arrow

राजसंस्था व्युँताउन सामूहिक मोर्चा निर्माण गर्न राप्रपा नेपालको आह्वान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
rpp-nepal-2080-08-11.jpg

काठमाडौँ । राप्रपा नेपाालले राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गर्न आह्वान गरेको छ ।

सोमबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र स्थापना गर्न चाहने, संघीयता खारेज गर्न चाहने, सुशासन र समृद्धि चाहने सबै एकताबद्ध हुनुपर्ने र यसका लागि सामूहिक नेतृत्व र सबैको ससम्मान सहभागिताको आधारमा मोर्चा निर्माण गरेर जनआन्दोलनको दवावमा परिवर्तन सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तो छ राप्रपा नेपालको विज्ञप्ति–
मिति  – २०८० मंसिर ११ गते

राप्रपा नेपालका अध्यक्ष श्री कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देहाय बमोजिम निणर्यहरु गरेको छ –

१,  संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य चाहने, संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने, संघीयता खारेज गर्न चाहने, सुशासन र समृद्धि चाहने सबै एकतावद्ध हुनुपर्छ भन्ने समयको माग र जनताको चाहनालाई दृष्टि गर्दै वृहत राष्ट्रिय मोर्चा निर्माण गर्न सम्पूणर् राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी दल र समुहलाई राप्रपा नेपाल आह्वान गर्दछ । समान बिचारधारा भएकाहरु छरिएर होईन, जुटेर काम ग¥र्यौ भने देशमा सकारात्मक परिवर्तन संभव छ । अहिले नेतृत्व वा समुहगत स्वार्थका निम्ति झगडा गर्ने बेला होईन । सामुहिक नेतृत्व र सबैको ससम्मान सहभागितको आधारमा मोर्चा निर्माण गरौँ, तथा जनआन्दोलनको दवावमा परिवर्तन सुनिश्चित गरौँ भन्ने राप्रपा नेपाल सबैमा आग्रह गर्दछ ।

२,  बैठकले देहाय बमोजिमको राजनीतिक प्रस्ताव पारित गरेको छः

२.१, २०६३ सालको राजनीतिक परिवर्तनपछि नेपालको निम्ति संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र उपयुक्त हुन्छ भन्ने विचार बोक्ने दल राप्रपा नेपालमात्र थियो ।

संविधानसभाले तयार गरेको संविधानको पहीलो मस्यौदामा “गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता अपरिवर्तनीय हुनेछ” भन्ने लेखिएकोमा राप्रपा नेपाल कै बलमा उक्त प्रावधान हटाई राष्ट्रिय अखण्डता, सार्वभौमिकता र जनतामा निहित सार्वभौमसत्ता वाहेक जनताको अभिमतबाट सबै विषयहरु परिवर्तन हुनेसक्ने व्यवस्था कायम भएको हो । यो प्रावधानको कारण नेपाली जनताले चाहेमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता समेत परिवर्तन गर्न पाउने अधिकार स्थापित भएको छ ।

२.२.विगत केही समय यता राजसंस्था र हिन्दूराष्ट्र स्थापना तथा संघीयताको खारेजीको पक्षमा सशक्त जनप्रदर्शनहरु भएका छन् । यी जनप्रदर्शनहरुमा उर्लेको जनलहरले निम्न बमोजिम स्पष्ट सन्देश दिएको छ –
क,  ‘संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल भएको छ । विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकहरुबाट जनता मुक्ति चाहन्छन् । जनता विकल्पको खोजीमा छन्,
ख,  संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दूराष्ट्र, सुदृढ स्थानीय स्वायत्त शासन तथा भ्रष्टाचारमुक्त सुशासन र समृद्धि जनताले खोजेको विकल्प हो ।

२.३, विगतमा राजसंस्था र हिन्दुराष्ट्र स्थापना तथा संघीयता खारेजीको पक्षमा राप्रपा नेपाल मात्र रहेकोमा हाल विभिन्न दल र समूहहरुसमेत यो विचार र अजेण्डामा खडा हुनु खुशी र उत्साहको विषय हो । वर्तमान अवस्थामा समान विचारधारा र एजेण्डा बोकेका शक्तिहरु विभाजित हुँदा स्वभाविकरुपले लक्ष्य प्राप्ति कठिन हुन्छ । त्यसर्थ, वृहत राष्ट्रिय मोर्चा निर्माण वर्तमान समयको आवश्यकता हो ।

२.४, संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको स्थापनाबाट कुनै पनि राजनीतिक दल, समूह वा नेताहरु चिन्तित र विचलित हुनु पर्दैन । राजसंस्थासहितको प्रजातन्त्रको अवधारणा निरंकुश शासन प्रणाली होइन । यो परिवर्तनकारी विचार र शक्ति तथा परम्परागत विचार र शक्तिबीच सामञ्जस्यताको मान्यता हो । यो राष्ट्र बचाउने र बनाउने राष्ट्रिय मेलमिलापको नीति हो । राजसंस्था स्थापित गरेर दल वा प्रजातन्त्र विस्थापित गर्ने वा कमजोर बनाउने होइन । जनसम्प्रभुताको मान्यता अनुरुप शासन जनताबाट निर्वाचित प्रतिनिधिले गर्ने र राजसंस्था अभिभावकको रुपमा रहने मान्यता नै राजासहितको प्रजातन्त्रको मूल मर्म हो ।

हिन्दूराष्ट्र नेपालको संस्कृति, पहिचान र एकताको आधार हो । हिन्दूराष्ट्र सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता र विभिन्न धर्मबीच सहकार्यको अवधारणा हो । त्यसर्थ, हिन्दूराष्ट्र कायम हुँदा सबै धर्मको अस्तित्व र सहकार्यको वातावरण सुनिश्चित हुन्छ ।

संघीयताको वर्तमान स्वरुप परिवर्तन गरेर केन्द्रमा बलियो सरकार र स्थानीयतहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकार कायम गर्नु उपयुक्त हुन्छ । देशको आर्थिक अवस्थाले धान्न नसक्ने तथा प्रयोजनविहीन प्रदेशतहको संरचना आवश्यक छैन ।

उपरोक्त मान्यता राष्ट्र र जनताको वृहत्तर हितमा हुन्छ । यसले प्रजातन्त्र बलियो बनाउँछ, शान्ति र स्थिरता कायम हुन्छ तथा आर्थिक समृद्धिको निम्ति अनुकूल वातावरण तयार गर्छ ।

२.५,   वर्तमान व्यवस्था असफल भएको तीतो यथार्थ, देशको धरातलीय अवस्था र जनताको परिवर्तित चाहानाको सम्मान गर्दै सबै नेपाली अटाउने र सबैको पहिचान सुनिश्चित हुने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापना गर्ने कार्यमा सकारात्मक सहयोग गर्न तथा यथास्थितिबाट मुक्तिको जनचाहनालाई अवरोध र दमन नगर्न राप्रपा नेपाल सरकार र प्रमुख राजनीतिक दलहरुसँग आग्रह गर्दछ ।

२.६, साथै, यो अभियानमा साथ, सहयोग र एक्यवद्धताको निम्ति राप्रपा नेपाल आम नेपाली जनतामा अपील गर्दछ ।

३, पार्टीको केन्द्रीय कार्य समितिको बैठक यही मंसीर २४ र २५ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा बृहत् राष्ट्रिय मोर्चा निर्माण र भावी आन्दोलनको कार्ययोजना पेश गर्ने निर्णय गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ