कृष्णबहादुर महरालाई चोख्याउँदै सीआईबीले छोरा राहुललाई गर्यो मुद्धा चलाउन सिफारिस
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सिगरेट (भेप) मार्फत गरिएको सुन तस्करी प्रकरणमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरालाई उन्मुक्ति दिँदै उनका छोरा राहुल महरालाई भने मुद्धा चलाउन सिफारिस गरेको छ ।
आइतबार सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महरालाई उन्मुक्ति दिएर राहुललाई मात्रै प्रतिवादी बनाएको हो । राहुलसँगै दाओजिन वाङ उनका गाडी चालक लोकेन्द्र पौडेललाई पनि मुद्धा चलाउन सिफारिस गरेको हो ।
सीआईबीले गरेको अनुसन्धानमा महरा बाबु छोरा दुवैले चिनियाँले ल्याएको भेप भन्सार कार्यालयबाट छुटाउने प्रयास गरेको स्वीकार गरेका छन् । राहुल महराले दावाजिनसँग पटक पटक फोनमा कुराकानी भएको पनि स्वीकार गरेका छन् ।
‘मेरो फोनमा कुराकानी हुँदा एक दिन दावाजिनले तपाई नै भन्सारमा गएर बुझिदिनुपर्यो भनेकोले मैले पनि के भएको रहेछ बुझौँ न त भनी म एअरपोर्ट गएको हुँ,’ बयानमा राहुलले भनेका छन्, ‘भन्सार कार्यालय अगाडि दावाजिन र उनका ड्राइभर लोकेन्द्रकुमार पौडेल र मैले नचिनेका दुई जना चिनियाँहरूसँग भेट भएपछि म लोकेन्द्र र तिब्बतीयन जस्तो देखिने नेपाली बोल्न जान्ने १ जना व्यक्तिसमेत हामी ३ जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको कार्यकक्षमा गएको हो ।’
अरुण पोखरेललाई उनको कार्यकक्षमा भेटी जफत भएको उक्त इलेक्ट्रिक सिगरेटलाई के गर्न सकिन्छ भनी कुराकानी हुँदा उक्त भेप लिलामी प्रक्रियामा जाने र भन्सार तिरेर लैजान नमिल्ने कुरा बताएछि आफू घर फर्केको दाबी गरेका छन् ।
उनले चिनियाँ तस्कर दावाजिन वाङसँग ११ वर्ष पहिले नै चिनजान भएको बयानमा बताएका छन् । सन् २०११ मा पढ्न जाँदा चिनमै उनीसँग चिनजान भएको राहुलको बयानमा उल्लेख छ ।
त्यसैगरी पूर्व सभामुख महराले पनि भेपमा राखेर सुन तस्करी गरेको अभियोगमा बयान दिँदै आफूले भन्सार प्रमुखलाई फोन गरेको स्वीकारी बयान दिएका छन् ।
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा महराले आफूले तत्कालीन भन्सार प्रमुखलाई पुरानो चिनजान भएको चिनियाँ व्यापारीको सामान के हो भनेर फोनमात्र गरेको जिकिर गरेका छन् ।
पूर्व सभामुख महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई छोड्नु भनेर दबाब भने नदिएको दाबी गरेका छन्।
चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्विकारेका छन्। वाङ्गले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएकाले त्यही रुपमा लिएर फोन गरेको भन्दै सुन तस्करीवारे जानकारी नै नभएको पनि बयानमा उल्लेख गरेका छन् ।
यस्तो छ राहुलको बयान
म २०१२ मा चीनको छन्दु भन्ने स्थानमा चिनियाँ भाषा अध्ययन गर्नको लागि चिनमा गएको समयमा चिनियाँ नागरिक दावाजिन वाङसँग चिनजान भएको हो। दावाजिनले तत्काल चिनबाट विभिन्न प्रकारका फलफुलहरु नेपालमा आयात गरी बिक्री गर्ने काम गरी आएको छु भनेका थिए । ६ महिना चिनमा चिनियाँ भाषा गरेर नेपाल फर्कि आएको हो । त्यसपछि दावाजिनसँग मेरो बेला बखत फोनमा सामान्य कुराकानी हुँदै आएको थियो ।
मलाई हाल एकिन मिति याद भएन दावाजिनले मलाई निजको मोबबाइल नं ९८०१०९९...बाट मलाई मेरो मोबाइल नम्बर ९८५११११...मा कल गरी मेरो साथीको इलेक्ट्रिक सिगरेट (भेप) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ मिल्दैन बुझिदिनु पर्यो भनि मलाई अनुरोध गरेको कारण मैले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरी इलेक्ट्रिक सिगरेट (भेप) एयरपोर्टमा रोकिएछ, के भएर रोकिएको हो भनी मुक्तिप्रसाद श्रेष्ठलाई सोधपुछ गर्दा निजले उक्त इलेक्ट्रिक सिगरेट जफत भएको छ, भन्सार तिरेर पनि फिर्ता दिन मिल्दैन, यो लिलामी प्रक्रियामा अगाडि बढ्छ भनी मलाई भनेका थिए । त्यसपछि पनि दावाजिन वाङले मलाई पटक पटक फोन गरी उक्त भेप को के भइरहेकोछ बुझिदिनु पर्यो भन्ने गरेका थिए ।
करिब दुई हप्तापछि निज दावाजिनसँग मेरो फोनमा कुराकानी हुँदा एक दिन दावाजिनले तपाईं नै भन्सारमा गएर बुझिदिनु पर्यो भनेकोले मैले पनि के भएको रहेछ बुझौं नत भनि म एयरपोर्ट जाँदा भन्सार कार्यालय अगाडी दावाजिन र उनका ड्राइभर लोकेन्द्र कुमार पौडेल र मैले नचिनेका दुई जना चिनियाँहरूसँग भेट भएपछि म लोकेन्द्र र तिब्बतीयन जस्तो देखिने नेपाली बोल्न जान्ने १ जना व्यक्ति समेत हामी ३ जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको कार्यकक्षमा गएको हो ।
अरुण पोखरेललाई निजको कार्यकक्षमा भेटी निजसँग अब जफत भएको उक्त इलेक्ट्रिक सिगरेटलाई के गर्न सकिन्छ भनी कुराकानी हुँदा उक्त भेप लिलामी प्रक्रियामा जाने भन्सार तिरेर लैजान नमिल्ने कुरा बताएका थिए । मसँगै गएका चिनियाँ जस्तो देखिने नेपाली बोल्न जान्न व्यक्तिले भेप हेर्न मिल्छ कि मिल्दैन, त्यही नै छ कि छैन छैन भनी अरुण पोखरेललाई सोध्दा अरुण पोखरेलले उक्त इलेक्ट्रिक सिगरेट हेर्न नमिल्ने बताए । भेप लिलामी हुने बताएपछि हामी तिनै जना फर्की म आफ्नो घर गएको थिएँ ।
यसमा मैले अरुण पोखरेललाई निजको मोवाइल नम्बर ९८४१२९५...मा एसएमएस गरेको मलाई याद छैन । मेरो फोन के कति पटक भयो याद छैन । मेरो आफ्नो काम विशेषले एक पटक अरुण पोखरेललाई भेट गरेको थिएँ । निज अरुण पोखरेललाई खुलाई लेखाई दिए जसरी उक्त भेपको विषयलाई लिएर निजको कार्यालयमा ६–७ पटक गई छुटाउनका लागि दबाब दिने काम गरेको थिएन, छैन । भेपमा अवैध रुपमा सुन लुकाएर ल्याएको कुरा पछि पत्रपत्रिकाबाट थाहा पाएको हुँ ।
मैले प्रयोग गरेको मोवाइल आइफोन १३ प्रोम्याक्स फुटेर बिग्रियो । दुई तीन पटक बनाउँदा पनि नबनिएपछि घरमा नै फालिदिएको थिएँ । आइफोन १४ प्रोम्याक्स मेरो साथी गोपाल शर्माको हो । उक्त मोबाइल मैले उसैलाई फिर्ता गरेको हो। हुवाइको फोन मैले घरमा नै राखेको थिएँ । मेरो आफन्तले घरमा खोज्दा ती फोन फेला नपरेको भनी मलाई जानकारी गराएकोले मैले उक्त मोबाइलहरू उपलब्ध गराउन सक्दिन ।
कृष्णबहादुर महराको कागज
२०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक लि हासोङले दुई वटा सुटकेस भित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) त्रीवी भन्सार कार्यालयमा जफत भए पश्चात दाओजिन वाङले उक्त सामान त्रीवी भन्सार कार्यालयमा पक्राउ परेका तीन दिन भयो, के भएको हो बुझि दिनु पर्ने भयो भनी मलाई भनेको तथा मैले अरुण पोखरेललाई पहिलेदेखि चिनेको भएको हुनाले के कसो भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरि दिनु होला भनी फोन गरेको हो ।
मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त इलेक्ट्रिक सिगरेट ९भेप० जफत भएको रहेछ, कानुन बमोजिम मिल्ने भए सहयोग गरी दिनु भनी अरुण पोखरेलको सम्पर्कमा गएका हुन् । निज दाओजिन वाङ सँग मेरो पुरानो चिनजान हो, निजले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएका थिए र निजसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गर्दथ्यो । यो बाहेक निजसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन भन्ने ब्यहोराको कृष्णबहादुर महराको कागज ।