arrow

इजरेल आक्रमण गर्नेमाथि अमेरिकाले लगायो प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
israel-attack-2023-10-08.jpg

काठमाडौं । इजरेलमा हमाससमूहले अचानक गरेको आक्रमणपछि युद्ध चर्किरहेका बेला अमेरिकी अर्थ मन्त्रालयले बुधबार हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

गाजा, सुडान, टर्की, अल्जेरिया र कतारलगायत अन्य मुलुकका नागरिकलाई लक्षित गरी नयाँ प्रतिबन्ध लगाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले जारी गरेको वक्तव्यमा भनिएको छ, “बालबालिकासहित इजरेली नागरिकको निर्मम र अकल्पनीय नरसंहारपछि अमेरिकाले हमासका वित्तदाता र सहजकर्तालाई लक्षित गर्न तीव्र र निर्णायक कदम चालिरहेको छ ।”

हमासले गत अक्टोबर ७ मा इजरेलमा एक्कासी आक्रमण गर्दा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

इजरेलले युद्धको घोषणा गरेपछि र जवाफी हमला सुरु गरेपछि गाजामा करिब तीन हजार मानिसको मृत्यु भएको हमासका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरेलको भ्रमण गर्ने क्रममा उक्त प्रतिबन्ध लगाइएको हो ।

येलेनले भने, “अमेरिकी अर्थमन्त्रालयले आतङ्कवादको वित्तपोषणलाई प्रभावकारी रूपमा अवरोध गरेको लामो इतिहास छ र हामी हमासविरुद्ध हाम्रा उपकरणहरू प्रयोग गर्न हिचकिचाउने छैनौं ।”

उनले हमासले ‘ज्यादती’ गर्नका लागि आर्थिक सहयोग जुटाउने क्षमताबाट बञ्चित गर्न वासिङ्टनले आवश्यक सबै कदम चाल्ने बताउनुभएको छ ।

अमेरिकाले यसअघि पनि हमासलाई आतंकवादी सङ्गठन घोषणा गरिसकेको छ ।

अहिलेसम्म इरानी शासन र हमास र हिजबुल्लाहलगायतका समूहद्वारा आतङ्कवाद र आतङ्कवादी वित्तपोषणसँग सम्बन्धित करिब एक हजार व्यक्ति र संस्थाहरूलाई निशाना बनाइएको ट्रेजरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ