काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इङलिश क्लवहरु एकाएक सुस्ताएका छन् । बुधबार राति भएको खेलमा टोटनह्याम हट्सपर घरेलु मैदानमै पराजित भएको छ । होटनह्यामलाई जर्मनीको बायर लिभरकुजेनले १–० ले पराजित गरेको हो ।
त्यस्तै प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी पनि सुस्ताएको छ । लेस्टरले डेनमार्कको एफसी कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो ।
स्पेनको रियल मड्रिड पनि केही हदसम्म सुस्ताएको छ । रियलले पोल्याण्डको लेजिया वार्ससँग ३–३ गोलको बराबरी खेलेको छ ।
२–० ले अग्रता लिएर पनि रियल ३–२ ले पछि परेको थियो । रियललाई ग्यारेथ बेल र करिम बेन्जेमाले प्रारम्भिक अग्रता दिलाए ।
बेलले खेलको ५८ सेकेन्डमै गोल गरेका थिए ।
त्यसपछि ओफे, राडोभिक र मौलिनले गोल गर्दै वार्सलाई अगाडि बढाए ।
८५ औं मिनेटमा कोभासिकले गोल गर्दै रियल मड्रिडलाई बराबरीमा ल्याए ।
यता, बुधबार राति भएको खेलमा विजयी हुँदै जर्मनीको क्लव बोरुसिया डर्टमण्ड नकआउट चरणमा प्रवेश गरेको छ ।
खेलमा डर्टमण्डले पोर्चुगलको स्पोर्टिङलाई १–० ले हरायो ।
त्यसैगरी फ्रान्सको मोनाकोले रुसको सिएसकेए मस्कोलाई ३–० ले तथा पोर्चुगलको एफसी पोर्टोले बेल्जियमको क्लब ब्रुजलाई १–० ले पराजित गरेको छ ।
त्यस्तै स्पेनको सेभिल्लाले क्रोएसियाको डाइनामो जाग्रेबलाई ४–० ले हराउँदा ईटालीको युभेन्टसले फ्रान्सको लियोसँग १–१ गोलको बराबरी खेल्यो ।