काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली र जापानको व्यावसायिक फुटबल टोलीबीच मैत्रीपूर्ण च्यारिटी फुटबल हुने भएको छ । खेल आगामी मङ्सिर ४ गते हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
एन्फा र जापानी सामाजिक संस्था कलरबाथको संयुक्त आयोजनामा हुन लागेको उक्त मैत्रीपूर्ण खेल भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका लागि सञ्चालन गर्न लागिएको जनाइएको छ ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा केही अस्थायी प्यारापिट निर्माण गरी खेल खेलाइने तयारी समेत भइरहेको जनाए ।
कलरबाथ नेपालका अध्यक्ष गणेशमान लामाले भूकम्पले क्षतिग्रस्त भएका विद्यालय तथा फुटबल प्रशिक्षण दिन सकिने मैदान निर्माणमा च्यारिटीबाट उठेको रकम सहयोग गरिने बताए ।
मैत्रीपूर्ण खेलका लागि सन् २००२ को विश्वकप फुटबलमा जापानबाट प्रतिनिधित्व गरेका टोडा काजुयुकीको नेतृत्वमा १६ सदस्यीय टोली मङ्सिर २ गते नेपाल आउनेछ ।