arrow

मन्डनदेउपुरमा १५ शैयाको नगर अस्पताल शिलान्यास 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० कार्तिक २६ आइतबार
health-mandandeupur-2080.jpg

काभ्रेपलान्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकामा निर्माण हुने १५ शैयाको नगर अस्पतालको आइतबार एक समारोहबीच शिलान्यास गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मण्डनदेउपुर नगरपालिकाको लागत साझेदारीमा रु २२ करोड ८६ लाखको लागतमा वडा नम्बर ७ मा निर्माण हुन लागेको उक्त नगर अस्पताल पुसभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । 

शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल भवन निर्माण गरेर मात्र नपुग्ने बताउदै त्यसका लागि आवश्यक जनशक्ति र उपकरणको आवश्यकता पर्ने बताए । 

सरकारले २०५४ सालदेखि स्वास्थ्यमा दरबन्दी थप नगरेकोले अहिले निर्माण भइरहेका अस्पतालहरुमा जनशक्तिको अभाव देखिएको बताउँदै बस्नेतले स्वास्थ्यमा थप दरबन्दी थप्न आफूले पहल गरिरहेको र त्यसको परिणाम चाँडै देखिने दाबी गरे । 

उनले भने, ‘विगतका स्वास्थ्य मन्त्रीहरुले जनशक्ति बढाउनेतिर ध्यान दिएनन् । जसको फलस्वरुप अस्पताल भवनहरु मात्र बने तर जनशक्ति बढेन । अब म जनशक्ति बढाउने काममा लागेको छु ।'

६ महिनाभित्र नेपालका सरकारी अस्पतालहरुमा अत्यावश्यक जनशक्तिको दरबन्दी सिर्जना हुन्छ । देश भरिका अधिकांश अस्पतालहरुमा ठूला उपकरणको अभाव देखिएको बताउँदै मन्त्री बस्नेतले विश्व बैंकको सहयोगमा स्वास्थ्य मन्त्रालयले साना खालका उपकरण किनेर असपतालहरुलाई उपलब्ध गराउन लागेको जानकारी दिए । 

अधिकांश ठेकेदारहरुले निर्माणको काम समयमा नसक्ने र कम गुणस्तरको भवन बनाउने गरेका गुनासो आइरहेको बताउदै मन्त्री बस्नेतले समयमै भवन निर्माण सम्पन्न गराउन पालिकाका अधिकारीले खवरदारी जारी राख्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व गृह सचिव जनार्दन नेपालले गुणस्तरीय उपचार सेवा प्रदान गर्न अस्पताल भवनसँगै उपकरण र जनशक्ति हुनै पर्ने बताउँदै पछिल्ला वर्षमा मेकिडल कलेज, नर्सिङ कलेज खोल्ने क्रम बन्द भएपछि स्वास्थ्यको प्राविधिक जनशक्तिको अभाव देखिन लागेको बताए । 

मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले १० शैयाको नगर अस्पताल बनाउने कुरा अगाडि बढ्न लागेको बेला स्वास्थ्य मन्त्री बस्नेतको पहलमा ५ शैया थप भएर १५ शैयाको अस्पताल निर्माण हुन लागेको बताउँदै अस्पतालमा जनशक्तिको अभाव भएकाले स्वास्थ्यकर्मीको व्यवस्था गरिदिन आग्रह गरे । 

मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले अहिले संञ्चालनमा रहेको ५ शैयाको अस्पतालमा निजी क्षेत्रमा एक जना चिकित्सक करारमा नियुक्त गरिएको जानकारी गराउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक चिकित्सकको व्यवस्था गरिदिन आग्रह गरे ।

त्यस्तै मण्डनदेउपुर वडा नम्बर १० मा निर्माण सम्पन्न भएको चण्डेनी स्वास्थ्य चौकी भवनको आइतबार एक समारोहबीच मन्त्री बस्नेतले उद्घाटन गरे । 

उद्घाटन कार्यक्रममा चण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा र उपमेयर विष्णुमणि नेपाल पनि सहभागी थिए । स्वास्थ्य चौकी भवन प्रांगणमा आयोजना गरिएको समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य चौकी सञ्चालनका लागि आवश्यक पर्ने उपकरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने आश्वासन दिए । 

कार्यक्रममा चौकी निर्माणका लागि जग्गा दान गर्ने उपमेयर विष्णुमणी नेपाल, पिताम्बर नेपाल लगायतका दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा देउसी भैलीसमेत खेलिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ