arrow

ऐतिहासिक स्वर्ण दिलाउने दिदी भाई फर्किए

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
DIDI-bhai-gold-dhari.jpeg
काठमाडौं । पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजका पदक विजेता भाइ रत्नजित तामाङ र दिदी नङशलसहितको ७ सदस्यीय नेपाली टोली स्वदेश फर्किएको छ ।
 
शुक्रबार सम्पन्न प्रतियोगिताको मिक्स डबल्स फाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित नेपाली ब्याडमिन्टनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण दिलाएका थिए ।
 
यसअघि दुई भिन्नभिन्नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत जितेका थिए । त्यो नै ब्याडमिन्टनले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सबै भन्दा ठूलो उपलब्धि थियो ।
 
टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष सुवास श्रेष्ठ र पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरेका थिए । 
 
स्वागतपछि टोलीलाई गाडीमा राखि नगरपरिक्रमा समेत गराइएको थियो । नगरपरिक्रमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हाता आएर कार्यक्रममा परिणत भएको थियो ।
 
नेपाली टोलीमा किरण थापाले प्रशिक्षक तथा ब्याडमिन्टन संघका सदस्य राजु थापाले व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए ।



नयाँ