arrow

पहिरोले वडा र स्वास्थ्य भवन जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
pahiro-udipur-deuralidada.jpg

बैतडी । वर्षाले पहिरो जाँदा बैतडीको एक वडा कार्यालय र स्वास्थ्य भवन जोखिममा परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका-१० को वडा कार्यालय र सुर्नया गाउँपालिका-४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य एकाइको भवन पहिरोको जोखिममा परेको हो । 

वर्षापछि वडा कार्यालय अगाडिको पर्खाल भत्किएपछि भवन जोखिममा परेको सामाजिक परिचालक रनबहादुर विष्टले जानकारी दिए । यस्तै लगातारको वर्षाले सुर्नया गाउँपालिका-४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य इकाइको भवन पनि जोखिममा परेको छ । 

एकाइका अहेब विनोद भट्टका अनुसार स्वास्थ्य एकाइको भवनको आँगन पहिरोले भत्काएपछि भवन नै पहिरोको जोखिममा परेको छ । यसअघि पनि सोही ठाउँमा २०७७ सालमा प्रसूति सेवा केन्द्रको भवन पहिरोले भत्काएको थियो । त्यो बेला स्वास्थ्य एकाइको नयाँ भवन निर्माण भएकाले सेवा सञ्चालन गरिएको थियो । नयाँ भवन पनि पहिरोको जोखिममा परेपछि स्वास्थ्य सेवा प्रभावित भएको छ । 

यसैबीच बर्सातका कारण यहाँका ग्रामीण क्षेत्रको यातायात सेवा सञ्चालनमा समस्या भएको छ । कतिपय ठाउँमा वर्षाले बिग्रिएका ग्रामीण सडक नबन्दा सास्ती खेप्नुपरेको छ । बर्सातको समयमा पानीका कारण ठाउँ ठाउँमा खाल्टाखुल्टी परेर बिग्रिएका सडक समयमै मर्मत नहुँदा ओहोरदोहर गर्ने यात्रुलाई अहिले सास्ती भएको हो ।
 
बर्सातले बिग्रिएका सडक नबन्दा जोखिम मोलेर यात्रा गर्नुपरेको यात्रुको गुनासो छ । जिल्लाका विभिन्न पालिकाभित्र रहेका ग्रामीण सडक बर्सातका कारण बिग्रिएका छन् । बर्सातले भत्किएर, खाल्टाखुल्टी परे पनि सम्बन्धित निकायले समयमै मर्मत नगरिदिँदा समस्या भएको हो । वर्षातले सडकखण्डको हालत खराब भए पनि स्थानीय सरकारको ध्यान नगएको नागरिकको आरोप छ । महिनौँसम्म ग्रामीण सडक सञ्चालन नहुँदा खाद्यान्नसमेत अभाव हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । 

यसअघि साउन ८ गते बिहान पहिरोले घर पुर्दा बैतडी पुर्चौडीमा आमाछोराको मृत्यु भएको छ । पहिरोले पुर्चाैडी नगरपालिका-२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन जागरीको मृत्यु भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ