- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनलाई मध्यपूर्वमा शान्ति कायम गर्न आफ्नो ‘प्रभाव’ प्रयोग गर्न आग्रह गरेका छन्।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरका अनुसार साउदी अरबको भ्रमणमा रहेका अमेरिकी उच्च कूटनीतिज्ञले चिनियाँ विदेशमन्त्री वाङ यीसँग एक घण्टा लामो टेलिफोन वार्ता गरेका छन्।
“द्वन्द्व फैलनबाट रोक्नु सबैको साझा हितमा हुन्छ,” ब्लिन्केनको रियादबाट अबुधाबीका लागि उडेको विमानमा पत्रकारहरूसँग कुरा गर्दै भने ।
आफूहरूले मध्यपूर्वमा शान्तिका लागि काम गरिरहेको उनले बताए ।
“चीनले आफ्नो प्रभाव प्रयोग गर्नसके यो उपयोगी हुन सक्छ भन्ने हो,” बिदेशमन्त्री ब्लिन्केनलाई उद्धृत गर्दै मिलरले भने ।
बिदेशमन्त्री ब्लिन्केनले भने, “चीनको इरानसँग न्यानो सम्बन्ध छ, चीनको नेतृत्वले एक हप्ता अघि इजरेलभित्र भयानक आक्रमण गरेको गाजामा शासन गर्ने प्यालेस्टिनी इस्लामी समूह (हमास), हिजबुल्लाह, लेबनानी शिया मिलिशियालगायतसँग मध्यस्थता गर्न सहज हुनेछ ।”
यसैबीच, चिनियाँ विदेश मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “संयुक्त राज्य अमेरिकाले रचनात्मक र जिम्मेवार भूमिका खेल्नुपर्छ र जतिसक्दो चाँडो राजनीतिक समाधानका लागि मुद्दालाई सही दिशामा लैजानुपर्छ ।”
“अन्तर्राष्ट्रिय विवादसम्बन्धी मुद्दाहरूको सामना गर्दा, प्रमुख देशहरूले तटस्थता र निष्पक्षताको पालना गर्नुपर्दछ, शान्ति र संयम कायम राख्नुपर्छ, र अन्तर्राष्ट्रिय कानूनको पालनाका आधारमा नेतृत्व लिनुपर्छ,” वाङले भने ।
उक्त अवसरमा चिनियाँ विदेशमन्त्री वाङले बेइजिङले ‘व्यापक सहमतिको पहुँचलाई बढावा दिन जतिसक्दो चाँडो अन्तर्राष्ट्रिय शान्ति बैठक आयोजना गर्न’ आह्वान गरेको बताए ।
“प्यालेस्टिनी समस्याको आधारभूत निकास ‘दुई राज्य समाधान’ लागू गर्नु हो,” वाङले भने ।
संयुक्त राज्य अमेरिकाले चीनलाई आफ्नो मुख्य वैश्विक चुनौतीको रूपमा हेर्छ तर दुई शक्तिहरूले उनीहरूको सम्बन्धलाई स्थिर बनाउन पहल गरिरहेका छन् ।
यसै शिलशिलामा ब्लिन्केनले जुनमा बेइजिङको दुर्लभ भ्रमण गरेका थिए । मिलरले मध्यपूर्व दुई शक्ति (चीन र अमेरिका) मिलेर काम गर्न सक्ने क्षेत्रको उदाहरण भएको बताए ।