- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । टर्किएले गाजामा भएको रक्तपातको विरोधमा इजरेलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । साथै उसले इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग सम्पर्कसमेत तोडेको छ ।
अङ्काराले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको टर्किए भ्रमण कठिन हुने वाचाको पूर्वसन्ध्यामा त्यस्तो निर्णय गरेको हो ।
प्यालेस्टिनी सहयोगी टर्किएले गत महिना इजरेल–हमास युद्ध सुरु हुँदासम्म इजरेलसँगको बिग्रिएको सम्बन्धलाई सुधार गर्दै आएको थियो । तर लडाइँ बढ्दै गएपछि प्यालेस्टिनी सर्वसाधारणको मृत्युको सङ्ख्या बढ्दै गएसँगै इजरेल र उसका पश्चिमी समर्थकहरू विशेषगरी अमेरिका दुवै विरुद्ध टर्किएको स्वर कडा भएको छ ।
“गाजामा सर्वसाधारणविरुद्ध इजरेलले गरेको लगातारको हमला र उसले युद्धविराम गर्न अस्वीकार गरेका कारण भएको मानवीय त्रासदीलाई ध्यानमा राख्दै राजदूत साकिर ओजकान टोरुलनरलाई परामर्शका लागि फिर्ता बोलाइएको छ”, टर्किएको विदेश मन्त्रालयले भनेको छ ।
टर्किएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले पत्रकारहरूसँगको छुट्टै कुराकानीमा आफूले गाजापट्टीमा सर्वसाधारणको मृत्युका लागि नेतान्याहुलाई व्यक्तिगतरूपमा जिम्मेबार ठहर गरेको बताए । “नेतान्याहु अब हामीसँग कुरा गर्न सक्ने व्यक्ति रहनुभएन, हामीले उहाँलाई खारेज गरेका छौँ”, उनले भने ।
इजरेलले सुरक्षा सतर्कताका रूपमा यसअघि नै टर्किए र अन्य क्षेत्रीय मुलुकहरूबाट सबै राजदूतहरूलाई फिर्ता बोलाएको थियो । इजरेली विदेश मन्त्रालयले गत साताको अन्त्यमा इजरेल–हमास युद्धका बारेमा टर्किएको बढ्दो तिखो वक्तव्यका कारण अङ्कारासँगको सम्बन्धलाई ‘पुनरमूल्याङ्कन’ गरिरहेको बताएको थियो ।
एर्दोगानले शनिबार दुवै पक्षबीच कूटनीतिक सम्पर्कलाई सम्पूर्णरूपमा तोड्ने जोखिम टर्किएले उठाउन नसक्ने बताए । “कूटनीतिक सम्बन्धलाई सम्पूर्णरूपमा तोड्न सम्भव छैन, विशेषगरेर अन्तर्राष्ट्रिय कूटनीतिमा”, उनले भने ।