arrow

घाँस काटिरहेकी पूजालाई चितुवाले तीन सय मिटरसम्म घिसारेर लग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
leopard-attack.jpg

बैतडी।  चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका-३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ । बिहीबार मध्याह्न १२ बजे घर नजिकै तालिगाडरोल वनमा घाँस काटिरहेका बेला पूजालाई चितुवाले आक्रमण गरेको हो । 

पूजाको टाउको र शरीरका अन्य भागमा पनि चोट रहेको छ ।  सिटिस्क्यान गर्नुपर्ने देखिएको डडेल्धुरा रेफर गरिएको पूजाको उपचारमा संलग्न मेलौली प्राथमिक स्वास्थ्य केन्द्रका डा सञ्जीन केसीले बताए । घाइते पूजाको अवस्था खतरामुक्त रहेको छ । उनले भने, “बेहोसमा रहेकी पूजा होसमा आएकी छन् तर सिटिस्क्यान गर्नुपर्ने देखियो । हामी कहाँ उक्त सुविधा नभएकाले डडेल्धुरा रेफर गरेका छौँ ।”

गाउँका चार पाँच जनाको समूहमा घाँस काटिरहेकी पूजालाई चितुवाले आक्रमण गरेको पञ्चेश्वर-३ का वडाध्यक्ष मीनबहादुर चन्दले बताए ।  आक्रमणपछि चितुवाले पुजालाई तीन सय मिटर टाढासम्म घिसारेर लगेको र पछि स्थानीयवासीले होहल्ला गरेपछि छाडेको थियो । चितुवाले किशोरीमाथि आक्रमण गरेपछि स्थानीय नागरिक त्रसित भएका छन् ।  तल्लोस्वराडमा गएको १२ वर्षयता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ