नसर्ने रोगको उच्च जोखिममा इलाम

प्रकाशित मिति : २०७२ मङ्सिर २७ आइतबार
इलाम । इलाम नसर्ने रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिल्लाका १२ गाविसमा गरेको अध्ययनको हालै तथ्याङ्क सार्वजनिक गर्दै मधुमेह, उच्च रक्तचाप, मोटोपन र कोलस्ट्रोल (रगतमा हुने चिल्लो पदार्थ) भएकाको सङ्ख्या उच्च रहेको पाइएको हो । 

दानाबारी, चुलाचुली, महमाई, लक्ष्मीपुर, सोयाङ, नामसालिङ, नयाँबजार, जोगमाई, जमुना, मावु, माइपोखरी र माइमझुवा गाविसका एक हजार ४०४ जनामा गरिएको अध्ययनअनुसार सुर्तीसेवन, अत्यधिक मादकपदार्थ सेवन, शारीरिक व्यायामको कमी, सागसब्जी र फलफूल सेवनको कमीका कारण मोटोपन, रगतमा हुने चिल्लो पदार्थ, मधुमेह र उच्च रक्तचापजस्ता नसर्ने रोगको अवस्था भयानक बन्दै गएको निष्कर्ष निकालिएको हो । 

अध्ययनकर्ताका अनुसार यहाँ १३ प्रतिशत मधुमेहका रोगी छन् । यो समग्र देशको तुलनामा नौ प्रतिशतले बढी हो, परिषद्का सदस्य सचिव डा खेम कार्कीले भने – “समयमै यसप्रति ध्यान दिइएन भने समस्या थप विकराल बन्दै जान्छ ।”  अध्ययनअनुसार २२ प्रतिशतमा मोटोपनको समस्या छ । मधुमेह, उच्च रक्तचाप, मुटुरोग तथा हाडजोर्नी समस्याको कारक मानिने मोटोपन स्वास्थ्य समस्याका रूपमा देखापरेको छ । 

यहाँका २७ प्रतिशत मानिस उच्च रक्तचापका बिरामी छन् । महिलाको तुलनामा धेरै पुरुष यस रोगबाट ग्रस्त छन् । २५ प्रतिशत महिला र ३१ प्रतिशत पुरुष उच्च रक्तचापबाट पीडित छन् । “उच्च रक्तचाप भएका अधिकांशले औषधि नै प्रयोग नगरेको पाइयो” – अध्ययनमा संलग्न डा कृष्ण अर्यालले भने ।उनले नियमित औषधि सेवन गरेमात्रै यो रोग नियन्त्रण हुने भएकाले निरन्तर औषधि सेवन गर्न आग्रह गरे । 

यहाँका १२ प्रतिशतमा कोलस्ट्रोलको समस्या देखिएको छ । नेपालको औषत तथ्याङ्कभन्दा इलाममा कमलाई कोलस्ट्रोलको समस्या भए पनि ग्रामीण क्षेत्रमा यो समस्याकै रूपमा रहेको छ । रगतमा चिल्लो पदार्थ धेरै हुँदा हृदयघात, मस्तिष्कघात र पक्षघातको समस्या हुने गरेको चिकित्सकहरू बताउँछन् । 
नयाँ