काठमाडौं । अन्तर्राष्ट्रिय आइस हक्की महासंघका कोषाध्यक्ष तथा फ्रेञ्च आइसहक्की संघका अध्यक्ष लुक टार्डिफले नेपालमा आइस हक्की रिंक निर्माण गर्न आफुहरुले पूर्ण सहयोग गर्ने बताएका छन् ।
मगलबार सोही विषयलाई विषयलाई लिएर टार्डिफले युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालाई भेटे ।
भेटमा सबैले आइस हक्की खेलको विकासका लागि सबै क्षेत्रले अन्तर्राष्ट्रिय आइस हक्की महासंघसँग मिलेर अगाडी बढ्न तयार रहेको बताए । यो संगै नेपालमा आइस रिंक निमार्णको पहल शुरु भएको छ ।
अन्तर्राष्ट्रिय आइस हक्की महासंघले नेपालमा छिट्टै आइस रिंक निमार्ण प्रक्रिया शुरु गर्नका लागि आवश्यक प्राविधिक सहयोग गर्ने बताएको छ । पाँच दिने भ्रमणमा नेपाल आएका टार्डिफले आइस रिंक बनाउने सम्भावित स्थानको अध्ययनका लागि पोखरा र धुलिखेलको भ्रमण गरेका थिए ।
उनले पोखरा उपयुक्त स्थान रहेकाले त्यसका लागि अन्तर्राष्ट्रिय आइस हक्की महासंघले प्राविधिकलगायतको सहयोग गर्ने बताए । उनले रिंकको नक्शा तयार गरेर नेपाल आइस हक्की संघलाई पठाउने बताए ।
‘छिटो भन्दा छिटो नेपालमा रिंक बनोस् भन्ने हाम्रो चाहाना छ । हामीले जग्गा हेरेका छौं । त्यसमा कस्ता रिंक निमार्ण गर्न सकिन्छ भन्ने तयारी गरेर नक्सा पठाउने छौं । अन्य कार्य यहाँबाट शुरु गर्नुपर्ने छ,’ –उनले भने ।
युवा तथा खेलकुद मन्त्री श्रीपाइलीले नेपालमा आइस हक्की रिंक निमार्णका लागि आफूले सक्दो सहयोग गर्ने बचन दिए । मन्त्री श्रीपाइलीले भने, ‘हामीलाई प्रोजेक्ट तयार पारेर दिनुस् हामी त्यसका लागि तत्काल पहल गर्दछौं । पर्यटक र नयाँ पुस्तासँग समेत जोडिएको आइस हक्की रिंक निमार्ण गर्नका लागि सरकारले सहयोग गर्ने छ ।’
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले सगरमाथाको देशमा आइस रिंक बन्नु गौरवको कुरा भएको बताए । उनले नेपाल र फ्रान्सबीच खेलकुद सम्बन्ध विस्तार गर्नुपर्ने समेत औल्याए । भेटघाटमा नेपाल ओलम्पिक कमिटीका सदस्य निलेन्द्रराज श्रेष्ठ, नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाही समेत उपस्थित थिए ।