arrow

भारतसँगको सीमा झुलाघाट नाका बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
Jhulaghta-pul.jpg

बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका अर्को सूचना जारी नभएसम्म बन्द रहने भएको छ । 

महाकाली नदीमाथिको रहेका झोलुङ्गे पुल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । 

पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले मङ्गलबार पनि सीमा नाकामा आवागमन बन्द गरिएको हो । यसअघि मर्मतकै लागि भनेर सोमबार पनि आवागमन बन्द गरिएको थियो तर मर्मतको काम नसकिएको भन्दै मङ्गलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन स्थगन गरिएको प्रजिअ पन्थीले बताए ।

अर्को सूचना जारी नहुँदासम्मका लागि दैनिक बिहान ८:४५ देखि दिउँसो १:१५ बजेसम्म र दिउँसो २:१५ बजेदेखि पुन: ४:१५ बजेसम्म पुलमा आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको हो । यसअघि सीमा क्षेत्रमा नेपाल-भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने विषयमा दुवै पक्षका अधिकारीबीच सहमति भएको थियो । झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करिब डेढ सय वर्ष अगाडि निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । यसअघि गत असारमा पनि पुल मर्मत गरिएको थियो । 

तत्कालका लागि काम दिने गरी मर्मत हुने पुलमा जोखिम भने कायमै छ । पुरानो काठको पुल भारतीय पक्षले बेला-बेला काम चलाउको लागि मर्मत गरे पनि पूर्णरूपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा सयौँ मान्छे दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

झुलाघाट नाका सदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा चिनिन्छ । झुलाघाटस्थित महाकाली नदीमा पक्की पुल नहुँदा जीर्ण पुलबाटै आवतजावत गर्ने गरिएको छ ।



नयाँ