- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विश्वका सडकमा हरेक चार मिनेटमा एक जना बालक वा बालिकाको ज्यान जान्छ । धेरै बालबालिका घाइते हुन्छन् । बालबालिकाको ज्यान जोखिममा पर्दा उनका आफन्त तथा परिवारजनमा हुने पीडाको त फरक हिसाब हुने भयो । आर्थिक रुपमासमेत उनीहरु पीडित हुन्छन् । यस्ता कार्यले परिवार वा समाज मात्र नभइ सिंगै मुलुकको छवि बिगार्छ ।
सडक सुरक्षाको कमीका कारण एउटा गरिबको सन्तानले कुनै रोग वा प्राकृतिक विपत्तिले गर्दा होइन, मानवीय कमजोरीले ज्यान गुमाउनु परेको छ । त्यसैले यसलाई सामाजिक न्यायसँग जोडेर हेरिनु पर्दछ । यस्ता परिघटनाले विश्वबाट गरिबी हटाउने कार्यमासमेत अवरोध सिर्जना गर्दछन् ।
मध्यम तथा न्यून आय भएका मुलुकमा सडक निर्माण गर्दा यसका प्रयोगकर्ताको सुविधालाई ध्यान दिइँदैन । प्रायः भर्खरै यातायातको सुविधा प्राप्त भएका अथवा भर्खरै विकासको गतिमा अघि बढेका मुलुकमा यस्ता समस्या छन् । उनीहरुले सडकलाई सुरक्षित पार्नुभन्दा सडक विस्तारलाई प्राथमिकता दिनुपर्ने वाध्यता छ । यस्तो वर्गमा नेपाल पनि पर्दछ ।
यहाँका सडक सुरक्षित पार्ने विषयले खासै अर्थ राख्दैन । हाम्रो जस्तो मुलुकमा जसोतसो सदरमुकामसम्म सडक सञ्जाल विस्तार गरेर विकासको श्रेय लिन सरकार सञ्चालकहरु लालायित हुन्छन् ।
सडकमा हुने समस्याले ती गरिबलाई मात्र पिरोल्ने होइन सत्तामा रहेका दलका नेता कार्यकर्ता पनि पिरोलिन्छन् । तैपनि सडकलाई सुरक्षित पार्नुपर्दछ भन्ने चेत अझैसम्म खुल्न सकेको छैन ।
सडक निर्माणका क्रममा सुरक्षाका उपाय थप गर्दा त्यत्रो बढी आर्थिक भार थपिने पनि होइन । सोचमा परिवर्तनमात्र खाँचो हो । भाग्यवादमा विश्वास राख्नेहरुले काल आए जसरी पनि मरिन्छ भन्ने सोच राख्दछन् । जो मर्छ त्यो अभागी र जो बाँच्दछ ऊ भाग्यमानी ठहरिन्छ । यसमा सत्यता होला नहोला तर रोडक्र्यासमा परेको मानिसलाई समयमै उपचार गर्न सके उसको ज्यान जाने संभावना कम हुन्छ भन्ने कुरो चाहिँ सत्य हो ।
यस्तो समस्या विकसित मुलुकमा पनि थियो तर उनीहरुले विस्तारै समाधान गर्दै लगे । विकसित मुलुकमा सडक निर्माण गर्दा बटुवा, साइकल तथा मोटरसाइकल प्रयोगकर्ता लगायतका जोखिमपूर्ण मानिएका वर्गलाईसमेत सुरक्षित पार्ने उपाय अपनाइन्छ ।
फलस्वरुपः उनीहरुको वार्षिक सडक जोखिम मृत्युदर तीन चार सयमा सीमित छ । जबकि ती देशका प्रायः सबै मानिसले आ–आफ्ना सवारी साधन प्रयोग गर्दछन् । नेपालमा अधिकांश मानिस सार्वजनिक सवारी साधनमा आधारित छन् । यहाँ निजी सवारी साधनको संख्या न्यून छ । अझ चार पांग्रेको संख्या त निकै नै कम छ ।
नेपालको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७८–७९ मा ५० लाख ४१ हजार मोटर जडित गाडी दर्ता भएका थिए । तिनीहरुमा निजी तथा सार्वजनिक यातायातका साधन, ढुवानीका साधन तथा कृषिजन्य यन्त्रसमेत पर्दछन् ।
दर्ता भएकामध्ये ४० लाख त मोटरसाइकल मात्र थिए । यति कम सवारी साधन चल्ने ठाउँमासमेत सडकमा मानिसको ज्यान जाने क्रम निकै बढी छ । सरकारी तथ्यांकलाई मान्ने हो भने पनि वर्षमा प्रतिलाख जनसंख्यामा सरदर ८.५ जनाले सडकमा ज्यान गुमाउँछन् । विश्व स्वास्थ्य संगठनले भने यो दर १५ रहेको बताउँछ ।
धनी मुलुकमध्ये संयुक्त राज्य अमेरिकामा दैनिक २१ करोड निजी सवारी साधन चल्छन् । त्यहाँ प्रतिलाखमा ११ जनाको ज्यान सडकमा जान्छ । न्यूजिल्याण्डमा प्रतिलाखमा सात जनाको ज्यान जान्छ भने भारतमा गत वर्ष एक लाख ५५ हजार मानिसको सडकमै ज्यान गयो । त्यहाँ प्रति लाखमा १७ जनाको मृत्युको कारण सडक यातायात बनेको छ ।
नर्वे, स्वीडेन र आइसल्याण्ड सडकमा आफ्ना नागरिकलाई सुरक्षित पार्ने कार्यमा अग्रपंक्तिमा छन् । नर्वेमा प्रतिलाख जनसंख्यामा १.७३ जना, स्वीडेनमा प्रतिलाखमा १.९८ र आइसल्याण्डमा प्रतिलाख जनसंख्यामा २.२० जनाको सडक यातायातका कारण ज्यान गएको विश्व सवास्थ्य संगठनको तथ्यांक छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा दैनिक पाँच सयजना बालबालिका सडक यातायातका कारण मारिन्छन् । मारिनेमध्ये बालिकाका तुलनामा बालकको संख्या दुई गुणा बढी छ ।
पाँच वर्ष कटेका बालबालिकाको सम्पूर्ण मृत्युमध्ये सडक जोखिम चौथो कारण बनेको छ । पाँचदेखि ११ वर्षका बालबालिकाको मृत्युको चौथो कारण सडक यातायात बनेको छ भने ११ देखि १४ वर्षका बालबालिकाको मृत्युको तेस्रो कारण सडक बनेको छ ।
त्यस्तै १५ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीको मृत्युको पहिलो कारण सडक बनेको छ । सबैभन्दा बढी अफ्रिकाका कम आय भएका मुलुकका बालबालिका यस समस्याबाट पीडित छन् ।
त्यहाँका प्रतिलाख बालबालिकामध्ये १५.६ जनाले सडक यातायातका कारण ज्यान गुमाउँछन् । सोही क्षेत्रका उच्च आय भएका मुलुकमा भने ६.३ जना प्रतिलाखका दरले ज्यान गुमाउँछन् ।
दक्षिणपूर्वी एसिया क्षेत्र जहाँ मध्यम तथा कम आय भएका मुलुकमात्र पर्दछन्, यहाँ प्रति लाखमा ६.९ बालबालिकाको ज्यान सडकमा जान्छ ।
मध्यम आय भएका युरोपेली मुलुकहरुमा प्रतिलाखमा ५.६ जना बालबालिकाको ज्यान सडक यातायातका कारण जान्छ भने पश्चिम प्रशान्त क्षेत्रका उच्च आय भएका मुलुकका बालबालिका सडक यातायातका दृष्टिमा सबैभन्दा बढी सुरक्षित मानिन्छन् । त्यहाँ प्रतिलाखमा दुई बालबालिकाको ज्यान सडक यातायातका कारण जाने गरेको तथ्यांक छ । (तस्बिर– द टेलिग्राफबाट)