- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरेल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ ।
घाइते भएका चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुई जनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एक जना नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।
“हाल युद्ध भइरहेको इजरेल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरूलाई कृषि प्रशिक्षण केन्द्र, इजरेली सुरक्षा संयन्त्र तथा नेपाली सङ्घसंस्थाको सहयोगमा दूतावासले उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।
नेपाल फर्कन इच्छुकहरूको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरेल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलनका लागि अनलाइन रजिस्ट्रेसन सुरु भई दुई सयभन्दा बढीको विवरण प्राप्त भइसकेको छ । राजदूतावासले इजरेलमा भएका नेपालीलाई संयमित एवं सतर्क भई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।