- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इजरेलमा जारी युद्धको चपेटामा परेकालाई तत्काल उद्धार गर्न माग गर्दै आफन्त मन्त्रालय पुगेका छन् । सोमवार परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरूले परराष्ट्र मन्त्री नारायणप्रकाश साउदसँग युद्धको चपेटामा परेका लोकेन्द्रबहादुर बिष्टसहितका नौ जना विद्यार्थीहरूको तत्काल सुरक्षित ढङ्गले नेपाल ल्याउन आग्रह गरेका हुन् ।
हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरु आक्रमणको शिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढङ्गले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी आमा चन्द्रा विष्टले बताइन् ।
सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थीहरू अध्ययनका लागि इजरेल गएका थिए । उनीहरूसँग आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले उनीहरु तनावमा रहेकाले सरकारले उनीहरूलाई सुरक्षित ढङ्गले नेपाल फिर्ता ल्याउन ढिलाइ गर्न नहुने पनि चन्द्राले बताइन् ।
पीडित पक्षले ती विद्यार्थीसँग पराराष्ट्रमन्त्री साउदसँग भर्चुअल सम्पर्क समेत गराएका थिए । यता सरकारले पनि सो युद्धमा निधन भएका नौ जनाको शव र फसेकाहरुको उद्धारको लागि विमानलाई तयारी अवस्था राख्ने निर्णय गरिसकेको छ ।
सरकारले इजरेलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा परराष्ट्र मन्त्री साउद नेतृत्वको समन्वय संयन्त्र गठन गरेको छ ।