतमा ४२३ जना फाजिलमा रहेकामा अहिले घटेर ३८४ जना भएका छन् । स्रोतका अनुसार जसको पहुँच पुग्यो उनीहरु केहीको बढुवा मिलाइयो भने केहीको प्रदेश सरकारमा बढुवासहित समायोजन भए । 

ढुंगानाका अनुसार प्रदेशमा रहेकाहरुले दुई तह बढुवा खाइसकेका छन् । तर संघीय सरकार अन्तर्गत रहेका उनीहरुको भने विजोग भएको छ । संघीय सरकारले सुनुवाइ गरेको छैन । 

यी फाजिल सबै उपत्यका बाहिरका हुन् । उनीहरु असारदेखि रोटेशन मिलाएर आउँदै धर्नामा बसेर फर्कने गरेका छन् । 

फरेस्टरका रुपमा लोकसेवामार्फत नियुक्ति प्रक्रिया पूरा गरेर वन मन्त्रालय अन्तर्गत काम गर्दै आएका कर्मचारी पाँच वर्षदेखि दरबन्दीविहीन छन् । तिनै दरबन्दीविहीन फरेस्टर आन्दोलित भएका हुन् ।

संघीयता लागू भएसँगै सरकारले तीनै तह (संघ, प्रदेश र स्थानीय)मा कर्मचारी समायोजनको प्रक्रिया थाल्यो । त्यसका लागि कर्मचारी समायोजन ऐन, २०७५ ल्याइयो । 

ऐन अनुसार २०७५ सालभन्दा अघि नियुक्ति पाएका फरेस्टरमध्ये १८४ जनाले समायोजन दरबन्दी पाएर प्रदेश वा संघका वन मन्त्रालय मातहतका कार्यालमा खटिए । बाँकी ४२३ फरेस्टर भने दरबन्दीविहीन भए ।

तर तीमध्ये पनि अहिले ३८४ जना अझै बाँकी छन् । 

निजामती सेवा नियमावली, २०५० (पन्ध्रौं संशोधन २०७६) ले फाजिल बनेका कर्मचारीको व्यवस्थापनलाई सम्बोधन गरेको छ । नियमावलीको नियम ८९ ‘क’ को  उपनियम ‘३’ मा ‘फाजिलमा परी वा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रही अन्य निकायमा कामकाज गर्न खटिएका निजामती कर्मचारीका लागि निज कार्यरत कार्यालयमा स्वतः माथिल्लो श्रेणीको पद सिर्जना हुनेछ’ भनिएको छ । 

तर, फाजिलमा रहेका फरेस्टर भने पाँच वर्षदेखि एउटै तहमा काम गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ