arrow

एमालेलाई तर्साएजस्तो गरेर कांग्रेसलाई दुःख दिने समाजवादी मोर्चाको योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
samajbadi-morcha-2080-.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारमा रहेका वाम खेमाका शक्तिहरुले अहिले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमाथि प्रहार गरिरहेका छन् । खासगरी अपराध कसूरमा कांग्रेसभन्दा माओवादी केन्द्रका नेताहरु बढी संलग्न भए पनि उनीहरुलाई छुट दिने र कांग्रेसका नेताहरुलाई भने अपराध कसूर प्रमाणित नभए पनि प्रचारबाजी गरेर ‘कांगे्रस भनेको अपराध कर्मको पर्यायवाची’ जस्तो रुपमा प्रस्तुत गरेर बदनाम गराउँदै आएका छन् । 

सरकार कर्मचारी सरुवा, प्रहरीको सरुवा, बढुवा, सरकारी वकिलको सरुवा जस्ता प्रकरणमा पनि कांग्रेसलाई मुछेर बदनाम गराउन थालिएको छ । ‘सरकारको नेतृत्व माओवादीले गरेको छ । तर दोष जति कांग्रेसलाई थोपर्ने काम भएको छ’, कांग्रेसका एक नेताले भने ।

वाम राजनीतिमा झुकाव राख्ने दलबीच गठन भएको समाजवादी मोर्चा सत्ता टिकाउने र कांग्रेससँग बार्गेनिङ गर्ने हतियारको रूपमा अघि बढेको छ । सत्ता गठबन्धन कांग्रेस, जनमत र नागरिक उन्मुक्तिलाई बाहिर राखेर निर्माण भएको मोर्चाका पछिल्ला गतिविधि सर्वसाधारणको हितभन्दा सरकार टिकाउन केन्द्रित देखिन्छ । 

सरकारको कामकारबाहीमा गठबन्धनभित्र उत्पन्न असन्तुष्टि सम्बोधन गरी गठबन्धनमा खटपट हुन नदिने थलोका रूपमा विकास भएको छ । मोर्चाले बुटवल, सुर्खेत र पोखरामा गरेको सन्देश सभामा प्रमुख नेताले मोर्चा बनेपछि सरकार झन् बलियो भएको बताउँदै हटाएमा लाखौँ जनता उतारेर आन्दोलन गर्ने धम्की दिन थालिएको छ । 

संसदमा ५४ सिट एउटै मोर्चामा भएकाले उनीहरूले यो दाबी गरेका हुन । नेपाली समाजवादको विशेषता पहिचान गर्ने मोर्चाको मुख्य उद्देश्य भए पनि मोर्चा सरकारमै केन्द्रित छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको लामो कसरतपछि असार ४ मा घोषणा भएको मोर्चा मुख्यगरी प्रतिपक्ष एमालेप्रति आक्रामक देखिए पनि कांग्रेसलाई सरकारमै राखेर बदनाम गराउन पनि उद्यत देखिएको छ । 

बाहिरी रूपमा एमालेप्रति आक्रामक देखिए पनि यसले गठबन्धनको प्रमुख दल कांग्रेसलाई पनि दबाबमा राख्न खोजेको छ । मोर्चामा सरकारलाई समर्थन गरेर करिब ६ महिना सरकार बाहिर रहेको जसपा र संसदीय प्रक्रियाबाट बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टीलाई समेटेपछि मुख्यगरी प्रचण्ड र नेपाल ढुक्क भएका छन् । 

सरकारमा सहभागी हुनुअघि प्रतिपक्ष एमालेसँग वार्तामा रहेको जसपा र आवश्यक पर्दा सडकमा उतार्न नेकपालाई मोर्चामा समेटेपछि प्रधानमन्त्री प्रचण्ड बलियो देखिएका छन् ।

मोर्चाबारे कांग्रेसले प्रतिक्रिया नदिए पनि प्रचण्ड आफैँले मोर्चा गठनमा कांग्रेसको समर्थन रहेको बताएर अर्को भ्रम पनि छर्न थालिएको छ । 

मोर्चाका नेताहरूले प्रदेशमा सन्देश सभा गरी दाहाल नेतृत्वको सरकारको भ्रष्टाचार विरोधी अभियानले मुलुकमा आशा जगाएको बताउदै कर्मचारी सरुवामा शेरबहादुर देउवाको हस्तक्षेप रहेको भन्दै सुशासनको बाधक कांग्रेस हो भाष्य निर्माण गर्न खोजिदैछ । 
केही दिनअघिको माओवादी नेता वर्षमान पुनको अभिव्यक्तिलाई हेर्ने हो भने पनि पुष्टि हुन्छ । उनले एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जोखिम मोल्न सक्ने नेता भएको बताउँदै दुवै पार्टीबीचको सहकार्य हुनसक्ने बताएका थिए । 

पुन तिनै नेता हुन् जसले पुस १० मा एमालेसँग सहकार्य गर्न प्रचण्डलाई बालकोट पुर्याएका थिए । लामो समय चीनमा उपचार गरेर नेपाल आएका पुन अहिले पनि एमाले–माओवादी मिल्नुपर्छ भन्नेमा रहेका छन् ।

मोर्चाको सभामा अमेरिकी सहायता नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) प्रति नेकपा महासचिव नेत्रविक्रम चन्दले असहमति जनाउन थाले पनि प्रचण्डले चलाखीपूर्ण तरीकाले फेरि पनि ब्याख्यात्मक टिप्पणी लागु गराएरै छाड्ने अभिव्यक्ति दिएर अमेरिका जाने तयारी गरेका छन्  । 

मोर्चाको विभिन्न सभामा प्रचण्डले व्याख्यात्मक टिप्पणीको कुरा गरेर विप्लवलाई थुम्थुम्याउने प्रयासमा छन् । ‘हाम्रो सपना समाजवादी मोर्चासँग मात्र सीमित रहँदैन, यहाँ सबै कम्युनिस्ट जोडेर जान्छौँ । राष्ट्रवादी, देशभक्त र समाजवादतर्फ आस्था राख्नेलाई जोडेर एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्य राखेका छौँ, आगामी दिनमा देशको नेतृत्व कम्युनिस्टले नै गर्ने गरी जानेछौँ, एमसीसीमा संसदबाट व्याख्यात्मक टिप्पणीसहित पास गरेको छ, अमेरिकी दूतावासले स्वीकार गरेको जानकारी दिएको’, प्रचण्डले भनेका थिए । 

जसले गर्दा प्रचण्डले ‘भूराजनीतिक कुटनीति’ लाई आफ्नो पक्षमा पार्न खोजेको आभाष भैरहेको छ । साथै उनको यो अअिव्यक्ति देखिँदा एमालेप्रति लक्षित भए पनि आगामी निर्वाचनमा कांग्रेसविरुद्ध पनि थियो । 

उसका गतिविधि पनि त्यही प्रकारका छन् । मोर्चाले केन्द्रदेखि जिल्ला तहसम्म समिति बनाउने निर्णय गरिसकेको छ । यसले माओवादी र एकीकृत समाजवादीका कार्यकर्तालाई आगामी निर्वाचनसम्म पार्टी एकताको सम्भावना रहेको देखाउनु रहेको छ । 

‘मोर्चाले सरकार बलियो बनाउनुका साथै विचार मिल्ने दलबीच पार्टी एकताको आधार बनाउनेछ’, मोर्चामा सहभागी रहेका नेता एवं माओवादी महासचिव देव गुरुङले भने । 

उनका अनुसार समाजवादी मोर्चाले सरकारका कामलाई सघाउनु हो यसका साथै विचार मिल्ने दलबीच पार्टी एकताका लागि आधार तयार गर्नु पनि हो । 

सरकार, संसद् र सडकबाट मोर्चाले काम गर्ने पनि उनको भनाइ छ । माओवादीले मोर्चालाई एउटा रणनीतिक विषयको रुपमा लिएको छ ।  

सरकार र सदनमा भएका दलले त्यहाँबाट आफ्नो काम अघि बढाउने, सरकारमा नभएको (नेकपा) ले सडकबाट मुद्दा अघि बढाउने जस्ता विवादास्पद विषयलाई पनि माओवादीसहितको नेतृत्वको मोर्चाले अघि सारेको छ ।

विप्लव नेतृत्वको नेकपाले सडकबाट एमसीसीको विरोध सुरु गरिसकेको छ । मोर्चामा रहने, सरकारलाई बलियो बनाउने, एमसीसी कार्यान्वयनमा हस्ताक्षर गर्ने अनि सडकमा एमसीसीको विरोध गरेर कसको पक्ष पोषणमा लागिरहेको छ भन्ने प्रश्नको जवाफ भने मोर्चाले दिन सकेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ