arrow

इजरेलमा एक नेपालीको अवस्था अझै अज्ञात, मृतक १० जनाको शव ल्याउन छलफल

घाइते छ जनाको विभिन्न अस्पतालमा उपचार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
isreal-drone-missile-2022.jpg

काठमाडौँ । इजरेल आक्रमणमा पारि एक नेपालीको अवस्था अझै अज्ञात रहेको छ ।  

आक्रमणपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी हराइरहेका छन् । 

आतङ्कवादी समूह हमासको आक्रमणमा परी विपिनको अवस्था अझै अज्ञात रहेको तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ ।

आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । दूतावासले आक्रमणमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापनबारे इजरेल सरकारका सम्बद्ध अधिकारीहरूसँग छलफल गरिरहेको र नेपाल ल्याउने सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको बताएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार  १० मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ।

'पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरूले ज्यान गुमाएका, एक जना सम्पर्क विहीन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि भएको छ। मृतकहरूको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको छ' विज्ञप्तिमा छ,'मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ।' मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हमासको आक्रमणमा परी कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली कैलालीको बौनिया–३ का आशिष चौधरी, दार्चुलाको लेखम–५ का दीपेशराज विष्ट, सोही जिल्लाको मल्लिकार्जुन–४ का लोकेन्द्रसिंह धाँमीको मृत्यु भएको दूतावासले पुष्टि गरेको छ ।  

त्यसैगरी धनुषाको सपही–६ का आनन्द साह, सुनसरीको मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटीको पाञ्चाली–३ का राजन फुलारा तथा सोही जिल्लाको लमिखाल–८ का पद्म थापा, सल्यानको शारदा–३ का प्रवेश भण्डारीको मृत्यु भएको छ ।
 
नेपाली दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका छ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 



नयाँ