arrow

१६ श्राध्द शुरू

पितृपक्ष र श्राध्दको शास्त्रीय महिमा

logo
तुलसी पन्थी, 
प्रकाशित २०८० असोज १३ शनिबार
tulasi-panthi-2080-06-13.jpg

चन्द्रमासअनुसार आश्विन कृष्ण पक्षलाई पितृ पक्ष भनिन्छ । यस पक्षमा भाद्र शुक्ल पूर्णिमा एक तिथि र आश्विन कृष्ण पक्षका प्रतिपदादेखि ‍‍औँशीसम्मका पन्ध्र तिथिसमेत सोह्र तिथिमा दिवंगत पितृहरूको श्राध्द गरिने हुँदा बोलचालमा सोह्र श्रात भन्ने गर्दछन् । 

यो पक्ष पितृहरूको पर्व हो । विभिन्न पुराण र ऋषिमुनिहरूले श्राध्दको परिभाषा गरेका छन् । ब्रह्मपुराण अनुसार- 
देशे काले च पात्रे च श्रध्दया विधिना च यत् । 
पितृनुद्देश्य विप्रेभ्यो दत्तंश्राध्द मुदाहृतम् ।।

अर्थात्- देश, काल र पात्रमा श्रध्दाद्वारा जुन भोजन पितृहरूका उद्देश्यले ब्राह्मणहरूलाई दिइन्छ श्राध्द भनिन्छ । बृहस्पतिको मत अनुसार- 
संस्कृतं व्यञ्जनाद्यञ्च पयोमधुघृतान्वितम्। 
श्रध्दया दीयते यस्माच्छ्राध्दं तेन निगद्यते ।। 

अर्थात्- जुन कर्ममा राम्रोसँग पकाएको उत्तम परिकारहरू दूध, ध्यू र महका साथ श्रध्दापूर्वक पितृहरूका उद्देश्यले ब्राह्मणादिहरूलाई प्रदान गरिन्छ त्यसलाई श्राध्द भनिन्छ ।
     
शास्त्रहरूमा वर्षभरिमा ९६ श्राध्दहरूको वर्णन गरेको पाइन्छ । हाम्रो नेपाली समाज र व्यवहारमा खास गरी चार किसिमका श्राध्दहरू गर्ने प्रचलन रहेको छ ।

एको‌‌दि्दष्ट श्राध्दः- एकोद्देशेन क्रियामाणमेकपिण्डयुतमेकोदि्दष्टम् (धर्म सिन्धु) ।

अर्थात् एउटै मृतकको उद्देश्यले एउटा पिण्ड दिएर गरिने श्राध्द एकोदि्दष्ट हो । पितृ दिवंगत भएको तिथिमा एकोदि्दष्ट श्राध्द गरिन्छ ।

आभ्युदयिक नान्दी श्राध्दः- पुत्रजन्म, विवाह, नामकरण, चूडाकर्म, गृह प्रवेश, जातकर्म, यज्ञादिमा गरिने वृध्दिश्राध्दलाई नान्दी श्राध्द भनिन्छ ।

तीर्थ श्राध्दः- तीर्थहरूमा गएर गरिने श्राध्दलाई तीर्थ श्राध्द भनिन्छ । काशी, गयाजी, बदरीनाथको ब्रह्मकपाली, कागवेनी लगायतका विभिन्न तीर्थहरूमा गई गरिने श्राध्दहरू तीर्थ श्राध्द हुन् ।
             
पार्वणश्राध्दः- पर्वणि भवं पार्वणम् भनेकाले पर्वमा गरिने श्राध्द पार्वण हो भन्ने बुझिन्छ । पार्वण श्राध्द तीन प्रकारका हुन्छन्- एकपार्वण, व्दिपार्वण र त्रिपार्वण ।

एकपार्वणश्राध्दः- पिता आदिका मृततिथिमा पिता, पितामह, प्रपितामह आदि तीन ओटाको उद्देश्यले गरिने तीन पिण्डले युक्त एकपार्वण श्राध्द हुन्छ ।

व्दिपार्वणश्राध्दः- पिता, पितामह, प्रपितामह सपत्नीक तीन र मातामह, प्रमातामह र वृध्दप्रमातामह सपत्नीक तीन गरी छ ओटा पिण्ड दिने श्राध्द व्दिपार्वणश्राध्द हो ।

त्रिपार्वणश्राध्दः पिता, पितामह, प्रपितामह तीन माता पितामही प्रपितामही तीन र मातामह प्रमातामह वृध्दप्रमातामह सपत्नीक आदि तीन ओटाको उद्देश्यले श्राध्द हुन्छ ।

महालयश्राध्दः श्राध्दहरूमा महालयश्राध्द प्रसिद्ध छ । महालयश्राध्द आश्विनकृष्ण पक्षको प्रतिपदादेखि  औँशीसम्म १५ दिन र भाद्र/पूर्णिमासमेत १६ दिनको महालय हुन्छ भन्ने छ । शास्त्र अनुसार पितृ पक्षको हरेक दिन माहलयश्राध्द गर्नुपर्छ यो मुख्य पक्ष हो । 

१६ दिन असमर्थ भए पञ्चमीदेखि औँशीसम्म ११ दिन, ११ दिन असमर्थ भए अष्टमीदेखि औँशीसम्म आठ दिन, त्यो पनि असमर्थ भए दशमीदेखि औँशीसम्म छ दिन, छ दिन पनि असमर्थ भए सप्तमीदेखि औँसीसम्म कुनै एक दिन व्दिपार्वण विधिले श्राध्द गर्नु पर्दछ । पितृपक्षमा कुनै एक दिन गरिने महालयलाई सकृन्महालयश्राध्द भनिन्छ ।

श्रध्दापक्ष एवं श्राध्दकर्मः दुवै वेदोक्त उवं शास्त्रोक्त छन् । श्रध्दापूवक मन्त्र उच्चारण गरेर यसलोकबाट परलोक गएका पितृहरुलाई तृप्त गर्न शास्त्रविधि अनुसार गरिने कृया श्राध्द र जुन पक्षमा गरिन्छ त्यो श्राध्दपक्ष हो । 

यस लोकको साथसाथै परलोकप्रति विश्वास राख्ने आर्यजातिलाई आफ्ना पिता,पितामह, प्रपितामहलगायत सबै पितृहरूको सद्गति र तृप्तिको लागि श्राध्दक्रिया नियमित भएको हो । 

मनुष्य जन्मदा नै तीन ओटा ऋण लिएर जन्मेको हुन्छ । ती हुन् देवऋण, ऋषिऋण र पितृऋण । पितृऋण सम्बन्धमा शास्त्रमा भनिएको छ - न तस्य निष्कृतिः शक्या कर्तुं वर्षशतैरपि । 

अर्थात् मातापिताको उपकारको ऋण सय वर्षमा त के सय योनिमा पनि तिर्न सकिन्न । उनीहरुको नाममा दान गर्दा उनीहरूको आत्मा तृप्त हुन्छ । लोकान्तर गमनमा सहायक हुन्छ । प्रेतयोनिमा भए प्रेतत्व हट्छ । यथाविधि पिण्डदान गर्दा कष्टमुक्ति हुने शास्त्रमा उल्लेख छ ।

श्रीमद्भगवत गीतामा भनिएको छ- पतन्ति पितरो ह्यषां लुप्तपिण्डोदकक्रिया । अर्थात् पिण्डादि, तर्पणादि क्रियाहरू लोप भएमा उसका पितृहरूको अधपतन हुन्छ । 

शास्त्रमा भनिएको छ-

जीवतो वाक्यकरणात् क्षयाहे भूरिभोजनात्।

गयायां पिण्डदानाच्च त्रिभिः पुत्रस्य पुत्रता ।।

अर्थात्- पिता जीवित रहँदा पिताको आज्ञा मान्ने, मरणपछि क्षयतिथिमा श्राध्द गर्ने र गयामा गएर पिण्ड दिने पुत्रको पुत्रता सार्थक हुन्छ ।

पितृपक्षमा पितृगण स्वयं श्राध्दग्रहण गर्न आउँछन् । श्राध्द मिलेमा प्रसन्न हुन्छन् र नमिलेमा निराश भई श्राप दिएर फर्कन्छन् ।

विष्णु पुराण अनुसार –

अपि धन्यः कुले जायादस्माकं मतिमान्नरः।

अकुर्वन्वित्तशाठ्यं यः पिण्डान्नो निवर्पिषंयति ।।

अर्थात् - हाम्रो कुलमा के कोही यस्तो बुद्दिमान् धन्य पुरुष उत्पन्न होला जसले धनको लोभ त्यागेर हाम्रो लागि पिण्डदान गर्ला ।

श्राध्दको महिमा सम्बन्धमा विभिन्न पुराणहरूका केही उध्दरणहरूः
 

आदित्यपुराणः
     न सन्ति पितरश्चेति कृत्वा मनसि यो नरः। श्राध्दं न कु कुरुते तत्र तस्य रक्तं पिबन्ति ते ।।
    
अर्थः पितृहरू छैनन् भनेर दुर्बुध्दिवश श्राध्द नगर्नेको रगत पितृहरूले पान गर्दछन् ।
      
कर्मपुराणः
        यो येन विधिना श्राध्दं कुर्यादेकाग्रमानसः ।
        व्यपेतकल्मषो नित्यं याति नावर्तते पुनः ।।

    
अर्थः एकाग्रचित्तलेश्राध्द गर्ने पुरुष समस्त पापबाट मुक्त हुन्छ संसारचक्रमा आउँदैन ।
      
मार्कण्डेयपुराणः
     आयुः प्रजांधनं विद्यां स्वर्गं मोक्षं सुखानि च ।

प्रयच्छन्ति तथा राज्यं पितरः श्राध्दतर्पिताः ।।
   अर्थः श्राध्दबाट तृप्त पितृहरूले श्राध्दकर्तालाई दीर्घायु, सन्तति, धन, विद्या, सुख, राज्य, स्वर्ग र मोक्ष दिन्छन् ।

  विष्णुपुराणः-

श्राध्दकालमा भक्ति एवं विनम्र चित्तले उत्तम ब्राह्मणलाई यथाशक्ति भोजन गराउनु । भोजन गराउन असमर्थ भए ब्राह्मणलाई काँचो अन्न र थोरै दक्षिणा दिँदा त्यो श्राध्द पनि उत्तम हुनेछ । 

यसमा पनि असमर्थ भए आठ तिलले जलाञ्जलि दिनू । यो पनि गर्न नसके घाँस ल्याएर श्रध्दापूर्वक गाईलाई खुवाउनू । सबै कुराको अभाव भई श्राध्द गर्न असमर्थ भए एकान्त कुनामा दुवै हात माथि उठाएर श्री सूर्य र दिक्पालहरूसँग उच्चस्वरले भन्नु कि मसँग श्राध्द गर्ने धन सामग्री केही भएन । 

अतः म आफ्ना पितृगणहरूलाई नमस्कार गर्छु । उनीहरू मेरो भक्तिबाट नै तृप्तिलाभ गरुन् ।

नोमेऽस्ति वित्तं न धनं च नान्य च्छ्राध्दोपयोग्यं स्वपितृन्नतोऽस्मि।
तृप्यन्तु भक्त्या पितरो मयैतो कृतौ भुजौ वर्त्मनि मारुतस्य ।।

       
श्राध्दका विधि र नियमः-
संक्षिप्त विधिः श्राध्दका दिन श्राध्दकर्ता स्नान जप गरी नयाँ जनै लगाई शुध्द धोती लगाएर कुशानमा बस्नु पर्दछ । श्राध्द आरम्भ गर्दा दियो बलेर प्रायश्चित्तगोदान गरिन्छ । 

गोदानपछि देवता, ऋषिगण र पितृहरूलाई तर्पण दिइन्छ । कुशका ब्राह्मणलाई चामलको टपरीमा राखी प्राणप्रतिष्ठा पश्चात् निमन्त्रणा गरी ब्राह्मणलाई प्रार्थना गर्ने । 

पादार्घ गरेर कर्मपात्र बनाई प्रतिज्ञासङ्कल्प गर्ने । पितृदेवस्मरण पश्चात दिग्वन्धन गरेर निविबन्धन् गर्ने । ब्राह्मणलाई कुशको आशन दिएर ब्राह्मणलाई हस्तार्घ दिने ।

ब्राह्मणलाई जल चन्दन अक्षता फूल जनै सुपारी वस्त्र भेटी आदि चढाई धूप बत्ती नैवेद्य अर्पण गर्ने ।

भूस्वामिलाई अन्न सङ्कल्प गरी ब्राह्मणलाई अन्न सङ्कल्प गर्ने । ब्राह्मण मौन भएर खाँदै हुनुहुन्छ भन्ने कल्पना गरी पितृसूक्त पाठ गर्ने । 

विकिरलाई पिण्ड दिएर ब्राह्मणको आज्ञा लिएर पिण्ड वेदी निर्माण गरी पितृलाई पिण्ड दिने । पिण्ड पूजा गरी आशीः प्रार्थना पश्चात वसन्तादि पूजा गरी पितृलाई कपुरबत्ती देखाउने ।

कुशका ब्राह्मणलाई दक्षिणा दिई भूयसी दक्षिणा सङ्कल्प गरी ब्राह्मण विशर्जन गर्ने । श्राध्द गराउने ब्राह्मणबाट टीका र आशीर्वाद लिने । 

श्राध्दमा ब्राह्मणवचनात्सर्वं परिपूर्णमस्तु भनेको छ ।

श्राध्द श्रध्दापूर्वक पितृहरूको लागि गरिने कार्य भएकोले शास्त्रमा यसका नियमहरू बताइएको छ ।

पितृ पक्षमा श्राध्द गर्ने श्राध्द कर्ताले पितृपक्षभर सात्विक भोजन गरी ब्रह्मचर्यमा रहनु पर्दछ । यस अवधिभर कुनै देवस्थलमा जानु पनि निषेध गरिएको छ । श्राध्दको अघिल्लो दिन कपाल खौरी हात गोडाका नङ काटी एकछाक खानु पर्दछ ।

श्राध्दकर्ता र श्राध्दभोक्ता दुवैद्वारा श्राध्दका दिन निषिध्द विषयः

श्राध्दकर्ताः दाँत माझ्नु, पान खानु, तेल लगाएर स्नान,भोजन गर्नु, रतिक्रीडा, औषधी सेवन र अरूको देखाउने । कुशका ब्राह्मणलाई दक्षिणा गरी भूयसी दक्षिणा सङ्कल्प गर्ने । 

कुशका ब्राह्मणलाई विसर्जन गरी श्राध्द गराउने ब्राह्मणबाट टीका र आशीर्वाद लिने । ब्राह्मणवचनात्सर्व् परिपूर्णमस्तु भनेको हुँदा अन्न खानु यी सात कुरा वर्जित् छन् ।

श्राध्दभोक्ताः पुनः भोजन, यात्रा, भारी बोक्नु, अध्ययन, मैथुन, दान गर्नु, दान लिनु र हवन यी आठ कुरा वर्जित छन् ।

शास्त्रहरुले कुन श्राध्द कुन समयमा गर्ने भनेर बताए अनुसार एकोदि्दष्टश्राध्द मध्याह्न पार्वणश्राध्द अपराह्न र आभ्युदयिकश्राध्द पूर्वाह्नमा गर्नु पर्दछ ।

श्राध्द गर्ने स्थानः- प्रत्येक गृहस्थीले नियमित श्राध्द सम्भव भएसम्म घरमै गर्नु पर्दछ । बन्धु बान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठामा श्राध्द गर्न सकिन्छ ।

 डेरागरी बस्नेहरूले नजिकको तीर्थक्षेत्र, मन्दिर वा नदीतटमा गई श्राध्द गर्नु उपयुक्त हुन्छ । यी स्थानहरू उपलब्ध नभएमा घरमालिकको स्वीकृतिमा निजको घरको आगनमा तुलसीको मठ छ भने सोही स्थानमा श्राध्द गर्दा दोष लाग्दैन भन्ने शास्त्रको भनाइ रहेको छ । 

कुनै कामना विशेषले गरिने श्राध्द तोकिएकै स्थानमा गई गर्नु पर्दछ ।

विधूर्ध्वभागे पितरो वसन्ति भन्ने वचन अनुसार पितृहरू दक्षिण दिशामा चन्द्रकक्षको माथिल्लो भागको पितृलोकमा बस्छन् । 

श्राध्दमा आयन्तु नःपितरः सोम्यासोऽनिष्वात्ताःपथिभिर्देवयानैः जस्ता वैदिक मन्त्र पढेर पितृको आह्वान गरिन्छ । 

दक्षिण दिशामा रहेका पितृहरूको लागि दक्षिण फर्केर श्राध्द गर्नु पर्दछ ।

श्राध्दमा प्लाष्टिक,स्टील र फलामका भाँडावर्तन प्रयोग निषेध मानिएको छ । कर्ताको सामर्थ्य अनुसार सुन, चाँदी, काँस वा तामाका भाँडाहरू र सालका पातबाट बनेका दुना- टपरीहरू प्रयोग गर्न सकिन्छ । केराको पात प्रयोग निषेध गरिएको छ ।
     
श्राध्दका दिन पितृकर्म प्रमुख भएको हुनाले पिण्डदानको कार्य सम्पन्न नभएसम्म भिक्षा दान, देवपूजन, ब्रह्मचारी, तपश्वी आदिको अतिथ्यादि कुनै काम गर्नु हुँदैन ।

श्राध्दमा प्रायः गाईको दूधमा पकाएको खिर वा जौको पिठोको पिण्ड दिने चलन छ । पिण्डपाक स्वयं कर्ताले बनाउन नसके शुध्द पत्नीले पत्नीको अभावमा सपिण्डले या गुणयुक्त मित्रले पाक बनाउनु तर छोरी र भिन्न वंश र गोत्रकाले पाक बनाउनु हुँदैन ।

श्राध्दमा रातो फुल निषेध गरिएको छ । तुलसी, भृङ्गीराज, सयपत्री, अगस्त्यपुष्प आदि फूलहरु ग्राह्य मानिएका छन् ।

कुनै कारणवश श्राध्द रोकिएमा त्यो श्राध्द अर्को कृष्णपक्षको एकादशी वा अमावस्यमा गर्नु पर्दछ । जननाशौच (सुतक) को कारण रोकिएको श्राध्द ११ दिनमा र मरणाशौच (जुठो) को कारणबाट रोकिएको श्राध्द १३ दिनमा गर्नु पर्दछ ।

पत्नी रजस्वला भएमा एकोदि्दष्ट श्राध्दकर्ताले आफैँ सामान तयार गरी गर्न हुन्छ । तर पार्वणश्राध्द रजोदर्शनका सातौँ दिनमा गर्नु पर्दछ ।

कारणवश महालय श्राध्द आश्विन कृष्णपक्षमा गर्न पाइएन भने आश्विन शुक्ल पञ्चमीसम्म गर्नु त्यहाँ पनि सम्भव नभए सूर्य वृश्चिक राशिमा जानुभन्दा पहिले तुला राशिमा सूर्य छँदै कुनै एकदिन गर्नु पर्दछ । लक्ष्मीपूजाका दिनमा पनि महालय श्राध्द गर्ने विधान धर्मशास्त्रहरूमा बताएको छ ।

महर्षि काषर्णाजिनिका अनुसार

वृश्चिके समनुप्राप्ते पितरो दैवतैः सह ।

निःश्वस्यप्रतिगच्छन्ति शापं दत्वा सुदारुणम् ।।

अर्थः कन्या राशिपछि वृश्चिक राशिमा सूर्य गएपछि श्राध्द नपाएका पितृहरू लामो सास फेर्दै निराश भई श्राप दिएर पितृलोक जान्छन् । 

अतः आश्विन कृष्णपक्षमा श्राध्द गर्न नपाए तुला राशिमा सूर्य छँदै कार्तिक महिना भित्र श्राध्द गर्नु पर्दछ । (सन्दर्भ श्रोतः निर्णय शिन्धु र श्राध्दविधिः )
 



नयाँ