लण्डन । लिभरपुल इङलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । आइतबार राति भएको खेलमा वाटफोर्डलाई घरेलु मैदानमा ६–१ ले हराउँदै लिभरपुल शीर्ष स्थानमा पुगेको हो ।
लिभरपुललाई आधा दर्जन गोल दिलाउने क्रममा सदिओ मानेले दुई तथा फिलिप्पे कौटिन्हो, इम्रे कान, रोबर्टो फिर्मिनो र जर्गिनिओ विज्नाल्डमले एक एक गोल गरे ।
यो जितसंगै लिभरपुलले ११ खेलको समाप्तिसम्म २६ अंकका साथ आफूलाई शीर्ष स्थानमा राखेको हो ।
चेल्सी २५ अंकसहित दोस्रो तथा म्यानचेष्टर सिटी २४ अंकसहित तेस्रो स्थानमा छ ।
आइतबार बेलुकीको खेलमा टोटनह्याम हटसपरसंग १–१ गोलको बराबरी खेलेको आर्सनल २४ अंकसहित चौथो स्थानमै थन्किएको छ ।
यता तनावबाट गुज्रिएको म्यानचेष्टर युनाइटेडलले स्वान्सी सिटीलाई उसकै मैदानमा ३–१ ले हराएको छ ।
म्यानचेष्टरलाई जिताउन ज्लाटान इब्राहिमोचिभले २ तथा पल पोग्बाले १ गोल गरे । यो जितले म्यानेजर जोजे मौरिन्होलाई निकै राहत मिलेको छ ।
अन्य खेलमा हल सिटीले साउथह्याम्पटनलाई २–१ ले हराउँदा साविक विजेता लेस्टर सिटी भने घरेलु मैदानमै पराजित भएको छ ।
लेस्टर वेष्टब्रोमविचसंग २–१ ले पराजित भएको हो ।