arrow

नेकपा एसमा शत्रु पार्टी खोज्दा आपसमा शत्रुता

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
ncp-united-2080-05-05.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्ता गठबन्धनभित्र रहेको नेकपा एसभित्र गठबन्धनलाई हेर्ने दृष्टिमै मतभेद भएको छ । एमालेबाट विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेको दुई वर्ष पुग्दा सो पार्टीभित्र मतभेद ब्यापक भएको हो । 

अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच राजनीतिक प्रतिवेदनमा उल्लेख भएका विषयलाई लिएर मतभेद भएपछि सो पार्टीको राजनीतिक भविष्यबारे तीन दिनदेखि केन्द्रीय कमिटीको बैठकमा छलफल भएको छ । 

उनीहरु दुवैले चाहेजसरी पार्टी अघि बढाउन नसकेको स्वीकारे पनि पार्टीमा प्रधान शत्रु किटान गर्ने र गठबन्धन गर्ने विषयमा विवाद भएको हो । पार्टीको नीति विचार र सिद्धान्त नमिलेकै कारण पार्टीमा निराशा र पलायन हुने क्रम बढ्नुको कारणबारे भने दुई नेताबीच विवाद देखिएपछि केन्द्रीय सदस्यहरुले नीति र विचारमा स्पष्टता खोजेका छन् । 

सम्मानित नेता खनालले एमालेसँग सैद्धान्तिक र नीतिगत रूपमा भिन्न देखिन नसक्दा पार्टीमा निराशा पैदा भएको र त्यसका कारण पलायन हुने क्रम बढेको बताएका छन् ।

 ‘हाम्रो पार्टी र एमालेको सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन नसक्नु, एमालेमा जस्तै अहिले पनि जबजकै धङधङी रहँदा ठूलो संख्यामा विद्रोह गरेर आएका नेता कार्यकर्ताहरू वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ,’ २१–२२ साउनमा बसेको स्थायी कमिटी बैठकमा पेस गरेको लिखित दस्तावेजमा खनालले भनेका छन् । 

तर माधव नेपालले पार्टी स्पष्ट नीति र विचारमा चलेकाले यसमा पलायन हुनुपर्ने कारण नै नभएको दावी गर्दै प्रतिवेदन पेश गरेका छन । त्यसमा खनालले प्रष्ट फरक धारणा राखेका छन् ।

खनालले औँल्याएको पलायनको त्यो कारणप्रति अध्यक्ष नेपाल सहमत देखिँदैनन् । मंगलबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा राजनीति प्रतिवेदनमा उनले एमाले र आफ्नो पार्टीबीच सात भिन्नता पेस गरेका छन् । 

एमालेसँग आफ्नो पार्टी सैद्धान्तिक रूपमै भिन्न रहेको जिकिर गर्दै अध्यक्ष नेपालले भनेका छन्, ‘हामी मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्छौँ भने एमाले जनताको बहुदलीय जनवादलाई समेत मार्गदर्शक सिद्धान्त मान्दछ ।’ तर खनालले कांग्रेसभन्दा एमाले नै ठीक भएको तर्कसहित अर्को प्रतिवेदन तयार गरेका छन् । 

एकपछि अर्को नेता पार्टी परित्याग गरी एमालेमा फर्किन लागेपछि एकीकृत समाजवादीमा निराशा छाएको अवस्थामा खनालले नीति र विचारमा प्रष्टता खोजेका छन् । 

अध्यक्ष नेपालले पार्टी पंक्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायनता देखिएको उल्लेख गर्दै चाहे जसरी पार्टी अगाडि बढ्न नसकेको बताएका छन् । ‘पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य हो । त्यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसकेका छन् । यदि कसैबाट अझै पनि त्यस प्रकारको दुष्कर्म भइरहेको छ भने तुरुन्त रोकिनु पर्दछ,’ अध्यक्ष नेपालको प्रतिवेदनमा छ, ‘त्यस्ता गलत कार्यलाई विगतमा नियन्त्रण नगरिएको भए पनि अब छुट दिन सकिँदैन ।’ 

उनले पार्टी कमजोर हुनुका कारण पार्टी सानो छ भन्ने लघुताभाष र प्रत्यक्ष रूपमा कुनै लाभ प्राप्त नभएको असन्तुष्टि औँल्याएका छन् । पार्टीका सिद्धान्त, विचार र दृष्टिकोणको दृढतापूर्वक पक्षपोषण गर्ने आँटको कमी, जिम्मेवारी लिने तर बहन नगर्ने प्रवृत्ति, आत्मविश्वासको कमी, विरोधीले फैलाएका भ्रम र सामाजिक सञ्जालमार्फत भएका कुप्रचारको प्रभाव, हाम्रो प्रचार कार्य कमजोर हुनु पनि एकीकृत समाजवादी कमजोर हुनुको कारण बताएका छन् ।   

सम्मानित नेता खनाल भने प्रधान राजनीतिक अन्तरविरोध निक्र्यौल गर्नुपर्ने, प्रधान शत्रु वा प्रतिद्वन्द्वीको निर्धारण गर्नुपर्ने, मुख्य कार्यनीतिक लक्ष्य र नारा प्रस्ट पार्नुपर्ने तथा संघर्षको मुख्य रूप तोक्नुपर्नेमा जोड दिएका छन् । 

प्रधान शत्रु नतोकेर दक्षिणपन्थी शक्तिलाई मित्र शक्ति मानेर जाँदा नेकपा एस कांग्रेस र माओवादी केन्द्रको पिछलग्गुजस्तो बनेको उनको टिप्पणी छ । ‘दक्षिणपन्थी’ कांग्रेसलाई मित्र शक्ति ठान्ने र एमालेलाई शत्रु शक्ति ठानेर मुख्य निशाना ठान्ने दक्षिणपन्थी दृष्टिकोणबाट पार्टी सतर्क रहनुपर्ने खनालको धारणा छ ।

 ‘एमालेको नेतृत्वसँग हाम्रो पार्टीको अन्तरविरोध चर्को छ । तर राजनीतिक शक्तिको हिसाबले त्योसँगको अन्तरविरोध पनि मित्रतापूर्ण अन्तरविरोध नै हो,’ खनालको दस्तावेजमा छ, ‘एमालेलाई शत्रु शक्तिजस्तो ठानेर दक्षिणपन्थी शक्तिलाई मित्र ठान्ने र एमालेलाई मुख्य निशाना ठान्ने दक्षिणपन्थी दृष्टिकोणबाट हाम्रो पार्टी सर्तक रहनुपर्छ । आजको मुख्य संघर्ष नै दक्षिणपन्थी र वामपन्थीबीचको संघर्ष नै हो ।’ 

खनालले यसमा पनि प्रष्ट धारणा राखेका छन् । ‘योसँग पनि र त्योसँग पनि अन्तरविरोध छ भन्दा शक्ति छरिन्छ र त्यसले निष्कर्षमा पुर्याउन सक्दैन । अध्यक्षको प्रतिवेदनमा धेरै अन्तर्विरोधको विषयमा कुरा गरिएको छ तर स्पष्ट रूपमा कुनरकुन पात्र हो भनिएको छैन । यसबेला नेपाली समाजको ठोस राजनीतिक स्थितिमा हाम्रो पार्टीको र सबै वामपन्थी दल समूहहरूको मुख्य प्रतिद्वन्द्वी शक्ति भनेको मुख्यतः दक्षिणपन्थी शक्तिका रूपमा रहेको कांग्रेसबाहेक अरू कुनै पनि हुन सक्दैन । तर अन्य अधिकांश वामपन्थी समूहहरू ठीक यही विन्दुमा पुगिरहेका छन् । उनीहरू मुख्य प्रतिद्वन्द्वी शक्तिसँग गठबन्धन, कार्यगत एकता र मोर्चा बनाउँदै सत्ताको चुस्की लिइरहेका छन् । प्रधान राजनीतिक अन्तरविरोध र प्रमुख राजनीतिक प्रतिद्वन्द्वीलाई ठीक ढंगले ठम्याउनुपर्छ र क्रान्तिको प्रवाहलाई निसाना केन्द्रित ढंगले अघि बढाउनुपर्छ ’, खनालले भनेका छन् । 

उनले आफ्नो पार्टीको नेतृत्व रावणको टाउकोजस्तो भएकाले उभिनसमेत गाह्रो परेको टिप्पणी गर्न भ्याएका छन् । साथै, एमालेसँग सैद्धान्तिक र नीतिगत भिन्नता देखाउन नसक्दा एमालेमै फर्किन थालेको विश्लेषण गरेका छन् । एमालेबाट छुट्टिएर पार्टी गठन गर्दाको उत्साह हराएर आम कार्यकर्तामा निराशा, हतासा, पदलोलुपता र पलायनका प्रवृत्तिहरू विकास भइरहेको उल्लेख गर्दै खनालले भनेका छन्, ‘हाम्रो पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनो भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा भएको महसुस हुन्छ ।’ 

माधव नेपालले यो गठबन्धन वर्तमान संसद्को संरचनाअनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन, तत्कालिन राजनीतिक कार्यगत एकतामात्र हो । त्यसैले तत्कालिन राजनीतिक परिस्थिति बदलियो भने राजनीतिक गठबन्धन वा कार्यगत एकता पनि बदलिन सक्छ । 

अहिले तत्काल वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिने र हामी गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन भन्ने दाबी गरेका छन् । तर झलनाथ खनालले यो दक्षिणपन्थी कार्यदिशाले बामपन्थीहरूलाई निरन्तर अधोगति, सुस्तता, विभाजन र पलायनतिर लगिरहेछ भन्दै दक्षिणपन्थीहरूलाई लगातार फाइदा पुगिरहेको बताएका छन् । 

उनले भनेका छन्, ‘उनीहरू वामपन्थीलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेछन् । यसरी वामपन्थी समूहरू दक्षिणपन्थी शक्तिका प्यादा र बैसाखी जस्ता बनेका दावी गर्दै  आफ्नो साख निरन्तर गिराइरहेका र यस्तो डरलाग्दो दक्षिणपन्थी गल्तीबाट पार्टीलाई जोगाउनुपर्छ । हाम्रो अनुभवहरूको समीक्षा गर्नुपर्छ, आफ्ना गल्तीलाई स्वार्थमुक्त भएर आँटका साथ सच्याउनुपर्छ र पार्टीलाई सही वैचारिक–राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको जगमा उभ्याउनुपर्छ ।’

यी दुवै विषयमा केन्द्रीय सदस्यहरुले छलफल गरिरहेका छन् । केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि अहिले पनि नेताहरूले धारणा राख्ने क्रम जारी छ । बैठकमा एक जनालाई ५ मिनेटको समय निर्धारण भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ