arrow

मुगु एमाले अधिवेशन : 

अध्यक्ष मण्डलले घोषणा गरे जिल्ला कमिटी, टिके प्रथा चलाएको रावल पक्षको आरोप

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
mugu-uml-canided.jpg

मुगु । नेकपा एमाले मुगु जिल्ला कमिटीमा रहेकाहरूको नामावली अध्यक्ष मण्डलले मध्यरातमा घोषणा गरेको छ ।

गत ९ गतेबाट शुरु भएको एमाले मुगुको नवौँ जिल्ला अधिवेशनले १४ गते साँझसम्म जिल्ला कमिटी सहमतिमा टुङ्ग्याउन नसकेपछि अध्यक्ष मण्डलले हस्तक्षेप गर्दै बिहीबार साँझ पदाधिकारी सहित सदस्यहरूको नामावली घोषणा गरेको हो ।

घोषित मुगु जिल्ला कमिटीमा पूर्ण बहादुर रोकाया अध्यक्ष,रत्नसिङ्ग विष्ट उपाध्यक्ष,सुरेन्द्र बहादुर मल्ल सचिव,मदन बानिया उपसचिव,होइजाली विक उपसचिव,सहित ७१ सदस्यीयहरू रहेको र बाकी १९ सदस्य पछि मनोनीत गरिने सचिव सुरेन्द्र बहादुर मल्लले जानकारी गराए । एमाले मुगु जिल्ला कमिटी ९० सदस्यीय रहने व्यवस्था छ ।

निर्वाचित मण्डलले निर्वाचनका सबै प्रक्रिया अघि बढाएपनी सहमतिका लागि शीर्ष नेताहरूले समय मागेकाले निर्वाचन कमिटीले समय दिएको थियो । निर्वाचन कमिटीका संयोजक जगत बहादुर रोकायाले बताए ।

निर्वाचन सम्बन्धी सार्वजनिक गरेको निर्वाचन तालिका पनि घर्केको र दुबै पक्षबीच सहमति पनि हुन नसकेपछि कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजङ्ग शाहको अध्यक्षयतामा रहेको अध्यक्ष मण्डलले हस्तक्षेप गर्दै सबै पदाधिकारी र सदस्यहरू घोषणा गरेको अध्यक्ष मण्डलले बताएको छ ।

यता असन्तुष्ट पक्षले जसरी पनि आफुले भनेको मान्ने मान्छे पदाधिकारी र सदस्य ल्याउन लोकतान्त्रिक विधि,प्रक्रियालाई कुल्चँदै नियोजित रूपमा बहुमत जिल्ला अधिवेशन प्रतिनिधिको समर्थन रहेको पक्षलाई लत्त्याउँदै मध्य रातमा टिके प्रथाबाट जिल्ला कमिटी घोषणा गरिएको अध्यक्षका आकाङ्क्षी डम्बर बहादुर रावलले आरोप लगाए ।

उनले भने एउटा बन्द कोठामा बसेर खल्तीबाट लिस्ट निकालेर घोषणा गर्ने भए गाउँ गाउँबाट प्रतिनिधि छान्ने,तामझामले अधिवेशन गर्ने र एमाले लोकतान्त्रिक पाटी हो भनी भाषण ठोक्नुको औचित्य नेताहरूले पुष्टि गर्नुपर्छ ।

अधिवेशनका लागि ३७५ जना जिल्ला प्रतिनिधि रहेकोमा २५० जना आफ्नो पक्षमा थिए । २५० जना कै हस्ताक्षर सहित निर्वाचन कमिटी र अध्यक्ष मण्डललाई बुझाउन खोज्दा नबुझेको पनि रावलले आरोप लगाए ।

निर्वाचन भए भोट हालौला र सहमति गर्नु पर्ने भए छलफल गरौला सोचेर बसेका प्रतिनिधिहरू अध्यक्ष मण्डलबाट सिधै जिल्ला कमिटी घोषणा भएपछि निराश भएर घर फर्केका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ