arrow

डेंगीबाट १४ को मृत्यु, २२ हजार संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
dangue.jpg

झापा । डेंगी संक्रमणबाट कोशी प्रदेशमा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २२ हजार दुई सय ३७ संक्रमित भएका छन् । 

डेंगीबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १२ को मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईँले जानकारी दिइन् । उनका अनुसार यहाँ १५ हजार नौ सय ५२ जना संक्रमित भएका छन् ।

प्रदेशका १४ जिल्लामै डेंगी संक्रमण फैलिएको चम्लागाईँले बताइन् । उनका अनुसार मोरङमा तीन हजार तीन सय ६३ संक्रमित हुँदा एकको मृत्यु भएको छ भने झापामा एक हजार चार सय २० संक्रमित भएकामा एकको मृत्यु भएको छ ।

तराई, मधेस, पहाड र हिमाली सबै जिल्लामा डेंगी फैलिएको चम्लागाईँले बताइन् । “विशेष गरी गर्मी र बर्खायाममा डेंगी फैलिने गरेको छ”, उनले भनिन्, “डेंगीका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् ।” सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालहरूमा डेंगीका बिरामीको उपचार भइरहेको उनले जानकारी दिइन् । 

साउनदेखि हालसम्ममा तेह्रथुममा एक सय १५, पाँचथरमा ४७, इलाम एक सय ६८, उदयपुर चार सय ४९, धनकुटामा दुई सय ६४, भोजपुरमा एक सय ५४, सङ्खुवासभामा दुई सय ६०, ओखलढुङ्गामा पाँच, ताप्लेजुङमा ३३, खोटाङ र सोलुखम्बुमा पाँच÷पाँच जना डेंगीका बिरामी फेला परेका छन् ।

डेंगी संक्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेंगीको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्ने तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । सामान्य भन्दा निकै तीव्र ज्वरो आउनु, खानाको स्वाद थाहा नहुनु, टाउको दुख्नु, आँखा र नाकबाट रगत बग्नुलगायत लक्षण देखिएका डेंगी भएको हुन सक्छ  ।



नयाँ