काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका नवनिर्वाचित अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले सबै पक्षलाई समेटेर फुटबललाई अघि बढाउने प्रतिवद्धता जनाएका छन् । एन्फा अध्यक्षमा निर्वाजित भएलगत्तै संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
आफ्नो कोही कसैप्रति पूर्वाग्रह नरहेको र नराख्ने स्पष्ट पार्दै श्रेष्ठले नियमित प्रक्रियाको हिसाबले अर्को वर्ष सम्पूर्ण पदाधिकारीहरुको चुनाव हुने बताए ।
चुनाव हुने भएपछि पक्ष र विपक्ष हुने नै भएपनि आफुले सबै पक्षलाई समेटेर फुटबल क्षेत्रको विकासमा लाग्ने श्रेष्ठले सुनाए ।
फुटबलमा मानार्थ सुरु गर्नुको कारणबारे पत्रकारहरुले राखेको जिज्ञासामा श्रेष्ठले विधानमै व्यवस्था रहेकाले फुटबलमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई मानार्थ पद दिने गरिएको बताए ।
अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेका टाँसी घलेलाई एन्फाको मानार्थ अध्यक्ष बनाउने प्रस्ताव गरिएपछि घलेले उम्मेद्वारी फिर्ता लिँदै श्रेष्ठलाई सघाउने निर्णय गरेका थिए ।
सोमबार भएको निर्वाचनमा श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कर्माछिरिङ शेर्पालाई ५ मत अन्तरले पराजित गर्दै नेतृत्व कब्जा गरेका हुन् । श्रेष्ठले कुल ६७ मतको ३६ मत ल्याउँदा शेर्पाले ३१ मत पाए ।