arrow

जहाँ सिमी बेचेरै चल्छ जीवन

ढुवानीमा अनुदान दिँदै परियोजना 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० असोज ९ मंगलबार
simi-mugu.jpg

मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं ६ पचच्या भन्ने ठाउँमा सोमबार पुग्दा किसानहरू पाकेको सिमी चुटन मै व्यस्त देखिन्थे । घरमा रहेका बालबच्चा, महिला, जेष्ठ नागरिक सबै गराहरूमा पुगी कोही सिमी चुट्न त कोही सिमी उखेल्न त कोही सिमी बताई रहेका थिए । 

मुगु जिल्लामा सिमी उत्पादनको राम्रो क्षेत्र मानिने मन्दु गाउँका स्थानीयहरू हिजोआज सिमी भित्राउने चटारोमा छन् । सोही अनुसार पचच्या भन्ने स्थानमा रहको जग्गामा मुन्दालहरु सिमी उखेल्न, बताउन र चुटन थालेका हुन । मुन्दु गाउँमा ७० भन्दा बढी घरधुरी रहे पनि मुस्किलले एक दुई जना मात्र नोकरीमा छन् ती पनि अस्थायी र करार गाउँलेहरूको प्रमुख आयस्रोत भनेको भेडा पालन, जडीबुटी, सिमी, आलु, मह नै हो । 

जिल्ला सदरमुकाम गमगढीबाट २ घण्टाको पैदल दुरीमा यो गाउँ रहे पनि बत्ती मुनिको अँध्यारो जस्तै छ । बजार नजिक भएर पनि यातायातका साधनको सुविधा नहुँदा पैदलै हिँडेर आफुले उत्पादन गरेका कृषि र मासु जन्य उत्पादनहरू गमगढी बजारमा विक्रीका लागी लिने गर्दछन् । 

'हाम्रो आम्दानी गर्ने अरू स्रोतका साथै सिमी दाल बाली पनि प्रमुख हो , सिमी बेचेर आएको पैसाले बालबच्चा पढाउने, औषधी उपचार गर्ने, लुगाफाटो किन्ने र अन्य घर खर्च चलाउने गछौ' मुन्दु गाउँका स्थानीय टेकेन्द्र ऐडीले बताए । उनले भने.' म कक्षा ११ पढ्छु मेरो पढाइको सबै खर्च सिमी बेचेरै आएको पैसाले धान्ने गरेको छ ।' सिमीले नै सबै धान्ने भएकाले आफूहरूका लागी सिमी बाली भविष्यदाता भएको पनि कृषक ऐडीले बताए ।

काखमा दुधे बालक च्यापेर सिमी चुट्दै गरेकी स्थानीय पुनी बोहरा 'आफ्नो गाउँमा सिमी राम्रो उत्पादन हुने तर बाबुबाजे देखि गदै आएको खेतीमा पछिल्लो समय उत्पादनमा कमी हुने गरेको छ हामीले खेती गर्न जानेनौ की बिउ पुरानो भयो वा माटो बिग्रियो थाहा छैन कसैले तालिम, बिउ र गरा बनाउने सिकाए हाम्रो उत्पादन झन् राम्रो हुने थियो । गमगढीमा मात्र बिक्री विक्री गछौ तलतिर कहाँ लाने थाहा छैन' भन्छिन् ।

 हुन पनि यहाँको सिमी राम्रो गुणस्तरको भए पनि ठुला बजारतिर विक्रीको मेसो नपाउँदा सदरमुकाम गमगढीमा मात्र सीमित हुन पुगेको छ । गाउँलेहरूले आफ्ना अन्य ठाउँका जग्गामा सिमी खेती गरे पनि प्राय सबै गाउँलेहरूको पचच्या भन्ने स्थानमा सिमीको ठुलो खेती गरेका छन् । 

५४ जना स्थानीयहरूको १० हेक्टर बढी जग्गा छ र पुरै जग्गामा सिमी खेती गरेका छन् मन्दु गाउँका जेष्ठ नागरिक धनरुप बोहरा भने । बजारमा सिमीको मूल्य राम्रो छ पहिला पाथीको २५० मा विक्री हुने सिमी अहिले ५०० रुपियाँ पाथी मूल्य पर्छ । अहिले पनि पुरानै ढङ्गले सिमी खेती गदै आएको बताउने बोहरा नयाँ नयाँ खेती बारे सरकारले किसानलाई सिकाउनु पर्ने माग गर्छन् । 'सरकारका नाममा सिमी जोनले सिमी भण्डारणका लागी भकारी र बिउ दिएको छ हामीलाई घेरवार, सिचाई, तालिम र औजार पनि दिनु पर्‍यो ।'
 
सिमी विक्रीबाट मात्र एक सिजनमा गाउँलेहरूले १ लाख देखि बढी रुपियाँ भित्राउने गरेको अनुमान गरिएको छ । अहिलेसम्म कति उत्पादन र विक्री हुन्छ सरकारी तवरबाट रेकर्ड राख्ने गरिएको छैन । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय रहेकाले सिमी विस्तार कार्यक्रम अन्तरगत कृषक, उत्पादन, विक्री र खेती क्षेत्र बारे रेकड राखिने परियोजना कार्यान्वयन इकाई कार्यालय प्रमुख तेज विक्रम मल्ल बताउँछन् ।

उनी भन्छन्, ' मुगुका कयौँ गाँउहरुका खेतीपाती गर्ने जमिन सिमी, ओखर, स्याउ र जडीबुटीका लागी उर्वर र उत्तम छन् तर हामीसँगको सीमित साधन, स्रोत र पुजीले पहिचान र उपयोग गर्न सकिएको छैन ।'
 
यो वर्षबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय मुगुले सिमीको राम्रो बजार देखेकाले कृषकहरूलाई सिमी ढुवानीमा अनुदान दिन लागेको जानकारी गराए । उनले भने.' कृषकहरूले उत्पादन गरेर नेपालगंग, सुर्खेत, पोखरा, बुटवल र काठमाडौँसम्म विक्रीका लागी लैजान ढुवानी खर्च नपाएर घर मै कुवाउने तर बजारमा माग हुने स्थिति देखेपछि कार्यालयले यो वर्षबाट कृषकहरूलाई सिमी ढुवानी अनुदान दिन लागेको छौ ।' 

ढुवानी अनुदान लिनका लागी कृषकहरूलाई आफ्नो उत्पादन यकिन गरि आवेदन दिन लगाउने यसरी आएका आवेदन र स्थलगत अनुगमन पछि सिमी उत्पादन र विक्रीको यकिन तथ्याङ्क आउनेछ । 



नयाँ