arrow

प्रचण्ड सरकारको विकल्प खोज्ने कांग्रेस बैठकको एजेन्डा (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
shekhar-samuha-2080-06-02-meeting.jpg

काठमाडौँ। सरकारको काम कारबाही चित्त नबुझेको भन्दै नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विकल्पबारे पार्टीमा कुरा उठाउने भएको छ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दै गर्दा मंगलबार बसेको संस्थापन इतरको बैठकले कडा रुपले सरकारका बारेमा एजेन्डा बनाउने भएको हो । 

१४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट चुनाव लडेका सबैलाई छलफलमा डाकेको शेखर–गगन पक्षको बैठकले अहिलेको सरकारले भ्रष्टाचार विरुद्धको अभियान चलाउने नाममा कांग्रेसलाई बदनाम गरेको आरोपसमेत लगाएको छ । 

त्यतिमात्र हैन कांग्रेस नै भ्रष्टाचार विरोधी अभियानमा रहेको देखाउन प्रधानमन्त्री तथा गृहमन्त्री लागिपरेको भन्दै त्यसको चर्को विरोध गर्ने मनस्थितिमा शेखर–गगन पक्ष पुगेको हो । 

नेता डा. शेखर कोइरालाको कार्यालय विशालनगरमा बसेको बैठकमा उपसभापति एवं कानून मन्त्री धनराज गुरुङसमेत सहभागी भएका थिए । 

त्यसैगरी डा. कोइरालासँगै महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्धय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित नेताहरु चन्द्रकान्त भण्डारी, डा. मिनेन्द्र रिजाललगायत रहेका थिए । 

सहभागी एक केन्द्रीय सदस्यका अनुसार सरकारले काम गर्न नसक्ने अनि त्यसको अपजश कांग्रेसलाई लगाएको देखिएको भन्दै अब यसको विकल्प नखोजी नहुनेतर्फ लाग्नुपर्नेमा जोड दिइएको छ । 

उनले भने, ‘कांग्रेसकै बलबाट बनेको यो सरकारले कांग्रेसलाई नै बदनाम गर्न खोजिरहेको छ । आफ्ना नेताहरु पर्ने डलर अवैध सुन प्रकरणसहितका अनुसन्धान रोकेको छ । अनि दोष कांग्रेसलाई दिएको छ । यो गम्भीर विषय भयो ।’

उनले अगाडि भने, ‘हामीले पार्टी बैठकमा उठाउँछौँ । कसैलाई सत्ताको भर्याङ बन्दा जनताका सामु हामी निरीह भयौँ । हामी नै भ्रष्टाचारलाई बढावा दिएका जस्ता भएका छौँ । यसरी अब चल्दैन । सरकारको काम कारबाही चित्त बुझ्दो छैन । हामीले पार्टी बैठकमा कुरा उठाउँछौँ ।’

बैठकले यसपालि विशेष रणनीति बनाएरै कांग्रेस बैठकमा सहभागी हुने गरी मोटामोटी खाका बनाएको हो । 

एक वर्षको अन्तरालपछि गत साउन २ गते बसेको बैठकले विधानअनुसार हरेक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएबमोजिम बिहीबार असोज ४ गतेका लागि डाकेको हो । 

साउनमा बसेको बैठकमा एकलौटी ढंगले संस्थापन इतर पक्षलाई आरोप प्रत्यारोप गर्नमा संस्थापनका नेताहरुले समय खर्चिएपछि यसपालि भने संस्थापन इतर पनि आक्रामक भएर पेश हुने रणनीति बनिरहेको बुझिन्छ । 

साउनमा भएको बैठक कांग्रेसले पहिलो पटक प्रत्यक्ष प्रसारण गरेको थियो । जसमा दुनियाँले देख्ने र सुन्ने गरी नै आरोप प्रत्यारोप चलेको थियो । 

त्यतिमात्र होइन सभापति शेरबहादुर देउवालाई भगवान् जसरी नै संस्थापनका केन्द्रीय सदस्यहरुले प्रस्तुत गरेका थिए । 

त्यसैगरी पार्टीको आन्तरिक गतिविधि पनि सन्तोषजनक नभएको भन्दै शेखर–गगन पक्ष रुष्ट छ । 

भ्रातृ संस्थाहरुको चुनावको प्रसङ्गलाई ओझेलमा पारेर हचुवाका भरमा केन्द्रीय सदस्यहरु मनोनित गरेकोप्रति संस्थापन इतर समूह असन्तुष्ट बनेको छ । 

भ्रातृ संस्थाहरुलाई चलायमान बनाउनुको सट्टा उल्टै आपसमा फुटाउने शैली संस्थापनले लिएको भन्दै प्रतिवाद गर्ने योजनासमेत बनेको पाइएको छ । 

महिला संघमा त शेखर–गगन पक्षले केही जिल्लामा समानान्तर समूह गठनसमेत गरेको छ । 

२०७८ सालको मंसिर अन्तिममा कांग्रेसको १४ औँ महाधिवेशन भएको भए पनि अहिलेसम्म केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छैन । 

२०८२ सालमै पार्टीको १५ औँ महाधिवेशन गर्न दबाब दिने गरी नै संस्थापन इतर पक्ष लाग्नेसमेत बुझिएको छ।

shekhar-samuha-2080-06-02 (1).jpg
shekhar-samuha-2080-06-02 (2).JPG
shekhar-samuha-2080-06-02 (3).JPG
shekhar-samuha-2080-06-02 (4).JPG
shekhar-samuha-2080-06-02 (5).JPG
shekhar-samuha-2080-06-02 (6).JPG
shekhar-samuha-2080-06-02 (7).JPG
shekhar-samuha-2080-06-02 (8).jpg
shekhar-samuha-2080-06-02 (9).jpg
shekhar-samuha-2080-06-02 (10).jpg
shekhar-samuha-2080-06-02 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ