काठमाडौं । नेपालमा पहिलो पटक विश्व जुडो दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ)ले आफ्ना सदस्य राष्ट्रलाई विभिन्न कार्यक्रम गरी विश्व जुडो दिवस मनाउन आव्हान गरे अनुरुप नेपाल जुडो संघले यो वर्ष शुक्रबार प्रभातफेरी आयोजना गरी विश्व जुडो दिवस मनाएको हो ।
प्रभातफेरीको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले रिबन काटेर उद्घाटन गर्नु भयो । प्रभातफेरी त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ शहिद गेट, भद्रकाली, माइतीघर, थापाथलीहुँदै पुनः दशरथ रंगशालामा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
प्रभातफेरीमा पाम, केन्द्रीय डोजो, सीडब्लुसीएन, होप्याड, ओसिडका जुडो खेलाडी र पदाधिकारी, पारा जुडो खेलाडी, राष्ट्रिय जुडो खेलाडी, नेपाल जुडो संघका पदाधिकारी तथा प्रशिक्षक गरी करिब डेढ सय बढी सहभागि भए । यो वर्षको विश्व जुडो दिवसको नारा ‘जुडो फर द वल्र्ड’ रहयो ।
नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले पहिलो पटक नेपालमा पनि जुडो दिवस मनाउन सुरु गरिएको र यसले आगामी दिनमा निरन्तरता पाउने बताए । अध्यक्ष वज्राचार्यले आईजेएफका विभिन्न १९६ सदस्य राष्ट्र र ५ महादेशीय महासंघले पनि विभिन्न कार्यक्रम गरी जुडो दिवस मनाएको जानकारी गराए ।
आईजेएफले जुडोका जन्मदाता प्रोफेसर जिगारो कानोको जन्म दिन अक्टोबर २८ लाई विश्व जुडो दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुरुप २०११ देखि विश्व जुडो दिवस मनाउन थालिएको हो ।