- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय खुला सुटिङ प्रतियोगितामा सप्तरीका असिम यादव र नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले स्वर्ण जितेका छन् । व्यक्तिगत स्पर्धाको १० मिटर एयर राइफलको पुरुषमा असिम र महिलामा फुलमाया पहिलो भएका हुन् ।
वुधबार सातदोबाटोस्थित सुटिङ रेन्जमा असिमले २ सय पूर्णाङ्कको फाइनलमा सर्वाधिक १७५ अंक जोड्दै शीर्ष स्थान हात पारे । १७४ अंकमा सुनसरीका टीकाराम श्रेष्ठ दोश्रो र १५५ अंकमा नेपाल प्रहरीका हरिबहादुर थापा तेश्रो भए ।
महिलामा फुलमायाले सर्वाधिक १९२ अंक जोडिन् । महिलाको फाइनल पनि २०० पूर्णाङ्कको थियो । १८५ अंकसाथ अस्मिता राई दोश्रो र १६५ अंकसाथ दुर्गा सिन्जाली तेश्रो स्थानमा रहे । शीर्ष दुई स्थान हात पार्ने खेलाडी पनि प्रहरीकै हुन् ।
एयर राइफलकै पुरुष टिम इभेन्टमा प्रहरी पहिलो, दाङ दोश्रो तथा नेपाल आर्मी तेश्रो बने । सोही स्पर्धाको महिलामा प्रहरी पहिलो, आर्मी दोश्रो र दाङ तेश्रो भए ।
विजेतालाई आयोजक नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा समान २८–२८ पुरुष–महिला गरी ५६ खेलाडीले एयर राइफलतर्फ विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।