arrow

आईडेमियालाई पोस्दै सरकार

राष्ट्रिय परिचयपत्र बनाउँदा ढुकुटी रित्तिदै, प्रणाली मर्मतका नाममा करोडौँ स्वाहा

भार राज्यले थेग्न नसकी राष्ट्रिय परिचयपत्र प्रयोजनहीन हुुने खतरा बढ्दै जाने गृहमन्त्रालयका अधिकारीहरुको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
National-Identity-Card-of-Nepal_.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना व्यवस्थापन प्रणाली मर्मतका लागि भन्दै करोडौँ रुपैया भुक्तानी गर्नुपरेपछि राज्यलाई आम्दानीभन्दा बढी घाटा बेहोर्नुपर्ने भएको छ । 

सरकारले फ्रान्सेली कम्पनी आईडेमियालाई वार्षिक १५ करोड रूपैयाँ दिने निर्णय गरी दुुई किस्ता भुक्तानी गरिसकेकाले यस्तो अवस्था आएको हो । 

विभागले आईडेमियालाई दुई वर्षसम्म राष्ट्रिय परिचयपत्र सूचना व्यवस्थापन प्रणाली मर्मत गर्न ३० करोड रूपैयाँ दिइसकेको छ । 

यसका लागि विभागले आईडेमियासँग पुनः एएमसी गरिसकेको छ । राष्ट्रिय परिचय पत्रको विवरण अन्य कार्यालयमा जडान गरे वापत एक रुपैयाँ पनि आम्दानी नहुुने तर विवरण र प्रणाली मर्मतका नाममा मात्रै खर्च गर्नुपर्ने भएपछि राज्यलाई करोडौँ घाटा लाग्ने भएको हो । 

गत भदौ ६ गते मन्त्रिपरिषद्ले निर्णय गरेपछि विभागले आईडेमियालाई गत वर्षको बाँकी र चालू आर्थिक वर्षको गरी झन्डै ३० करोड रुपैयाँ गत कात्तिकमा भुुक्तानी गरिसकेको स्रोतले जनाएको छ । 

आईडेमिया राष्ट्रिय परिचयपत्र जडान गर्न यसअघि पटक–पटक गरी अर्बौँ रूपैयाँको ठेक्का पाएको कम्पनी हो । झण्डै एक अर्बको प्रोजेक्ट मर्मतमा १५ प्रतिशत खर्च हुने सम्झौता भएकाले २ वर्षको लागि ३० करोड रुपैयाँ दिएको स्रोतको दाबी छ । 

‘कूल लागतको १५ प्रतिशत वार्षिक मर्मत खर्च दिने भनेर फ्रान्सेली कम्पनीसँग प्रणाली खरिद गर्ने बेलामै सम्झौता गरिएको रहेछ । सोही अनुरुप भुक्तानी गरिएको हो’, स्रोतले भन्यो । 

सफ्टवेयर जडान गर्न झन्डै १ अर्ब रूपैयाँको ठेक्का पाएको आईडेमियाले त्यसअघि पनि ४.९ मिलियन अमेरिकी डलरको ठेक्का पाएको थियो । 

२ लाख ५० हजार व्यक्तिको बायोमेट्रिक गर्ने तथा १ लाख १७ हजार कार्ड छाप्न फ्रान्सेली कम्पनी मोर्फासँग सम्झौता गरिएको थियो । 

विभागका एक कर्मचारीका अनुसार शुरूमा ग्लोबल टेन्डरमार्फत मोर्फा छनोट भएको थियो । त्यसरी छनोट भएका दुवै एउटै कम्पनी एकै भएको ती कर्मचारीको दाबी छ । 

उनका अनुसार मोर्फा नै पछि आईडेमिया भएको हो । सरकारले पाइलटिङ परियोजनाका लागि शुरूमा पाँचथरमा १ लाख १० हजार र सिंहदरबारका कर्मचारीहरू समेतलाई बायोमेट्रिक गरी कार्ड वितरण गरिएको थियो । 

अहिले देशभर यो परियोजना जारी छ । निरन्तर काम हुनेछ । 

सरकारले परिचय पत्र प्रयोगका लागि ४.९ मिलियन अमेरिकी डलरमा कम क्षमताको प्रणाली ल्याएर परीक्षण गरिएको भन्दै दोस्रो पटक सोही कम्पनीलाई बिना प्रतिस्पर्धा छनोट गरिएको थियो । 

दोस्रो पटक ८.१ मिलियन अमेरिकन डलरको ठेक्का दिइएको थियो । दोस्रो पटक पनि ग्लोबल टेन्डर नै गरिएको भए पनि मन्त्रिपरिषदले ‘सिंगल सोर्स’ विधिबाट आईडेमियालाई सोझै छनोट गरेको थियो । 

पहिलेको प्रणाली कम क्षमतामा भएकाले पूर्ण क्षमतामा सञ्चालन गर्न दोस्रो पटक ठेक्का दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दाबी गरेको छ । यद्यपि यसमा कुुनै सत्यता नभएको गृहमन्त्रालयका अधिकारीहरु बताउछन् । 

२ करोड मानिसको बायोमेट्रिक र ३ करोड जनाको वैयक्तिक विवरण ‘डेटाबेस’ सञ्चालन गर्न कम्पनीलाई ठेक्का दिइएको थियो । पहिले ५ सय कार्ड प्रतिघण्टा छापिने क्षमता थियो । त्यसलाई बढाएर १ हजार कार्ड वितरण गर्ने क्षमता बनाइएको हो । 

सोही ठेक्कामा सर्भिस, विद्युतीय सेवा पनि समावेश थियो । तर सर्भिस सेवा हटाएर पैसा दिनुपर्ने बनाइएको हो । यसरी पटक–पटक गरी ठेक्का पाएको कम्पनीले मर्मत गर्न वार्षिक १५ करोड थप रकम लिन लागेको हो । 

ठेक्का पनि लिने र मर्मत वापतको रकम पनि दिने गरी सम्झौता गरिएको छ ।  स्रोतका अनुसार यसरी हरेक वर्ष मर्मत वापतको रकम भुक्तानी गर्दै जाने हो भने राज्यलाई अर्बौँ रुपैया घाटा लाग्ने भएको छ । 

यसको भार राज्यले थेग्न नसकी राष्ट्रिय परिचयपत्र प्रयोजनहीन हुने खतरा बढ्दै जाने गृहमन्त्रालयका अधिकारीहरुको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ